चाहेर पनि एसएलसी भन्दा माथि पढ्न पाईएन
मेहनत र परिश्रममै छ सफलता भन्ने मान्यता राख्ने यादवलाल श्रेष्ठको जन्म २०३१ सालमा धादिङको कुम्पुर–७ चामडाँडामा भएको हो । उनी जन्मनुभन्दा केहि महिना अगावै बुबाको निधन भयो । श्रेष्ठले पितृवात्सल्यको न्यानो काख अनुभव समेत गर्न पाएनन् । गरिब किसान परिवारमा जन्मिएपनि उनको आमाले छोरालाई पढाउनु पर्छ भनेर अनेकन दुःख गरिन । कक्षा पाँचसम्म स्थानीय भालडाँडामा अध्ययन गरेका उनले श्री आदर्श मा वि गजुरीबाट २०४६ मा एसएलसी उत्तीर्ण गरेका हुन् । त्यतिबेला सम्म गाउँमा एसएलसी उत्तीर्ण गर्नेमा उनी नै पहिलो व्यक्ति हुन् ।
उनको बाल्यकाल धेरै कष्टका साथ बितेको थियो । घरको आर्थिक स्थिति साह्रै नाजुक भएका कारण नै उनले चाहेर पनि एसएलसी भन्दा माथि अध्ययन गर्न सकेनन् । गरिबीकै कारण उनमा पैसा कमाउनुपर्छ भन्ने भाव पैदा हुँदै गयो र धादिङकै बेल्खुमा चाइनीज प्रोजेक्टमा काम गर्न थाले । ३ वर्ष जति प्रोजेक्टको काम गरे पछि धादिङको आदमघाटमा किराना पसल गर्न थाले । त्यसपछि उनी ५० हजार रुपैंया बोकेर २०५० सालमा काठमाडौ छिरे ।
काठमाडौ प्रवेश पछि उनको जीवन झन् संघर्षपूर्ण बन्नपुग्यो । करिब ६ वर्ष काठमाडौको रविभवनमा किराना पसल गरे ।
आफ्नो भविष्य कोर्ने आफैंले हो
संघर्ष गर्नुपर्छ भन्ने मान्यता राख्ने श्रेष्ठ भन्छन्, ʽमलाई के लाग्छ भने व्यापार ब्यवसाय गर्नुपर्छ, मेरो बाबु बाजेको सम्पति छैन भनेर हरेश खानुहुन्न । मेहनत गर्नुपर्छ, आफ्नो भविष्य कोर्ने भनेको आफैंले हो । दुःख नगरी फल पाईन्न । दुःख गरिरहनु पर्छ, आफ्नो स्तर अनुसार दुःख गर्न छोड्नु हुँदैन । मैले पहिले धेरै दुःख गर्थें र त होला आज यस स्थानसम्म आएको छु, तर पनि दुःख गर्न छाडेको छैन । ʼ
रविभवनमा पसल गर्दै गर्दा श्रेष्ठले आफ्नै साँईलो दाजुको सल्लाह बमोजिम मिनिट्रक किने । एक, दुई गर्दै मिनिट्रको संख्या ३ पुर्याएका उनले बीचमा पैसाको संकट परेपछि दुईवटा मिनिट्रक बिक्रि गरे । त्यसको केहि समयपछि आफुसँग साथमा रहेको मिनिट्रक पनि दुर्घटनामा पर्यो । घाइतेको उपचार र पुर्ण रुपमा क्षति हुन पुगेको गाडी मर्मत गर्न उनले पसल र मोटरबाट कमाएको सबै सम्पति सके । त्यतिबेला टाट उल्टिएपछि आफुलाई विश्वकर्मा फापेन भनेर व्यवसाय नै परिवर्तन गर्ने सोचमा पुगेका उनी पुनः हिम्मत नहारी संकटकै बेला फाईनान्सबाट ऋण गरेरै नयाँ मोटर खरिद गरे । आज उनको साथमा मिनिट्रक, ट्रक, ट्रिपर स्काभेटर छ ।
उनी भन्छन्, ʽयदि मैले यो व्यवसायलाई छोडेर अन्यत्र हात हालेको भए के हुन्थे होला त्यो सोच्ने गर्छु, त्यसैले मैले सबै साथीहरुलाई हरेश खान हुँदैन भन्छु । व्यापार व्यवसाय भनेको माछाको ढाडमा टेकेर हिंड्ने हो । एकचोटि लडियो भन्दैमा सबै सकियो भनेर नैराश्य हुनुहुन्न । निराश भएमा मानिस झन् तल जान्छ, एकचोटी लडेपछि अब फेरीपनि माथि उठ्छु भन्ने दृढताका साथ सोहिअनुरुप मेहनत गर्नुपर्छ सफल भईन्छ ।ʼ
व्यापार व्यवसायमा एकचोटी घाटा भयो, अब डुबें, मेरो केहि पनि हुँदैन भन्नेहरु कहिल्यै उँभो नलाग्ने श्रेष्ठ बताउँछन् । श्रेष्ठ पनि नील भएको बेलामा हरेश खाएर गाउँतिर भएको भए आज सामान्य किसान परिवारमा धेरै कष्टका साथ जीवन गुजारा गरिरहनु परेको अवस्था हुनसक्दथ्यो भन्ने उनको आफ्नै भनाइ छ ।
फर्केर हेर्दा ओहो ! कहाँ पुगेछु ?
