back
mega bank Ad
Hero Ad

एक कुल्लीका छोरा कसरी बने सय करोडको मालिक !

यो एक ४२ वर्षे व्यक्तिको कथा हो जो भारतको केरला राज्यको गाउँबाट आए । जसको पिता एक कुल्ली अर्थात् सामान बोक्ने भरिया थिए । जसको आमाले कहिल्यै स्कुल के हो भन्ने देख्न पाइनन् । यो त्यो व्यक्तिको कथा हो जो कक्षा ६ मा अनुत्तीर्ण भए, तर क्षेत्रीय इन्जिनियरिङ्ग कलेजमा अध्ययन गर्न पुगे । यो त्यो व्यक्तिको कथा हो जसले लाख रुपैयाँभन्दा बढी तलब भएको आफ्नो जागिर छाडे र व्यवसायी बन्ने सोच बनाउनुका साथै भारतका ग्रामिण भेगका मानिसहरुलाई मात्र रोजगारी दिने सोच राखे । आज, पीसी मुस्तफाको कम्पनी आईडी फ्रेसले बनाएको ताजा दक्षिण भारतीय खाना इड्ली र डोसाको तयारी पीठो बैंगलुरु, चेन्नई, मुम्बई, पुणे, दिल्ली, हैदरावाद, म्याङलुरु र दुबईसम्म पुग्ने गरेकोछ ।

केरला राज्यको वेन्नडको वेनालोडे नामक गाउँमा जन्मिएका पीसी मुस्तफाको गाउँ अति दुर्गम थियो । त्यहाँ बाटो पुगेको थिएन भने बिजुली पनि पुगेको थिएन । विद्यालय पनि प्राथमिक विद्यालय मात्र थियो । माध्यम तहको विद्यालयमा अध्ययन गर्नका लागि उनीहरुले ४ घण्टाको पैदल यात्रा गर्नु पथ्र्यो, जसले गर्दा त्यो भेगका अधिकांश बालबालिकाहरु प्राथमिक शिक्षापछि विद्यालय अध्ययन गर्ने बारेमा सोच्दैनथे । उनका पिता अहमदले ४ कक्षासम्म पढेका थिए, त्यसपछि उनले विद्यालय छाडेर कुल्ली काम गर्न सुरु गरे । मुस्तफा एक मात्र छोरा थिए भने उनका तीन बहिनीहरु थिए ।

उनको कथा उनकै शब्दमा
पढाईमा मेरो रुचि थिएन । स्कुल सकेपछि एवं शनिबार र बिदाका दिनहरुमा म मेरो बुवालाई काममा सघाउँथे, गृहकार्य गर्ने या पढ्नेभन्दा मलाई बुवालाई सघाउन रमाइलो लाग्थ्यो । बेलुकी किताब खोल्ने भन्ने सवाल नै हुँदैनथ्यो किनकी बिजुली बत्ती थिएन, घरमा उज्यालोको लागि टुकी बालिएको हुन्थ्यो । म सबै विषयमा औसतभन्दा पनि तल थिएँ, तर म हिसाबमा राम्रो थिएँ । तर जब म ६ कक्षामा फेल भएँ तब मलाई विद्यालय जान रुचि नै हरायो ।

विद्यालय जान छाडेपछि मेरो बुवाले मलाई दैनिक कामदारका रुपमा उहाँलाई सघाउन भन्नुभयो । त्यो बेलामा मेरो गणित विषयका शिक्षक म्याथ्युले मेरो बुवासँग कुरा गरे, बुवाले मलाई अर्को एउटा चान्स दिने भन्नुभयो । तर मलाई स्कुल जान मन लागेन । त्यतिबेला म्याथ्यु सरले मलाई सोध्नुभयो, तिमी आफ्नो बुवा जस्तो कुल्ली हुन चाहन्छौं कि शिक्षक ? मैले उहाँलाई हेरें र फरक देखें, मैले जवाफ दिएँ, ‘सर, म तपाई जस्तो शिक्षक हुन चाहन्छु ।’

जब म विद्यालय फर्किएँ तब मलाई मभन्दा साना भाइबहिनीसँग बस्नु प¥यो किनभने मेरा साथीहरु कतिले विद्यालय छाडिसकेका थिए भने कति अघिल्लो कक्षामा पुगिसकेका थिए । म अंग्रेजी र हिन्दी दुबैमा कमजोर थिएँ, त्यो बेला म्याथ्यु सरले मलाई हौसला दिनुभयो । उहाँले अरु विषयमा पनि मलाई गाईड गर्नुभयो । म कक्षामा ध्यान दिन थालें । सरको मद्दतले राम्रो नतिजा निक्लियो, म कक्षा ७ म प्रथम भएँ, यो देखेर सबै शिक्षकहरु तीन छक खाए । त्यसपछि मैले कहिल्यै फर्किएर हेर्नुपरेन । म १० कक्षासम्म प्रथम नै भएँ । त्यो समयमा मलाई म्याथ्यु सर जस्तै गणित विषयको शिक्षक हुने लक्ष्य थियो ।

