back
NMB ad

राजधानी टू रारा, कर्णाली अब विकट हैन निकट !

Kumari bank ad

हरिशरण न्यौपाने, मुगु । २०७३ भदौ ३० गते कर्णालीका विभिन्न जिल्लाका पर्यटकीय गन्तव्यहरुको प्रबद्र्धन गर्ने उदेश्य बोकेर पर्यटन व्यवसायी, राजनीतिज्ञ संचारकर्मीसहित देशैभरबाट प्रतिनिधित्व गर्ने दुइ दर्जन व्यक्तिहरु सम्मिलित एक समूह राजधानी काठमाडौबाट राराको यात्रामा निस्कियो । सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो–नेपाल) को आयोजना र नेपाल पर्यटन बोर्डको सहकार्यमा उक्त समूह काठमाडौ–बर्दिया, नेपालगंज हुँदै बाँकेको गाभर भ्यालि होमस्टे, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला सहित मुगुको रारासम्म पुग्यो । राजधानी काठमाडौको मनमा साह्रै गरिब र विकट भनेर चिनीएको कर्णाली र रारासम्मको एउटै यात्रामा १८ जनाको आँखाले कस्तो देख्यो ?

SOTTO PHOTO  (4)

सडकमार्गले जोडिसकेपछि पर्यटकका लागि रारा विकट होईन निकट बनेको छ

सूर्य थापा, प्रमुख, नेकपा (एमाले) पर्यटन विभाग

राराबासदेखि रारातालसम्मको एक साता लामो फार्म टुर अविस्मरणीय रह्यो । खासगरि सडकमार्गमार्फत बाँकेको राराबास, सुर्खेत, दैलेखको गुराँसे, राकम कर्णाली भएर कालिकोट जुम्ला सिंजा हुँदै पीना भएर राराताल पुग्यौं । सडकमार्ग भएर रारातालको छेउ मिलिसम्म मोटरबाट पुगेर छोटो दूरी हिंडेर तालको छेउ पुग्न सक्यौं । त्यस ढंगले सडकमार्गले रारालाई छोईसकेको छ भन्ने मैले पूर्वानुमान गरेको पनि थिईन । यद्दपी सडकबाटो अप्ठेरो छ, अझै स्तरोन्नति गर्न बाँकी छ । अब ट्रयाक खुलेको छ । यो एउटा पर्यटकका लागि विकट होईन निकट बनेको छ । यसको प्रबद्र्धन, बजारीकरण गर्न सकिन्छ । राराताल कुनै एउटा तालमात्र होईन संसारकै सुन्दर गन्तव्य हो । अहिलेसम्म यसले जुन सुन्दरता पस्किरहेको छ, त्यसको पारख गर्न आन्तरिक तथा बाह्य पर्यटकले सकिरहेको छैनन् । जुन संख्या रारामा पुग्नुपर्ने हो त्यो पनि अत्यन्तै न्यून छ । यहि स्थितिलाई चिर्नको लागि सोसाईटी अफ ट्राभल एण्ड टुर अपरेटर्स (सोट्टो–नेपाल) को आयोजनामा राराबास देखि रारातालसम्मको फार्म टुर र गन्तव्य प्रबद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।

मेरो अनुभवमा रारा दुई ढंगले सजिलै पुग्न सकिन्छ । एउटा करिब ७/८ दिनको प्याकेज बनाएर जाँदा सडकमार्ग बाट सजिलै रारासम्म पुग्न सकिन्छ । दोस्रो काठमाडौ–नेपालगंज–ताल्चा विमानस्थल भएर यति र ताराको उडानबाट पुग्न सकिन्छ । ताल्चाबाट करिब ३ घण्टाको उकालो हिंडेपछि राराताल पुग्न सकिन्छ । र भोलिपल्ट तालको सबै दृष्याबलोकन र बोटिङ कार्य सकेर ताल्चा विमानस्थल फर्केर तेस्रो दिन काठमाडौ फर्कन सकिन्छ । यस हिसाबले रारा टाढा पनि होईन । कर्णालीको बिम्ब जुन विकट, पिछडिएको भन्ने छ । त्यो विकट र पिछडिएको भन्ने बिम्ब हटाउने हो भने रारा अप्ठेरो छैन । मलाई लाग्छ, एक दर्जन व्यवसायी, पत्रकार साथीहरु, राजनीतिक, प्रशासनिक तहका जिम्मेवार व्यक्तिहरु सहितको यो फार्म टुर रारा पुगेको सबैभन्दा धेरै व्यवसायी र सामूहिकरुपमा पुगेको सबैभन्दा ठूलो टिम हो ।
यद्दपी रारामा राष्ट्रपति प्रधानमन्त्री, विभिन्न मन्त्री पुग्ने कुरो कुनै नौलो अनौठो होईन । यो धेरै पहिलेदेखि यो क्रम चलेको छ । तर यसको व्यवसायीक प्रबद्र्धन र विकास, बजारीकरण र प्रतिफल आर्जनको काममा ध्यान दिइनुपर्छ । हवाई, सडक र पदयात्रामार्ग यी तीनवटै मार्गबाट जान सकिने प्याकेज बन्नुपर्छ । ती प्याकेजलाई व्यवसायीले प्रबद्र्धन गर्नुपर्छ । बिद्यमान संरचना अन्तर्गत नै हवाईमार्गबाट महिनामा १० हजार पर्यटन पुग्न सम्भव छ । सडकमार्गबाट सोही संख्यामा पर्यटकहरु पुग्न सक्छन् । कर्णालीका साथै राराको पर्यटन प्रबद्र्धन गर्न यो फार्म टुर कोसेढुंगा साबित भएको छ ।