दरिलो आँट र मेहनतका साथ अगाडि बढेका श्रेष्ठ सँग हाल ४ वटा ट्रिपर, ७ वटा ट्रक, ४ वटा स्काभेटरका साथै करिब ३५ जनालाई रोजगारी दिन सफल भएका छन् । त्यस्तै आफ्नै सवारी साधन लिएर यात्रा गर्छन् । उनी भन्छन्, ʽम मोटर चढेर हिंडिरहेको बेला यसो सोच्ने गर्छु, पछाडि फर्केर हेर्दा ओहो ! कहाँ पुगेछु भन्ने लाग्छ । यो मेरो दुःखको फल हो । दुःख गर्यो भने पक्कै फल मिल्छ भन्ने आत्मविश्वास छ मसंग ।ʼ
झमेला हटाउन संगठीत
श्रेष्ठ बाल्यकाल देखि नै सामाजिक सेवामा रुचि राख्थे । आज पनि समाजमा कोही कसैलाई अप्ठ्यारो पर्दा आफु उपस्थित भएर केहि सहयोग गर्ने गर्छन् । २०५४ सालदेखि यातायात क्षेत्रमा आबद्ध उनले साना व्यवसायीको हितमा काम गर्नुपर्छ भनेर शुरुदेखि आवाज उठाउँदै आए । यातायातका क्षेत्रमा समय÷समयमा देखिने गरेका अनेक झमेला हटाउन संगठीत हुनुपर्ने रहेछ भन्ने निष्कर्षका साथ उनी नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति मार्फत अगाडि बढेका हुन् ।
२०६५ सालसम्म अधिकाँस निर्माण सामाग्रीहरु धादिङबाट नै आउने गर्दथ्यो । तर त्यतिबेला निर्माण क्षेत्रमा हात हालेका ठूला व्यवसायीहरुले आफ्नो स्वार्थअनुरुप सानालाई हेप्ने काम गर्दथे । उनीहरुलाई फाईदा हुने भयो र पायक परेमा साना व्यवसायीलाई मालसामान दिने नत्र नदिने गर्दथे । ठूला व्यवसायीहरुको ५० वटासम्म ट्रक, ट्रिपर हुने साना व्यवसायी सँग २/३ वटा मात्र हुने अवस्थाले संधै ठूला व्यवसायीको पेलाईमा साना व्यवसायीहरु पर्ने गरेका थिए । ʽठुलो माछाले सानो माछालाई खानेʼ प्रबृत्तिका कारण गाडीको किस्ता, बैंकको ब्याज, त्यसैबाट आफ्नो र श्रमिकको गुजारा लगायत धान्न साना व्यवसायीलाई मुश्किल पर्न थाल्यो ।
सोही बेला साना व्यवसायीहरु एकजुट भएर सबैले गाडी नचलाउने निर्णय गरेर राजमार्गमै एकतर्फी बाटो बन्द गरी आन्दोलनमा उत्रिँदा केही सहज हुन थाल्यो । आन्दोलनको उत्कर्षमै साना व्यवसायीहरुको एकतामा नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समिति गठन हुन पुग्यो । समितिको संस्थापक अध्यक्ष श्रेष्ठ बने । अनुभव लिंदै व्यवसाय अगाडि बढाएका उनलाई अध्यक्षको जिम्मेवारी झनै चुनौति पुर्ण बन्यो ।
व्यापार ब्यवसायकै साथमा उनले समितिलाई नै बढि समय छुट्ट्याउन थाले । काठमाडौ प्रवेश गरेको करिब १५ वर्षको अबधिमा नचिनेका व्यापारी÷व्यवसायी उनले केहि महिनामै चिन्ने अवसर पाए । समितिमा काम गर्न थालेपछि चिनजान र सम्बन्धका आधारमा उनको व्यापार व्यवसाय झन् बढ्दै गयो । समितिमा लागेकै कारण आज उनी राष्ट्रियरुपमा पहिचान बनाउन सफल भएका छन् । तदर्थ समिति सहित उनी तीन कार्यकाल नेतृत्व गरेर निवर्तमान अध्यक्षको रुपमा उत्तिकै सक्रिय छन् ।
समितिमा चिया खाने पैसा नभएपछि….