१० कक्षासम्म मैले आफ्नो गाउँभन्दा परको संसार देखेको थिइँन । कलेज अध्ययनका लागि मैले शहर जानु पर्ने भयो, मेरो बुवालाई यो कुरामा कुनै आपत्ति थिएन, तर समस्या थियो पैसाको । जसोतसो गरेर मैले फारुक कलेजमा भर्ना गरें, त्यहाँ मैले निःशुल्क बस्न र खाने सुविधा पाएँ, म जस्ता अरु १५ जना पनि थिए जसलाई यो सुविधा थियो, किनकी हामी अत्यन्त गरिब परिवारबाट आएका थियौं र हामीसँग तिर्नका लागि पैसा थिएन । त्यो कलेजमा चार वटा हस्टेल थियो, हामी १५ जनाले बिहानको चिया, खाना र बेलुकीको खानका लागि फरक फरक हस्टेल जानुपथ्र्यो किनकी हामी च्यारिटीमा त्यहाँ बसिरहेका थियौं ।

त्यो समयमा अरु विद्यार्थीहरुले हामीलाई हेयका दृष्टिले हेर्थे । जस्तो कि हामी अरुको खाना खाइरहेका छौं, उनीहरु हाम्रो मजाक उडाउँथे । यो राम्रो अनुभव थिएन, तर म मैले आफ्नो शिक्षाका लागि त्यो सबै तिरस्कार र हेलालाई सहें । अहिले फर्किएर हेर्दा मलाई कलेज व्यवस्थापन देखेर खुशी लाग्छ, उनीहरुले हामी जस्तो गरिब विद्यार्थीको हेरविचार गरेर उत्कृष्ट काम गरेका रहेछन् । गाउँबाट आएका हुनाले मेरो अंग्रेजी अत्यन्त कमजोर थियो, लेक्चररहरु सबै अंग्रेजीमा लेक्चर दिन्थे, मलाई अति गाह्रो भएको थियो तर त्यो समयमा मेरो साथीले मेरो मद्दत गरे । मैले पनि उत्तिकै मेहेनत गरें ।

कलेज सकेपछि मैले इञ्जिनियरिङको परीक्षा दिएँ जहाँ म ६३औं स्थानमा आउन सफल भएँ । अहिलेको नेशनले इन्स्टिच्युट अफ टेक्नोलोजीमा मैले भर्ना हुने मौका पाएँ । मलाई के लाग्छ भने म हिसाबमा जान्ने थिएँ त्यसले मलाई मद्दत ग¥यो, साथसाथै म एकदमै मेहेनत गर्थे र अर्को कुरा भगवान मेरो साथमा थिए । मैले स्कोलरसीप पाएँ र स्टुडेण्ट लोन पनि लिएँ । व्यवसायी बन्ने मेरो सपना थिएन, म अब मात्र इञ्जिनियर बन्न चाहन्थें ।

कलेज सकेपछि सन् १९९५ मा मैले अमेरिकाको बैंगलोरमा भएको म्यानह्याटन एशोसियट्समा काम गर्ने मौका पाएँ । त्यसपछि मैले मोटरोला कम्पनीबाट अफर पाएँ, पछि त्यहींबाट आयरल्याण्ड पुगें । जिन्दगीमा पहिलो पटक मैले प्लेन चढेको थिएँ, त्यो पनि इन्टरनेशनल फ्लाइट । तीन महिना त्यहाँ काम गरेपछि मैले सिटी बैंकबाट राम्रो अफर पाएँ र दुबई गएँ । सन् १९९६ मा लाख रुपैयाँ तलब हुनु भनेको ठूलो कुरा थियो । मैले आफ्नो ऋणहरु तिरें । पछि एक पटक साथीसँग बुवालाई घर खर्च भनेर एक लाख रुपैयाँ पठाएको थिएँ, मेरो बुवाले पहिलो पटक त्यति रुपैयाँ एक साथ देख्नुभएको थियो, त्यति बेला मेरो बुवा रुनुभएछ । त्यसपछि बुवाको केही ऋणहरु तिरी सकेपछि तीनजना बैनीको विवाह गरें । त्यसको केही समयपछि नै मैले आफ्नो  बुवा आमाको लागि गाउँमा पक्की घर बनाएँ ।

