
काठमाण्डौं । मनकामना दर्शन प्रालिले मनकामना मन्दिर पुर्निमार्णका लागि ल्याएको विशेष प्याकेज असोज १० गतेसम्म बढाएको छ । कम्पनीले आसपासका होटलसँगको सहकार्यमा मनकामना मन्दिरको पुनर्निर्माणको लागि ‘हामी सबैको पवित्र धरोहर माता मनकामनाको बन्दैछ घर’ भन्ने नारासहित भदौ २० गतेदेखि ३१गतेसम्म विशेष प्याकेज ल्याएको थियो ।
जीवनमा एकपल्ट देख्न पाइने मनकामनाको पुर्ननिर्माणमा बढ्दो सहभागितालार्इ ध्यानमा दिएर सहुलियत प्याकेजको अवधि बढाइएको कम्पनीका कार्यकारी निर्देशक राजेशबाबु श्रेष्ठले बताए । यो प्याकेजमा केवलकारको टिकटमा १५ प्रतिशत छुट हुनेछ। यो वाहेक मनकामना दर्शन प्रालिका टुर अपरेटर बसले पनि थप १५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ। मनकामनाका होटेल व्यवसायीले खाना र कोठामा १५ प्रतिशत छुट दिनेछन् भने डालिमा रिर्सोट्स र रिभर साइड रिर्सोट्सले १० प्रतिशत छुट दिने छन्। मनकामना मन्दिरको पुर्ननिर्माणको काम भइरहेको छ ।
मनकामना जिर्णोद्धारका लागि झन्डै १२ करोड लाग्ने देखिएको छ। त्यसका लागि सरकारले चार करोड रुपैयाँ दिएको छ। यो वाहेक भक्तजनले सहयोग गरिरहेका छन् । मनकामना मन्दिर जिर्णोद्धार समिति, गोरखा उद्योग वाणिज्य संघ, मनकामना बजार ईकाई र मनकामना दर्शन प्रालिले जिर्णोद्धारका लागि विशेष पहल गरिरहेका छन्। एक बर्षभित्र जिर्णोद्धार सक्ने समितिको लक्ष छ।अहिले पचास प्रतिशत काम सकिएको छ। गत बर्ष भूकक्प र नाकाबन्दीका कारण मन्दिर जिर्णोद्धारमा ढिलाइ थियो भने अहिले काठको अभावले काम अघि बढ्न कठिन भएको छ ।
२ असोज २०७३, ११।००
वि.सं.२०७३ असोज २ आइतवार ११:४६ मा प्रकाशित