श्रेष्ठ भन्छन्, ʽमानिसहरु संस्थामा छिरेर डुबियो भन्छन्, कोहि कोहिले संघ संस्था नै बिगारी दिन्छन् । तर म यो संस्थामा छिरे पछि न संस्था बिग्रन दिएको छु, न त आफु नै बिग्रीएको छु ।ʼ संस्था स्थापनाको विगतलाई सम्झंदै श्रेष्ठ भन्छन्, ʽसमिति स्थापना गर्दा चिया खाने पैसा समेत हुँदैनथ्यो ।ʼकरिव २ सय ट्रिपरबाट सुरु भएको समितिमा हाल १३ सय व्यवसायी आबद्ध छन् ।
श्रेष्ठ अध्यक्ष बनेर संगठीतरुपमा समिति स्थापना गरेपछि त्यसका बिरोधीहरुले यसलाई चल्न दिनुहुन्न भनेर अनेक किसिमका प्रपञ्च अपनाएर सिध्याउन पनि लागिपरे । कतिपय साथीहरु ढाँट राखेर पैसा उठाएर संस्था चलाउनुपर्छ भन्ने मनस्थितिमा पनि थिए । तर श्रेष्ठले संस्थालाई मागी खाने भाँडो र दादागिरी गर्ने थलो बनाउन नहुने निष्कर्ष निकाल्दै समितिलाई व्यवसायीकै योगदानबाट अगाडि बढाउने निर्णय लिए ।
व्यवसायीको काम र समस्या समाधान गरेर संस्था चलाउनुपर्छ, पुगेन भने बरु सबै संगठीत व्यवसायीबाट पैसा उठाएर समिति चलाउनुपर्छ भनेर उनले संस्थालाई निरन्तरता दिलाए । उनको निर्णयमा संगठित सबै व्यवसायीको साथ सहयोग रह्यो । तिनै व्यवसायीको सहयोगले बिगार्ने पक्षलाई लतार्दै श्रेष्ठसंगै समिति पनि स्थापीत बन्यो ।
श्रेष्ठ भन्छन्, ʽमैले गुमाएको केहि छैन, सबै कमाएको छु । यतिधेरै साथीहरु कमाएको छु । पहिले धादिङ काठमाडौ मात्रै सिमित थिएँ, अहिले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको ट्रक ट्रिपरको म वर्गीय संयोजक हुँ । अधिराज्यभर सबैलाई चिन्ने मौका पनि पाईयो ।
घरमा ढोका नखुलेको त्यो दिन
श्रेष्ठको भनाइलाई सापटी लिने हो भने संघसंस्थामा छिरेपछि घरपरिवारबाट धेरै कठिनाई भोग्नुपर्ने हुन्छ । समिति स्थापनाको कालखण्ड सम्झंदै श्रेष्ठ भन्छन्, ʽयो संस्था खोल्दा राती बाह्र–एक बजे घर पुगिन्थ्यो । अहिले कार्यसमितिका रहेका पदाधिकारी एवं सदस्यहरु रातिको एक/दुई बजेसम्म बसेर संस्थाको काममा लाग्थ्यौं । त्यहि संस्थाको काम गर्दा घरपरिवारमा भने समस्या हुने । कतिपय साथीहरुको त घरमै ढोका नखोल्नेसम्मको स्थिति बन्यो । घरका मानिसहरुलाई बुझाउन गाह्रो पथ्र्याे । अहिले त परिवारले पनि बुझे सँस्था पनि आफ्नै गतिमा अगाडी बढेको छ ।
ढाला समायोजनमा अग्रसरता
ʽट्रिपरको ढाला समायोजनको अवस्थामा पनि त्यस्तै कठिनाई भयो । पहिले सुरुमा १० टन बोक्ने सवारीले झण्डै २५ टनसम्म बोक्ने गर्दथ्यो । त्यसले गाडी पनि मार खाने, सडक भत्कने, बिग्रने भयो । यातायात व्यवस्था विभागले पनि तपाईहरु ले सक्नुहुन्छ भने गर्नुस् भनेर आँट दियो । त्यतिबेला धेरै व्यवसायीले हुँदैन पनि भने । व्यवसायीलाई बुझाउन गाह्रो भयो । ढाला समायोजन गरेको आधा र ढाला समायोजन नगरेको आधा मोटर गुड्नथाले । साथिभाईलाई सम्झाउँदै काम गर्दा ढाला समायोजन गर्न सकियो अहिले व्यवसायी पनि खुसी छन् । बाटो बिग्रेको छैन ।
डिग्री पढेकाहरु किन भौंतारिएका ?
