
रामेछाप जिल्ला पकरबास गाविसमा जन्मे हुर्केका कैलास ढुंगेल जनताको सहभागीताका आधारमा देशको विकासमा लाग्नुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति हुन् । २०५४ देखि २०५९ सम्म रामेछाप जिल्ला विकास समितिका सभापति समेत रहेका ढुंगेल हाल राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशक छन् ।
जन–सहभागीता सहितको विकास नै दिगो विकास
विकास कार्यलाई दिगो र सफल बनाउन जनतालाई अनिवार्य सहभागी गराउनु पर्दछ । जनतालाई सहभागी नगराईकन कोहि कसैले माथि बाट मैले ल्याईदिए भनेको विकासले दिगोपना नल्याउने र जनताले अपनत्व महशुस गर्नै सक्दैनन् । ʽकुनैपनि कार्यक्रमको भित्र आन्तरिक सुशासन कस्तो छ त्यसको आधारमा नापिन्छ । दोस्रो म पनि यो ठाउँमा छु, मेरो पनि सहभागिता छ । यो विकास मेरो हो भन्ने खालको भावना जगाउन सकियो भने त्यो विकास दिर्घकालिन बन्न जान्छ ।ʼ
नेपालीहरु खाडीको तातो घाम, चिसो हिमाल जहाँ पनि काम गर्न सक्दछन् । नेपाल सरकार र विद्धान् व्यक्तित्वहरुले उनीहरुलाई साथमा लिएर काम नगर्दा सम्म नेपालको विकासमा दिगोपना आउनै सक्दैन ।
जति टिप्नुस् पैसै पैसा
ʽवालुवामा जानुस् पैसा छ । जंगलमा जानुस् पैसा छ । पानीमा टेक्नुस् पैसा छ । जडिबुटी टिप्नुस् पैसा छ । यार्सागुम्बा टिपे नि पैसा, सिलाजीत खुर्केनी पैसा छ । सालको पातमा पनि पैसा छ, बेलको पातमा पनि पैसा छ । टिप्न जान्नेले टिप्छ । नजान्ने गरिब दुःखी भएं भन्नेहरु कतार दुबई जान्छ ।ʼ
जनसहभागीताका आधारमा एउटा क्षेत्रलाई समातेर काम गरे देशको विकासलाई अरु केहि नै गर्नै पर्दैन । ʽहाम्रो उत्तरबाट बग्ने नदीहरुको पानी खुरु खुरु ट्याँङ्करमा हालेर बोतलमा भरेर किन अन्तर्राष्ट्रियकरण गरिन्न । पकाउन, खोतल्न पनि पर्दैन । त्यसलाई संसारभर दिने हो भने इजरायल खाडी कतै जानै पर्दैन । अरबको तेल सकिएला तर नेपालको हिमालको पानी कहिल्यै सकिन्न । ʼ
एउटा डाँडाको आम्दानीले बहुराष्ट्रिय टाटा कम्पनीलाई जित्छ
टाटाको नेपालमा बहुराष्ट्रिय कम्पनी छ । त्यो ठूलो भनिन्छ । त्यो टाटा कम्पनीलाई त नेपालमा एउटा डाँडोले जित्छ । मात्र व्यवस्थापन गर्न जान्नुपर्यो । पूर्वको पाथीभरा, अलि वर हलेसी, अलि वर खाँडादेवी, काठमाडौ पशुपति र स्वयंभु, मनकामना, लुम्बिनी, मुक्तिनाथ यी डाँडाहरुलाई गूल्जार गरौं न ।
