
काठमाण्डौं । ‘मोटर बिमादर सम्बन्धी निर्देशिका, २०७३’ जारी गर्दै बिमा समितिले आगामी साउन १ गतेदेखि यात्रु, चालक, परिचालक, चेकर, हेल्पर तथा सुरक्षाकर्मीको सवारी दुर्घटनाबाट मृत्यु भएमा प्रतिव्यक्ति पाँच लाख रुपैयाँ बिमाङ्क कायम हुने व्यवस्था गरेको छ।
यसअघि दुर्घटनामा ज्यान गए प्रतिव्यक्ति १ लाख रुपैयाँ पाउने व्यवस्था थियो । सवारी भित्र रहेका मानिसले ज्यान गुमाए १ लाख रुपैयाँ तर सवारीको ठक्करबाट ज्यान गुमाउनले भने ५ लाख रुपैयाँ पाउने व्यवस्था थियो।
अहिलेको निर्देशिका मार्फत् भने सवारी भित्र वा सवारी ठक्करको कारण बाहिर ज्यान गुमाउने दुवैले एकै खालको रकम पाउने व्यवस्था गरिएको छ।
त्यस्तै सवारी साधन दुर्घटनाबाट भएको चोटपटकमा औषधी उपचारको अधिकतम बीमाङ्कको सीमा तीन लाख रुपैयाँ कायम गरेको बिमा समितिले जनाएको छ।
मोटरसाइकलको हकमा एक चालक र एक यात्रुको प्रतिव्यक्ति पाँच लाख रुपैयाँको दुर्घटना बिमा हुने र तीन लाख रुपैयाँसम्मको प्रतिव्यक्ति औषधी उपचारको सीमा हुने समेत व्यवस्था गरिएको छ ।
साउन १ गतेपछि यो व्यवस्था कार्यान्वयनमा आउने भएपनि यसभन्दा अघि बिमा गरेकाले भने थप शुल्क तिरी नयाँ व्यवस्था अन्तर्गत आउनका लागि बिमा समितिले एक सुचना जारी गरेको छ।
२९ असार २०७३, १२।००
वि.सं.२०७३ असार २९ बुधवार १२:०० मा प्रकाशित