लगानी गरेर कडा परिश्रम गर्ने हो भने नेपालमा धेरै क्षेत्रमा सफलता पाउन सक्ने दाबी गर्दै श्रेष्ठ भन्छन्, ʽ हामीसँग पैसा छैन होईन आफ्नो मेहनत गरेर अगाडि बढ्दा सम्भावना सबैतिर छ । म एसएलसी गरेर आएको हुँ । आजसम्म राम्रै छ । यहाँ डिग्री पढेकाहरु बिदेश गएका छन् । यो देशमा केहि गरौं भन्ने हो भने यहाँ धेरै नै सम्भावना छ । लाखौं खर्च गरेर बिदेश गईरहेका छौं । यहिँ काम गरौं, त्यो पैसा यहिँ खर्च गरौं । स्वदेशको पैसा स्वदेशमै बस्दछ । कमाई पनि यसैबाट हुन्छ । महिनाको २ लाख कमाउन सकिन्छ विदेश भौतारिनै पर्दैन ! बिदेशमा गएर गर्ने मेहनत यहीँ गरियो भने आफ्नै देशको विकासमा त्यो पैसालाई सदुपयोग गर्न पनि सकियो । एकैचोटि कमाउने सपनामात्र देखेर जीवन बन्दैन ।ʼ
सुबिधासम्पन्न बृद्धाश्रम बनाउने सोच
चार दशक पार गरिसकेका उनी साँढे पाँच दशकसम्म व्यापार व्यवसाय गरेर अवकासमय आनन्दित जीवन बिताउने सोचमा छन् । त्यसपछि यातायातका संघसंस्थामा लाग्दा आफुले सिकेका कुराहरुलाई अरुसामु हस्तान्तरण गर्ने सोचमा श्रेष्ठ छन् ।
अर्काे, अहिलेको नेपाली समाजमा छोराले बुबा/आमालाई पाल्ने चलन छ । तर परिवर्तनशिल अबको एक दशकपछि नै बृद्ध बा/आमालाई छोराछोरीले समय नै दिन नसक्ने भन्दै उनले काठमाडौमा आधुनिक वृद्धाश्रम संचालनमा ल्याउने लक्ष्य सोच बनाएका छन् । बृद्धाश्रम भनेको बाटोबाट टिपेर ल्याउने अरु सँग दान चन्दा लिएर चलाउने भन्ने होईन । १० /१५ रोपनी जग्गामा चौबिसै घण्टा अनिवार्य डाक्टर, नर्स मन्दिर, सभा तथा व्ययम गर्ने स्थान सहित खुल्ला बातावरण भएको सुबिधायुक्त बृद्धाश्रम बनाउने योजना उनले सुनाए । सो कामका निम्ति आफु जस्तै ८/१० जना साथीहरु मिलेको बताउँदै श्रेष्ठ भन्छन् यसले धेरैका आमा बुबालाई सेवा पुर्याउँछ । २० जनाले ५/५ लाख प्रदान गर्ने हो भने करोड हुन जान्छ । त्यसपछि पब्लिक सेयर हाल्ने व्यवस्था हुनेछ । इच्छा हुनेले आफुुले कमाउन सक्ने अवस्थामै पब्लिक शेयरमा लगानी गर्नेछन् र पछि बृद्धअवस्थामा त्यहि गएर बस्नेछन् ।
(नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका संस्थापक अध्यक्ष यादवलाल श्रेष्ठसंग अर्थतन्त्रका लागि रामेश्वर कार्की र हरिशरण न्यौपानेले गरेको कुराकानीमा आधारित)
प्रकाशित : २२ सुन २०७३
वि.सं.२०७३ साउन २२ शनिवार २०:४३ मा प्रकाशित