
जेनेभा । अभिभावकसँग छुट्टीएरै समुद्रमा असुरक्षित डुङ्गा चढी युरोप पुग्ने बालबालिकाको सङ्ख्या यस वर्षको पाँच महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा दोब्बर पुगेको संयुक्त राष्ट्रसङ्घको बालबालिका मामिला हेर्ने संस्था ९युनिसेफ० ले मङ्गलबार जारी गरेको नयाँ अध्ययन प्रतिवेदनमा जनाइएको छ ।
हरेक किसिमका खतरा मोल्दै सामुद्रिक बाटो हुँदै इटाली पुग्ने प्रत्येक १० बालबालिकामध्ये नौ जना अभिभावकविना नै त्यहाँ पुग्ने गरेको बताइएको छ । यसवर्षको पहिलो पाँच महिनामा यसरी इटाली आइपुग्ने बालकालिका करिब सात हजार रहेको युनिसेफले बताएको छ ।
यो अवस्थामा अभिभावकविना नै युरोप आइपुग्ने बालबालिकाको सङ्ख्यामा एकाएक वृद्धि हुनुको कारण प्रष्ट हुन नसकेको युनिसेफका सारा क्रोवेले जेनेभामा एक पत्रकार सम्मेलनबीच बताए ।
सन् २०१६ मा अहिलेसम्म एक लाख दुई हजार ८५९ मानिस भूमध्यसागरिय इलाका पार गर्ने असुरक्षित यात्राका क्रममा मृत्यु भएको र यसमा उल्लेख्य सङ्ख्या बालबालिकाको रहेको आप्रवासी शरणार्थीको अन्तर्राष्ट्रिय सङ्गठन ९आईओएम० ले जनाएको छ ।
सन् २०१५ को सोही अवधिमा असुरक्षित रुपमा युरोप पुग्ने सिलसिलामा सामुद्रिक यात्रामा मर्ने आप्रवासीको सङ्ख्या तीन हजार ७७० रहेको थियो । इटालीका टापुहरु लाम्पेडुसा र सिसिली पुग्नै केटा तथा केटीले आफ्ना यात्राका भयङ्कर डरलाग्दा अनुभव सुनाउने गरेको प्रतिवेदनमा उल्लेख छ । यसरी इटाली पुग्ने केही नाबालिकासमेत गर्भवती अवस्थामा त्यहाँ पुगेको बताइएको छ ।
हजारौँ बालबालिका र लाखौँ मानिसहरुले हरेक दिन गरिबी र द्वन्द्वबाट जोगिन आफ्ना अन्य सम्पूर्ण कुरालाई छोडी यस्ता असुरक्षित यात्रा गर्ने गरेको युनिसेफको तथ्याङ्क छ । अभिभावकविहीन भेटिने गरेका यसता बालबालिकालाई संरक्षण, शिक्षा, स्वास्थ्य सेवा र सल्लाहको खाँचो रहेको र युनिसेफले यसमा सक्दो प्रयास गर्ने बताएको छ ।
१ असार २०७३, १।००
वि.सं.२०७३ असार १ बुधवार १३:५० मा प्रकाशित