
जिन्दगीको कुनै न कुनै मोडमा सबैले एक न एक पटक असफलता पाएकै हुन्छ । यो सामान्य आफूले चाहे जस्तो जागिर नपाउनु देखि लिएर जीवनमा आइपर्ने ठूला घटनाक्रम सम्म पर्ने गर्छ जसले तपाईको जीवनलाई नै निराश बनाइदिन सक्छ । तर असफलता भनेको त्यो हैन जुन आइपर्छ असफलता भनेको त्यो हो जुन आइपरेपछि हामी उठ्न खोज्दैनौं । भनिन्छ तपाई सात पटक लड्नुभयो भने आठ पटक उठ्नुहोस् । त्यसैले असफलता भनेको निराश भएपछि आशातिर नलम्किनु हो । यसपटक हामीले तीन व्यक्तित्वको जीवनलाई संक्षेपमा यहाँ उतारेका छौं, जसले हामीलाई अगाडि बढ्न मद्दत गर्नेछ ।
ह्युज हेर
१७ वर्षको उमेरमा नै हेर अमेरिकाका एक नामी रक क्लाइम्बरका रुपमा परिचित भइसकेका थिए । सन् १९८२ मा उनी र उनका साथी न्यू हेम्सपायरको माउण्ट वासिङटन पहाडमा चढ्ने क्रममा दुर्घटनामा परे । माइनस २९ डिग्रीमा तीन रात बिताएका उनीहरुको उद्दार हुँदा हेरले आफ्नो दुबै खुट्टा गुमाउन पुगे भने हातका केही औंला पनि गुमाउन पुगे । उनको दुबै गोडा घुँडामुनीबाट काट्नु पर्ने भयो । उनका साथीले पनि दाहिने हातका औंलाहरु, गोडाको बुढीऔंला र देब्रो खुट्टा गुमाए । तर यो घटनामा हेर विचलित भएनन् । उनले बरु कृतिम खुट्टा बनाउने तरिकाहरु खोज्न थाले र बिस्तारै कृतिम खुट्टा पनि बनाए । प्रोस्थेसिसको सहयोगले उनले ढुंगाको सिंढीहरु चढ्न मिल्ने र हिउँमा पनि हिंड्न मिल्ने गरी त्यो खुट्टाको विकास गरे । त्यही खुट्टाको सहयोगले उनले आफ्नो दुर्घटना हुनुभन्दा पहिले हिंडेकोभन्दा पनि अप्ठ्यारो पहाडहरु चढे । यसले उनलाई शरीरको धेरै भाग नभएको अवस्थामा पनि पहाड चढ्ने व्यक्तिका रुपमा चिनायो ।
एडवार्ड वियर ग्रिल्स
के तपाईलाई थाहा छ, ठूलो ठूलो पहाड चढ्ने, ज्वालामुखी फुटिरहेको डाँडा नजिकै कुद्ने, समुद्रमा पौडी खेल्ने यी व्यक्ति वियर ग्रिल्सलाई कुनै बेला डक्टरले जिन्दगीभर हिंड्न नसक्ने बताएका थिए । सन् १९९६ मा उनी जाम्बियामा प्यारासुट दुर्घटनामा परे । जसले गर्दा उनको मेरुदण्डको तीनवटा हड्डी भाँचियो । उनका चिकित्सकका अनुसार उनी हिंड्न नसक्ने अवस्थामा अस्पताल आएका थिए र उनी आजीवन प्यारालाइसिस हुनसक्ने अवस्थामा थिए । उनी फेरि हिंड्न सक्लान् ? भन्ने ठूलो प्रश्न उब्जिएको थियो । उनले त्यसपछिको १२ महिना अस्पतालमा नै बिताए । तर त्यही तीनवटा हड्डी भाँचिएको १८ महिनापछि उनले आफ्नो बाल्यकालदेखिको सपना सगरमाथा आरोहण गर्ने, पूरा गरे । जम्मा २३ वर्षको उमेरमा उनले निकै सफलता हासिल गरिसकेका थिए । उनी अहिले संसारभर परिचित कार्यक्रम म्यान भर्सेस वाइल्ड संचालन गरिरहेका छन् ।
जे.के.रोलिङ
गत वर्ष नेपाल आएकी जेके रोलिङलाई परिचय दिइरहनु पर्दैन । उनको किताब संसारभरमा १० लाख प्रतिभन्दा बढी बिक्री भइसकेको छ । ह्यारी पोर्टर सिरिजकी लेखिका उनी कुनै बेला मानसिक रोगी थिइन् । उनी डिप्रेशन र लगातार आत्महत्याको प्रयास गरेकी थिइन् । उनको वैवाहिक जीवन टुक्रिएको थियो । उनी एक सन्तानकी आमा थिइन्, उनीमाथि सन्तानको लालनपालनको जिम्मा पनि थियो । उनी आफू अत्यधिक गरिब भएको भन्दै सरकारबाट सहयोग निम्ति निवेदन पनि लेखेकी थिइन् । सन् १९९० मा उनलाई ह्यारी पोटरको पहिलो कथा दिमागका आयो । त्यसको ५ वर्षपछि मात्र उनले पहिलो पाण्डुलिपी तयार पारिन् । उनले त्यो विभिन्न प्रकाशकहरुलाई देखाइन् तर धेरैले उनलाई किताब लेखेर जीवन चल्ने बताउँदै अरु जागिर खोज्न सुझाव दिए । अहिले उनी युकेकै सबैभन्दा प्रतिष्ठित र धनी लेखकमध्ये पर्छिन् । उनीसँग ५ सय ५० मिलियन पाउण्ड स्टर्लिङ्ग बराबर सम्पत्ति रहेकोछ । उनले राम्रो किताब लेखेर जीवन चलाउन सकिन्छ भन्ने उदाहरण दिइरहेकी छिन् ।
प्रस्तुति : इरादा पहाडी
- एजेन्सीको सहयोगमा / २२ साउन २०७३
वि.सं.२०७३ साउन २२ शनिवार १५:०६ मा प्रकाशित