मेरो गाउँका मानिसहरु जसले मलाई बच्चा अवस्थामा देखेका थिए, उनीहरुले मेरो प्रगति देखेर एकदमै हौसला पाएका छन् । आज पनि गाउँका थुप्रै युवाहरुका लागि म प्रेरणाको स्रोत बनेको छु भन्ने सुन्दा खुशी लाग्छ । सन् २००३ मा म दुबईबाट सधैंका लागि भारत नै फर्किएँ । म आफ्नो परिवार र बुवाआमासँग समय बिताउन चाहन्थें । मैले इञ्जिनियरिङको अध्ययन पूरा गर्न सकेको थिइँन, पैसाको अभावले गर्दा, मलाई त्यो पूरा गर्नु थियो । केही वर्ष काम गरेपछि मैले बिजनेश एड्मिनिस्ट्रेशन पढ्ने विचार गरें । किनकी म मेरो समाजका लागि केही गर्न चाहन्थें । मेरो गाउँमा थुप्रै युवाहरु छन् जसले जीवनमा त्यो पहिलो ब्रेक पाएका छैनन्, म उनीहरुलाई त्यो दिन चाहन्थें । मैले सोचें, उनीहरुको लागि रोजी रोटीको व्यवस्था गरेर, जागिर दिएर म त्यो पूरा गर्न सक्छु ।

त्यसपछि मैले जिन्दगीमै सबैभन्दा ठूलो निर्णय गरें । मेरो बुवा एकदमै डराउनुभएको थियो । त्यस्तै मेरो श्रीमतीका माइती पनि डराएका थिए । हुँदा खाँदाको जागिर छाडेर यसले के गर्न लाग्यो भन्ने सोचेका थिए । तर एक व्यक्तिले मलाई सधैं सहयोग ग¥यो, मेरो मामाको छोरा, मेरो भाइ नासिर । र अर्को मेरी श्रीमतीले पनि । म मेरो मामाका छोराहरुसँग हुर्किएको हुनाले उनीहरुको धेरै नजिक छु, उनीहरु पनि अत्यन्त गरिब परिवारबाट आएका हुन् । म जस्तो उनीहरुले उच्च शिक्षा प्राप्त गर्न सकेनन् । नासिर घरबाट भागेर बैंगलोर गएका थिए र त्यहाँ सानो किराना पसल खोलेका थिए । उनले सधैं मलाई आफ्नो मनको आवाज सुन्न प्रेरणा दिन्थे । यदि मैले गरेको व्यवसायले काम गरेन भने म जहिले पनि जागिर खोज्न सक्ने यो कुराले पनि मलाई अाँट दियो ।

सबैभन्दा रमाइलो के थियो भने म केही गर्न चाहन्थें तर त्यो के हो भन्ने मलाई थाहै थिएन । म १५ लाख रुपैयाँ लिएर भारत फर्किएको थिएँ ।

शमसुद्दिन, मेरो एक जना मामाका छोराले भने कि उनले डोसाको पीठो प्लास्टिकमा राखेर बेच्ने गरेको उसले देखेको छ र हामी पनि त्यस्तै गरौं भनेर उसले प्रस्ताव ल्यायो । त्यतिबेला नै मलाई त्यो आइडिया एकदमै राम्रो लाग्यो र मैले रु २५ हजार खर्च गरेर तत्काल सानो कम्पनी खोलें । हामी पाँच जना दाजुभाइ नासिर, शामसुद्दिन, जफर, नौशद र म, मिलेर यो कामको सुरुवात ग¥यौं । ५० प्रतिशत मेरो हिस्सा थियो भने बाँकी ५० प्रतिशत उनीहरु चार जनाको थियो । हाम्रो कम्पनी मात्र ५५० स्क्वाएर फिटमा दुईवटा ग्राइण्डर, एउटा मिक्सर र प्लास्टिक सिल गर्ने मेसिनबाट सुरु भएको थियो । हामीले कसैलाई काममा राखेनौं, हामीले नै मिलेर ग¥यौं ।

दिनमा १० प्याकेज बेच्ने लक्ष्यका साथ हामीले यो व्यसाय सुरु गरेका थियौं । सुरुमा पसलेहरु यस्तो सामान राख्न चाहदैनथे त्यसैले हामीले बिक्री भएमा मात्र पैसा लिने अफर सहित आफ्नो सामान उनीहरुको पसलमा बेच्न दियौं । ९ महिनामै हामी दिनको एक सय प्याकेट भन्दा बढी बेच्न सफल भयौं । सबै कुराको हिसाब कटाएर पनि सुरुको महिनामा हाम्रो नाफा भनेको ४ सय रुपैयाँ थियो । सय प्याकेटको डिमाण्ड हुनासाथ मैले बाँकी ६ लाख रुपैयाँ खर्च गरे । त्यसपछि नासिरले मात्र हेरिरहेको कामका लागि हामीले बाँकी ५ जना कर्मचारी नियुक्ति ग¥यौं ।