हलेसीमा एउटा ओढार हेर्ने हो । तर त्यहाँ दशौं हजार मान्छे जान्छन् । त्यहाँ जान, बस्न सुबिधा दिउँ, सुरक्षित आराम, फुल रोप्नुस्, कफि खान पाईन्छ, सुत्ने व्यवस्था मिलाईदिएमा त्यो डाँडाको आम्दानीले टाटा कम्पनीलाई जितिहाल्छ । मकै रोप्नै पर्दैन । हरेक डाँडामा केहि न केहि बनाई दिनुस् । भारतका मानिस कँही न कँही आउँछन् ।
एक नम्बरमा पर्यटन
नेपालको आर्थिक विकासको कुरा गर्ने हो भने पर्यटनलाई पहिलो नम्बरमा राख्नुपर्नेछ । नम्बर एक पर्यटन, दोस्रोमा हाइड्रो, तेस्रोमा कृषि बनाउँ, सोहि अनुरुप बजेट राखौं । मानिसहरुलाई तपाईको रोजाई कहाँ हो सक्नुहुन्छ भने प्रबद्र्धन गरौं भनौं, सकिन्न अरुले गरेको काममा टेवा गर भनौं ।
त्यस्तै हाम्रो पुस्तालाई काम गर्ने र काम सिकाउने पुस्ता बनाउनुपर्ने छ । हामी हाम्रा बच्चालाई केरा पनि ताछेर खुवाउँछौं । ९ वर्षको बच्चाले केरा ताछ्दैन । प्लस टु पढ्छ, तर छोराले सिरक पट्याउन्न । अनि त्यस्ता व्यक्तिले के काम गर्छ ?
अपर तामाकोसी जस्तै हरेक नेपालीलाई शेयर दिएर आयोजना बनाउने हो भने कम लागतमा धेरै आयोजना बन्ने र जनसहभागीतामा आयोजना पुरा गर्न सकिनेछ ।

दूधमा आत्मनिर्भर पार्ने संकल्प
सरकारले भने जस्तै ३ वर्षमा दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बन्ने हामी सबैको संकल्प हो । ग्याँस लगायत विभिन्न वस्तुमा बिदेशमा भर परेका कारण दुख पाइयो । हामीले कम्तीमा कृषि अर्थात् पाखा भित्तामा पालेका गाईवस्तु र त्यहाँको खेतीपाती, वनको स्याउलामा आत्मनिर्भर बन्नु ठूलो हुन्छौं भन्ने आँट गरौं यहि नै ठूलो कुरा हुन्छ ।
कृषिमा किन लाग्दैन मानिस ?
कृषिबाट आम्दानी कम हुन्छ । बिदेश जानेले चाँडै कमाउने हातमा घडी बान्ने,सुकिलो मुकिलो भएर हिंड्ने गर्छ । प्लटिङ गर्नेले चाँडै घर ठड्याउँछ । दुग्धजन्य र कृषिमा काम गर्नेहरु भने त्यहि क्यान मात्र बोकिरहनु पर्ने हुन्छ । अनि अरुको राम्रो देखेर नि मानिसहरु कृषिमा लाग्दैनन् ।
पशुपालमा लागत कसरी उठाउने ?
घाँसमा आधारित पशुपालन गर्नुपर्यो, अनिमात्र लागत उठ्छ । घाँस नलगाउने, दाना किनेर खुवाउने, एक लिटर दूध उत्पादन गर्न सय रुपैंया लाग्छ, दूध बेच्दा ६० रुपैंया आउँछ अनि कसरी नाफा हुन्छ ? सरकार पनि लगानीमा अल्मलिएको छ । किसानलाई लगानी गर्नै सक्दैन । किसानलाई प्रबद्र्धन गर्ने हो भने तदअनुकुलको कार्यक्रम र बजेट पनि ल्याउनुपर्छ ।
किसानका हितमा के के गर्ने ?
