
काठमाडौ ।ʽशुद्ध प्राङ्गारिक परिकारको साथमा यहाँहरुलाई स्वागत छ ।ʼ अर्गानिक फार्म हाउस रिसोर्ट–कपनले स्वदेशी र विदेशी पाहुनाहरुलाई यसैगरि स्वागत गरिरहेको छ ।
काठमाडौको कोलाहालपूर्ण जिन्दगी र यहाँको प्रदुषणबाट केहि क्षण भएपनि मुक्ति पाउन अर्गानिक फार्म हाउस रिसोर्ट–कपन एक उपयुक्त स्थान हो । होमस्टेको वातावरणमा शुद्ध अर्गानिक परिकारको स्वाद र २५ रोपनी क्षेत्रफलमा फैलिएको अर्गानिक फार्म हाउसको भ्रमणले त्यहाँ पुग्ने जो कोहिलाई मोहित पार्दछ । मानौं त्यो हरियाली वातावरणको अवलोकन गर्दै केहि बढि समय अझै त्यहि बसेर अर्गानिक परिकारमा रमाउँ भन्नेको कमी छैन त्यहाँ । काठमाडौको चाबाहिल गोपीकृष्ण (रिङरोड) बाट जम्मा डेढ किलोमिटर दूरी पार गर्दै अर्गानिक फार्म हाउस रिसोर्टमा पुग्न सकिन्छ ।
रिसोर्टमा पुगेपछि सोल्टीनीको घर, ठूल्दाईको घर, दौतरी घर, याक्सा घर, अर्थक्वेक घर लगायत घरहरुमा कहाँ बस्न मन लाग्छ त्यहि बसेर शुद्ध प्राङ्गारिक परिकारको आनन्द लिन सकिन्छ ।
यो एक नमुना फार्म हाउसले कृषि र पर्यटन अन्तर्गत २ प्याकेजहरु संचालनमा ल्याएको छ । पहिलो होस्मटे प्याकेज अन्तर्गत अर्गानिक फार्म हाउस रिसोर्टमा बस्न पुग्ने जो कोहिले १ हजार ५ सय रुपैंयामा अर्गानिक फार्म हाउसको अवलोकन सहित बेलुकीको स्वागत (वेलकम ड्रिङ्क्स), बेलुकीको अर्गानिक खानाको परिकार(डिनर), एक रातको बसाई र भोलिपल्ट बिहानको खाजा(ब्रेकफाष्ट) लिएर फर्कन सक्नेछन् ।
दोस्रोमा फार्मले अर्गानिक डे ट्रिप प्याकेज पनि संचालनमा ल्याएको छ । यसमा नारानस्थान देखि हिडेर माथि नागीगुम्बा हुँदै जंगलै–जंगलको रमणीय बाटो भएर कपन गुम्बा हुँदै अगांनिक फार्म हाउसमा आएर अर्गानिक खाना(लञ्च) लिएर छुट्ने प्याकेज पनि संचालनमा ल्याएको छ । तीन घण्टाको हिंडाईमा सम्पन्न हुने यो प्याकेज पनि १ हजार ५ सय रुपैंयामा सम्पन्न हुनेछ ।
ट्रेकिङ एजेन्सिज् एसोसियसन आफ नेपाल (टान) का केन्द्रिय सदस्य समेत रहेका पेम्बा शेर्पा (संगम)ले पाँच वर्ष अगाडिदेखि अरुको जग्गा भाडामा लिएर उक्त अर्गानिक फार्म संचालनमा ल्याएका हुन् । उनले फार्म हाउस संचालनमा ल्याएर ११ जनालाई प्रत्यक्षरुपमा रोजगारी दिईरहेका छन् ।
शेर्पा भन्छन्, ʽपर्यटन र कृषिलाई सँगसँगै अगाडि बढाउनुपर्छ र अर्गानिक परिकारमा सबैले जोड दिनुपर्छ । ʼ यस किसिमको मूलमर्मलाई आत्मसाथ गर्दै फार्म संचालनमा ल्याईएको उनी बताउँछन् ।
सरकारले अर्थतन्त्रको मेरुदण्डको रुपमा कृषि, पर्यटन लिएपनि सोहिअनुरुप महत्व नदिएकोमा शेर्पा दुःखित छन् । उनी भन्छन्, ʽकुल गार्हस्थ उत्पादनमा एक तिहाई भन्दा बढि स्थान ओगट्ने कृषि क्षेत्रमा सरकारले बजेटको पनि एक तिहाई हिस्सा लगानी गर्नुपर्यो ।ʼ
कृषि उत्पादनमा अनुदान, बजारको व्यवस्था, भण्डारको उचित व्यवस्था भएमा नेपाली कृषिले ठूलो फड्को मार्ने उनको दाबी छ । उनी भन्छन्, ʽकिसानले मरीमरी उत्पादन गर्छ, अनि उत्पादित सामानै बिक्दैन अनि कहाँ हुन्छ कृषिक्रान्ति, अनि कहाँ कृषिमा आकर्षित हुन्छन् त मानिसहरु ? खोई सरकारको नीति ?ʼ उनी उल्टै प्रतिप्रश्न गर्छन् ।
तापनि आफुले भाटभटेनी सुपरमार्केटसँग सम्झौता गरेकाले दैनिकरुपमा सुपरमार्केटमा अर्गानिक उत्पादन पठाउने हुनाले समस्या नभएको उनी बताउँछन् ।
त्यस्तै आफ्नो रिसोर्टमा आउने पाहुनाहरुलाई अर्गानिक परिकारमा सन्तुष्ट बनाएर पाउने गरेको उनको भनाई छ ।
ʽरिसोर्टमा विदेशीहरुको चाप पनि उतिकै छ तापनि नेपालीहरु पनि आन्तरिक पर्यटक बनेर आउन÷जान सक्छन् भनेर नै कृषि र पर्यटन जहिलेपनि संगसँगै भनेर यो प्याकेज संचालनमा ल्याएका हौं ।ʼ शेर्पा बताउँछन् ।
रामेश्वर कार्की/हरिशरण न्यौपाने
११ असर २०७३
वि.सं.२०७३ असार ११ शनिवार १७:४८ मा प्रकाशित