
पर्यटन व्यवसायी भएको नाताले संसारको धेरै ठाउँहरुमा हुने ट्राभल फेयरहरु ʽबी टु बीʼ अर्थात् ʽबिजनेस टु बिजनेसʼ फेयरहरु, ट्राभल ट्रेडको एक्जिबिसनमा निरन्तर जाने गर्छु । ५/७ वर्षदेखि पर्यटन प्रबद्र्धनका शीलशीलामा अमेरिका, बेलायत, अष्ट्रेलिया लगायत धेरै देशहरुमा जाने गरेको थिए । भुँइचालो पछि नेपालको पर्यटनको स्थिति अलि खस्किसके पछि स्वभावैलै अन्तराष्ट्रिय बजारमा विजनेश प्रवद्र्धनको निम्ति लाग्नु परेको अवस्था छ । नेपालको पर्यटनमा चीन र भारत मुख्य मार्केट मार्केट हो । सीमा जोडिएका यी देशमा आवत जावतको हिसाबले पनि सजिलो छ । हामी कहाँ विगत लामो समयदेखि भारतीय पर्यटक संख्या उल्लेख्य मात्रामा आईरहेका छन्, तर भूकम्प र नाकाबन्दी पछिको आँकडा हेर्दा नेपाल आउने भारतीयहरुको संख्या अलि घटेको जस्तो देखियो । उनीहरु डराईरहेको भन्ने हामीलाई पनि महशुस भएको हुनाले नेपाल त्यस्तो छैन, डराउनु पर्दैन, नेपालमा हेर्न र घुम्नका लागि लायक धेरै गन्तव्यहरु छन् भन्ने सन्देश दिनको लागि अघिल्लो साता भारत गएको थिएँ ।
यो ʽबि टु बीʼ को एउटा पाटो रह्यो । अर्काे ʽटीटीएफʼ अर्थात् ट्राभल टुरीजम फेयर जहाँ बिभिन्न देशका बिदेशी कम्पनीहरु सहभागी हुने एउटा एक्जिबिसन हो । त्यसमा संसारका धेरै मानिसहरुले सहभागीता जनाउँछन् । सहभागीहरुले कुन देश जान उपयुक्त छ भनेर बुझ्न चाहन्छन् । साथै बि टु बी जसले नेपाल प्रमोशन र नेपाल सम्बन्धी प्रचार प्रसार गरिरहेका छन् । त्यस्तै बिदेशबाट नेपालमा आउने नयाँ कम्पनीहरुले नयाँ माध्यम र नेपालमा कोहि नयाँ बिजनेस गरिरहेका व्यक्तिहरु भेट्न पर्यो भने भेट्न सकिन्छ । त्यसरी भेट्दा हामीले यहाँबाट संयुक्तरुपमा पर्यटन प्याकेज बनाएर पठाउने र उताबाट प्रबद्र्धन गरेर बिक्री गर्ने गरिन्छ त्यस कामका लागि मेरो टिटिएफ भ्रमण थियो ।
सोही सन्दर्भमा मुख्यतया ʽबि टु बीʼको लागि मुम्बइर्, अहमदाबाद र बैंग्लोर गरी तीन ठाउँमा गयौं । अलिकति मार्केट हेर्दा बैंग्लोर तिरका मानिसहरु अलि बढि शिक्षित भएको हुनाले अलि एड्भेन्चरस प्रकृतिका भेटियो । विशेष गरी ट्रेकिङ, एभरेष्ट बेसक्याम्प लगायतमा उनीहरुको रुची रहेको पायौं । अहमदावाद, गुजरात तिरका मानिसहरु भने बढि धार्मिक क्षेत्र तर्फ रुची राख्ने पायौं । उनीहरु माउन्ट कैलाश, मुक्तिनाथ लगायत क्षेत्रमा जान चाहने पर्यटकहरु हो जस्तो लाग्यो । साथै यो बिचमा हामीसँग बचेको ४/५ दिन समयमा टापु–टापुको देश माल्दिभ्स पनि पुगियो । हाम्रो देशमा डाँडा काँडा भने जस्तै त्यहाँ १ सय १० वटा टापु रहेछन् । थिम्पु बाहेक अरु सबै टापुमा ʽएक टापु एक होटलʼ हुँदा रहेछन् । हाम्रो पनि डाँडा डाँडामा त्यस्ता होटल भए त्यसले पर्यटन प्रबद्र्धन गर्न सघाउँथ्यो भन्ने लाग्यो ।
भारत, माल्दिभ्स नेपालको पर्यटनमा भिन्नता
बिजनेस प्रमोशनको लागि संसारका धेरै देश गइन्छ र गएका पनि छौं । नेपालबाट टाढा–टाढा रहेका देशमा कतिपय मानिसलाई नेपाल भन्ने देश नै थाहै हुँदैन भने भारतमा त नेपाल भन्ने सबैलाई थाहा छ । नजिकको देश नेपाल आउन पासपोर्ट पनि चाँहिदैन, भिषा लगाईराख्नु पनि पर्दैन । भूकम्प र नाकाबन्दी पछि नेपाल र भारतको सम्बन्धमा अलिकति दरार आएको जस्तो देखिएको हिसाबले भारतीयहरुलाई पनि नेपाल आउन अप्ठेरो लागे जस्तो हामीले महसुस गर्यौं । नेपालमा कुनै समस्या छ कि भनेर उनीहरुको चासो पनि रह्यो । तर नेपाल सुरक्षित छ, कुनै