किसानलाई सहकारीमा आबद्ध गर्ने, अनुदान दिनुपर्यो । यदि सरकारी अनुदानलाई कसैले लापरबाही गर्यो भने कडा कारबाही गर्ने व्यवस्था हुनुपर्यो । आजपनि मिल्क होलिडे छ । बाह्रै महिना जनताको माग पुरा गर्न फल सिजनको दूधलाई भण्डार त्यसको पाउडर बनाउनु पर्यो । कृषि सहकारी मार्फत जनतालाई सहभागी गराउनुपर्यो । पिपिपि मोडलमा जानु पर्यो । नीजि क्षेत्रले पनि फाईदा खोज्छ नि । तिमीहरुको पैसा नास हुन्न भनेर सरकारले ग्यारेन्टी गर्नुपर्यो ।
कुर्सीमा बसेपछि…
सरकारको संकल्पअनुरुप ३ वर्षमा दूधमा आत्मनिर्भर पार्न सहयोग गर्ने छु । गाई पाल्ने र भैंसी पाल्ने सँग बोर्डको सम्बन्ध छ । उनीहरुको व्यवसायीकरण लाई प्रबद्र्धन गर्ने छु । ५ लाख किसान गाई भैंसी सहकारीमा छन् । ४०÷५० नीजि डेरी र सरकारी डिडिसी छ । यी सबैको समन्वयन, सहजीकरण र प्रबद्र्धन गर्ने र नेपाली किसानलाई गाई पाल्नुस्, सहकारीमा आबद्ध हुनुस् भनेर लाग्नेछु । कृषिमा त्यसमा पनि गाई भैंसीबाट नेपाललाई समृद्ध बनाउन यो महत्वपूर्ण काम हो ।
कोक खाए बिदेश जान्छ मोही खाए नेपाल
डेरीको दूध खानुस्, दुग्धजन्य पदार्थ जे खाएपनि मोही खानुस् नेपाली किसान आमा बाबा कहाँ पुग्छ । कोक खानुस त्यो पैसा बिदेस जान्छ । अर्काे मोहि खानु भयो भने यो जनतासँग सिघै गाँसिएको चिज हो । उनीहरुले पठाए यहाँ खाईन्छ, यहाँ खाए त्यहाँ गाउँमा पैसा पुग्छ । मोबाईल किनेको पैसा बस्दैन । तर मोहि खाएको यही बस्छ, किनभने कृषि यहिँ छ ।
गर्छु भन्ने आँट चाहियो
मेरो जिल्लामा सभापति भएको बेलामा २ वर्षमा समुदायमा आधारित ५६ वटा झोलुङगे पुल बनाएं । म गर्छु भन्ने आत्मबलले काम गर्छ । इच्छाशक्ति भएमा बाटो, पुल जे पनि बन्छ । प्राकृतिक स्रोतलाई बिना जनताको सहभागितामा मानब हितमा प्रयोग गरिन्न तबसम्म केहि गर्न सकिन्न ।
के गर्नुहुन्छ ?
दूध अभिवृद्धि कार्यक्रम बनाए । सरकारमा बजेट पुगेन होला त्यो कार्यक्रम अगाडि बढ्न सकेन । पाईलट प्रोजेक्ट बनाएँ । चाँडोभन्दा चाँडो ५ लिटर दूध दिने गाई १० लिटरको छोरी जन्माउने, १० लिटरको छोरी जन्माउने क्षमता बृद्धि गर्ने सेक्सीम्यान ल्याएका छौं । ८ हजार डोज गएको छ । त्यस्तै रिसर्च सेन्टर बनाउँ । ७ प्रदेशमा अरुको मुख नताकि अध्ययन अनुसन्धान गर्ने रिसर्च सेन्टर बनाउँ । तर पनि अत्मनिर्भर बन्न अझै पनि अस्थिर राजनीति बाधक छ ।