हाम्रो इड्ली डोसाको पीठो दुई वर्ष भित्रमा ३५ सय केजी दैनिक बिक्री हुन थाल्यो । हामी करिब ४ सय पसलका लागि काम गर्न थाल्यौं भने हामीले ३० जना जति नयाँ कर्मचारी पनि नियुक्ति गरेका थियौं । त्यसपछि सन् २००८ मा हामीले फेरि ४० लाख खर्च गरेर हाम्रो व्यवसायलाई अझ विस्तृत बनायौं । २०१३ बाट हामीले आफ्नो उत्पादनलाई दुबईमा पु¥यायौं । यसरी सुरु गरेको हाम्रो कम्पनी अक्टोबर २०१५ मा सय करोड कमाउने कम्पनी बन्न सफल भयो, त्यो समयमा आएर हामीले भव्य सेलिब्रेशन पनि ग¥यौं ।

यो अवधिमा मैले बुझेको कुरा भनेको कुनै पनि व्यवसाय सफल हुनका लागि सही टीम हुन जरुरी हुन्छ भन्ने नै हो । म सबैलाई के भन्न चाहन्छु भने यदि तपाईलाई केही गर्ने इच्छा छ भने समयमै गर्नुहोेस्, छिटै गर्नुहोस् । मलाई लाग्छ मैले यो व्यवसायमा हात हाल्छ केही वर्ष ढिला गरें । मलाई कहिलेकाँही मैले ५ वर्ष पहिला नै यो कामको सुरुवात किन गरिन भन्ने लाग्छ ।

प्रस्तुती : इरादा पहाडी

एजेन्सीको सहयोगमा

१५ असार २०७३ / ६:००

वि.सं.२०७३ असार १५ बुधवार १७:५५ मा प्रकाशित

You can share this post!

७५ वर्षमा सात संविधान, संविधान निर्माणका तीनवटै प्रक्रियामा के थियो अभ्यास ?

७५ वर्षमा सात संविधान, संविधान निर्माणका तीनवटै प्रक्रियामा के थियो अभ्यास ?

वि.सं.२०७९ असोज ३ सोमवार १३:१८

काठमाडौं । नेपालले संविधान निर्माणमा विश्वमा प्रयोग भएका तीनवटै अभ्यास...

पर्यटकको  आकर्षित गन्तव्य बन्दै हर्नामाडीको मूर्ति बगैँचा

पर्यटकको आकर्षित गन्तव्य बन्दै हर्नामाडीको मूर्ति बगैँचा

वि.सं.२०७९ जेठ २० शुक्रवार १२:२०

हेटौंडा । मकवानपुरको हेटौंडाबाट धरान चतारा रोड भनिने मदन भण्डारी...

प्रचण्डको बोलीले सेयर बजारमा लाग्ने भयो निरासाको गोली

प्रचण्डको बोलीले सेयर बजारमा लाग्ने भयो निरासाको गोली

वि.सं.२०७८ मंसिर २६ आइतवार १९:२०

काठमाडौं । यतिवेला नेकपा माओवादी केन्द्रका तर्फबाट जनार्दन शर्मा अर्थमन्त्रीमा...

बढ्दो भ्रुण हत्याले महँगिँदै मधेसका महिला

बढ्दो भ्रुण हत्याले महँगिँदै मधेसका महिला

वि.सं.२०७८ कात्तिक ३० मंगलवार १४:४२

सप्तरी । तराई मधेसमा छोरीको संख्या पहिलेको तुलनामा न्यून हुदै...

संरक्षित क्षेत्रमा बिना तस्करको बिगबिगी, वनैभरी पासो

संरक्षित क्षेत्रमा बिना तस्करको बिगबिगी, वनैभरी पासो

वि.सं.२०७८ कात्तिक २३ मंगलवार १३:३१

पोखरा । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गत मुस्ताङका जंगलभरी...

कोरोना महामारीले बन्द भद्रपुर नाका डेढ वर्षपछि खुल्यो

कोरोना महामारीले बन्द भद्रपुर नाका डेढ वर्षपछि खुल्यो

वि.सं.२०७८ कात्तिक १२ शुक्रवार १५:२०

झापा । सरकारले सबै नाका खोल्ने निणर्य गरेको एक महिनापछि...