काठमाडौ । आयोजक फ्रान्सलाई १–० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले युरोकप २०१६ को उपाधि हात पारेको छ ।
चोटका कारण २५ औं मिनेटमा सुपरस्टार क्रिष्टियानो रोनाल्डोलाई सुरुमा नै गुमाएपनि पोर्चुगलले युरोकप २०१६ को फाइनलमा फ्रान्सलाई हराउन सफल भएको हो ।
सोमबार बिहान भएको खेलमा चोटका कारण खेलको सुरुवाती चरणमै रुदै स्ट्रेचरमा बसेर मैदान छाडेका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिममा फेरि हर्षको आँशू झारे । रोनाल्डो बाहिरिएपछि पोर्चुगल दबाबमा परेको थियो ।
निर्धारित ९० मिनेटको खेल बराबरीमा रोकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा पोर्चुगलको लागि १०९ औं मिनेटमा इडरले हानेको बलले जाली चुम्यो र यूरोकपको उपाधि पक्का भयो ।
रोनाल्डोको बहिर्गमनले निराश बनाएको पोर्चुगली टिम र समर्थकको लागि गोलकर्ता इडर नायक ठहरिए ।
यससँगै पोर्चुगलको यूरोकपको उपाधी उचाल्ने सपना पनि पूरा भएको हो । खेल अवधिभर फ्रान्सले पोर्चुगललाई दबावमा राखेको थियो ।
फाइनल प्रवेशको लागि पोर्चुगलले वेल्स र फ्रान्सले विश्वविजेता जर्मनीलाई सेमीफाइनलमा पराजित गरेको थियो ।
प्रकाशित मिति ः २०७३ असार २७
वि.सं.२०७३ असार २७ सोमवार ०६:२३ मा प्रकाशित