स्थिर राजनीतिक अवस्था, विकास र शान्तिसुरक्षा हुनुपर्यो । दोस्रो आँगनमा भएको स्रोत परिचालन हुन पाउनुपर्यो । कुनै पनि नेपाली बाहिर जानै पर्दैन । भारतले नाकाबन्दी गरिदिएका कारण नेपालीमा आत्म निर्भरतातीर जाने जोस बढ्दै थियो । खेती गर्छु भन्ने दिन भाव पैदा भईरहेको थियो । तर अहिले फेरी हराउँदै छ ।

किसानलाई सुझाव
राज्यको अनुदान कसरी लिने, त्यसको लागि फर्म कसरी भर्ने, दूधालु गाई पाल्ने कसरी लगायत विषय समेत नजान्ने किसानहरुलाई सर्वप्रथम सहकारीमा संगठीत गर्नुपर्छ । गाई पाल्न चाहने र गोठालो बन्न चाहने किसानलाई ऋण उपलब्ध गराएर उसको मेहनतको ग्यारेन्टी सरकारले गर्नुपर्छ । उन्नत गाईसँगै खेती गर, उन्नत घाँसको बिउ, ʽघाँसमा आधारित पशु, उत्पादनमा आधारित अनुदानʼ कृषकलाई उपलब्ध गराईनुपर्छ ।
बोर्डद्धारा गाई भैसी उद्योगको विकास अभियान
बोर्डले दूधको अनुगमन गर्छ । किसानलाई ऋण सहयोग गर्छ । अनुदानको व्यवस्था गर्छ ।
किसानलाई तालिम दिन्छ । डेरी एक्स्पो र तालिम दिन्छ । लगायत दुग्धजन्य पदार्थको बिबिधीकरण गरि दूध, चिज, पनिर र अन्य पदार्थ बनाउन सिकाउँछ । अन्तर्राष्ट्रिय स्तरमा नेपालको समस्यालाई उजागर गराउने काम गर्छ । किसानहरुलाई सहकारीमा आबद्ध गराउँछ । किसानको क्षमता अभिवृद्धि गर्ने काम गर्छ । हिजोको जस्तो चाडपर्व मान्ने बिहान बेलुका चिया खानेजस्तो होईन गाई भैसी लाई उद्योगको रुपमा कसरी विकास गर्ने भन्ने अभियानका साथ काम गरिरहेको छ ।
गाई बोकेर हिंड्ने एम्बुलेन्स खोई ?
अहिले नेपालमा उत्पादनको १५ प्रतिशत दूध पास्टाराइज हुन्छ । कुल गार्हस्थ उत्पादन (जीडीपी)मा यसको योगदान ९ प्रतिशत छ । ८५ प्रतिशत दूधको सरकारी रेकर्डमा छैन । यदि बाटो घाटो र पूर्वाधार पुर्याईदिने हो भने सबै दूध पास्टराईज गर्ने हो भने जिडीपीको आम्दानी पनि बढ्छ ।
२ लिटर दूध दिने १० वटा गाई भन्दा २० लिटर दूध दिने एउटै गाई पाल्नु पर्यो । हामीले काँचो दूध होईन डेरी प्रोडक्ट खाने भनेर जनतालाई सिकाउनु पर्नेछ । सबै नेपालीको चीज खाने हैसियत बनाउनुपर्नेछ । त्यसका लागि धेरै गाई फार्म बनाउनुपर्यो । फार्म सम्म गाडी पुग्ने बाटो हुनुपर्यो । मान्छे बिरामी हुँदा जसरी एम्बुलेन्सले बोक्छ त्यस्तै एउटा गाई बिरामी भयो भने गाई बोकेर एम्बुलेन्समा हालेर उपचारका लागि लैजानुपर्यो । नेपालमा गाईलाई बोकेर लिएर हिंड्ने एम्बुलेन्स खोई ? अझैपनि प्याकेट मासुखोई ? सुरक्षित बधशाला खोई ?
(ढुंगेलसंग अर्थतन्त्रका लागि रामेश्वर कार्की र हरिशरण न्यौपानेले गरेको कुराकानीमा आधारित)
प्रकाशित : ११ साउन २०७३ / ९:३५:२८
वि.सं.२०७३ साउन ११ मंगलवार ०९:३६ मा प्रकाशित