समस्या छैन भनेर उनीहरुमा देखिएका भ्रम चिर्न सक्नु केहि हदसम्म भएपनि हाम्रो यात्राको सफलता पनि हो । नेपाल ठिक छ भनेपछि उनीहरु उल्लेख्य रुपमा नेपाल आउन चाहन्छन् । तर चाहना हुँदा हुँदै पनि कतिपय ठाउँहरुमा रहेका अप्ठ्याराले केही समस्या पार्दाे रहेछ । हवाई भाडा अलि महंगो भएकाले पनि उनीहरुको चाहना नेपालबाट अन्यत्र परिवर्तन भइरहेको देखिन्छ । जस्तो बैंग्लोरबाट बैंकक जानुपर्यो भने १० हजार भारतीय रुपैंयामा जान सकिन्छ भने नेपाल आउँदा २० हजार पर्छ । बैंग्लोरबाट सिंगापुर जाँदा १५ हजार भए पुग्छ भने नेपाल आउँदा ३० हजार पर्छ । आज भोलि सबैले लागतको तुलना गर्ने भएकाले यसमा नेपाल वायुसेवा निगमले विशेष केन्द्रित भएर बजारीकरण गर्यो भने पर्यटकहरुको संख्या बढ्ने सम्भावना छ ।
नेपाली पर्यटनमा दुई दशकको अनुभव
पर्यटनमा पहिलो कुरा त प्रचार प्रसार नै हो । जब मास मिडियामा गएर प्रचार प्रसार गर्न सकिँदैन, नेपाल के हो भनेर सबलाई चिनाउन सकिँंदैन, तबसम्म पर्यटनको विकास हुँदैन । मलेसियाको हेर्नु भयो भने उसले बिबिसी, सिएनएन मा टु«ली एशिया भनेर विज्ञापन गरेको हुन्छ । थाईल्याण्डले एमेजिङ थाइल्याण्ड भनेर थाईल्याण्डको सबै विषय झल्काउने गरी १ मिनेटको सो देखाउँछ ।
भारतले इन्क्रिडिबल इन्डिया भनेर पुरा मार्केटिङ गरिरहेको छ भने हाम्रो पनि त्यस्तो मार्केटिङ संयन्त्र हुनुपर्यो । भन्नाले मास मिडिमामा गएर नेपाल भन्ने देश यो हो, नेपालमा यो यो छ भनेर प्रचार गर्नुपर्यो । पर्यटन बोर्डसँग भएको रकम अहिले पनि अनुत्पादक क्षेत्रमा पनि खर्च भइरहेको छ । यस्तो अनुत्पादक क्षेत्रमा खर्च गर्नु भन्दा उत्पादनशील क्षेत्रमा खर्च गर्नुपर्यो नि । बोर्डसँग भएको अर्बाैं रकम मध्ये केहि रकम उत्पादनशील मध्येको एक प्रचार प्रसार र प्रबद्र्धनमा खर्च गर्दा के भो ? सिएनएन, बिबिसी, आजतक, अल जजिरा, सिसिटिभी लगायत मास मिडियामा जानुपर्यो । जसले विश्वसामु नेपाललाई चिनाउँछ । पर्यटकको संख्या बढाउँछ र नेपालको आम्दानी स्वतः बढ्नेछ ।
मैले माथि पनि उल्लेख गरेको छु, मंहगो हवाई फेयरलाई सस्तोमा झार्नुपर्यो । त्यसपछि आन्तरिक पूर्बाधार सडक सुबिधालाई छिटो छरितो बनाउनु पर्यो । पर्यटकलाई बाटोमा यात्रा गर्दा तनाव हुनु भएन । तनाव लिन होईन पर्यटकहरु रमाईलो गर्न आउँछन् भन्ने बुझ्नुपरयो । गाउँ गाउँसम्म पर्यटनबाट लाभ दिलाउन उनीहरुलाई गाउँ गाउँसम्म सहज यात्राका माध्यमबाट पुर्याउने व्यवस्था हुनुपर्यो ।
देशमा अहिले राजनीतिक किचलो छ । त्यसैले जति मात्रामा पर्यटक आउनुपर्ने हो त्यति आउन सकेको छैन । लाखौं युवा विदेशमा छन् । हामी बिदेश जानुपर्ने नै होइन । बिदेशीलाई यहाँ ल्याएर पर्यटकीय गतिबिधी र उनीहरुलाई काममा लगाउनुपर्ने वातावरण बन्नुपर्दथ्यो । कृषि, हाईड्रोपावरका यति धेरै सम्भावना छन् । त्यतातर्फ केन्द्रित हुनुपर्यो ।
यहाँ संसारका विश्वस्तरीय चेन रिसोर्ट र होटेल खुल्ने वातावरण पनि बनाईनु पर्छ, जसले गर्दा होटेलको आपसी संजालमार्फत स्वतः स्फूर्तरुपमा नेपालको प्रचार प्रसार हुनसक्छ । व्यवसाय गर्ने वातावरण सरकारले बनाईदिने हो । नीजि क्षेत्र कर तिर्ने र थप लगानी गर्न संधै तयार नै छ । रोजगारी वृद्धि गर्न संधै तयार नै छ ।
(अर्थतन्त्रका लागि हरिशरण न्यौपानेसंग गरिएको कुराकानीमा आधारित) प्रकाशित मिति : १२ सायन २०७३ / ११ः००
वि.सं.२०७३ साउन १३ बिहीवार ११:२६ मा प्रकाशित