कर्णालीबासी र ६ नं प्रदेशका लागि यो यात्रा लाभदायी

बलबहादुर महत, साँसद एवं पूर्व पर्यटन राज्यमन्त्री

म यसै क्षेत्र जुम्लाको साँसद र पूर्वपर्यटन राज्यमन्त्री भएको हिसाबले मेरो कार्यकालमा यस क्षेत्रमा आफुले सकेको रकम यहाँको पर्यटन विकासमा बिनियोजन गरेको छु । यसैबीच सोट्टो–नेपालले पनि बाँकेको राराबासदेखि मुगुको रारातालसम्मका लागि मलाई निम्तो दियो । मुटुरोगी भएपनि औषधि खाएरै कर्णालीको पर्यटनको अवस्था र आफु पर्यटन राज्यमन्त्री भएको बेला बिनियोजित बजेटबारे जनतालाई सन्देश दिनु पनि थियो । ती आएका योजना राम्रो सँग संचालन गर्नुहोला भनेर जनतालाई भन्नका लागि मुटुरोगको परवाह नगरी मोटर बाटो भएर नै काठमाडौबाट रारासम्म आएँ । सोट्टो–नेपालले पर्यटन प्रबद्र्धनका निमित्त यो उदाहरणीय काम गरेको छ । काठमाडौमा बसेका व्यवसायी र एउटा व्यवसाय चलाईरहेको मानिसहरु मोटर अर्थात पैदल मार्ग अर्थात् कैयौं ठाउँमा हिंडेका छौं । समयमा खान, सुत्ने, बस्ने कुनै परबाह नगरि मुगुको रारासम्म आउनु सह्राहनीय काम हो । म कर्णाली÷जुम्लाको साँसद पनि भएको हिसाबले सोट्टोको यो अभियानलाई धन्यवाद दिन चाहन्छु । संस्थाप्रति आभारी छु । साथीहरुको मानवीय व्यवहार पनि देखें । कर्णालीबासी र ६ नं प्रदेशका लागि यो यात्रा लाभदायी बन्नेछ, यहाँको पर्यटनको प्रबद्र्धन र यसको व्यवसायीकरण हुनेछ भन्ने ठानेको छु ।

अब पर्यटकहरु बढ्नेछन्, स्थानीयले लाभ पाउनेछन्

यमबहादुर खड्का, अध्यक्ष, सोट्टो नेपाल
एउटा सकारात्मक सन्देश दिने र कर्णालीका पर्यटकीय सम्भावनाको प्रचार प्रसार र प्रबद्र्धन गर्दै पर्यटन प्याकेज तयार गर्ने मुल उदेश्य राखेर हामी यहाँ आएका थियौं । यहाँ आईसकेपछि केन्द्रमा बसेर सोचिरहेको कर्णाली र मुगुको रारासम्म आउने सडक बाटोमा धेरै भिन्नता पाईयो । काठमाडौ बसेर रारा साह्रै विकट छ,बाटोमा अबरोध होला, पुग्नै कठिन छ भन्ने थियो । तर त्यो रहेनछ । अब हामीले आफ्नै आँखाले हेरेपछि सहजै प्याकेज कार्यक्रमहरु अगाडि बढाउन सक्छौं  । बाँकेको गाभर भ्याली हुँदै रारासम्म आउने पर्यटकहरु बढ्नेछन्, स्थानीयले लाभ लिनेछन् । हवाई र सडकमार्ग दुवै हिसाबले मानिसको समय र बजेटअनुरुप पर्यटन प्याकेजहरु अगाडि बढाउनेछौं ।

मध्यपश्चिमको कर्णाली र सुदूरपश्चिम भविष्यका मुख्य पर्यटकीय गन्तव्य हुन्

मणि लामिछाने, निमित्त निर्देशक, नेपाल पर्यटन बोर्ड

म १९९८ देखि नै नेपालको पर्यटनमा प्रत्यक्षरुपमा संलग्न छु । नेपालको पहिलो ट्रेकिङ कम्पनी टाइगर टप्समा सहभागी भएर जुम्लादेखि रारासम्मको ५ देखि ७ दिनको ट्रेकिङ बेच्ने काम गरिरहेको हो । तर आफैंले भने ट्रेकिङ गर्न पाएको थिईन । त्यै भएर सोट्टोको यो कार्यक्रममा म जुम्लादेखि रारासम्म सहभागी भए । बिबिध संस्कृति, नेपाली खस भाषाको उत्पतिथलो सिंजा, अथाह प्राकृतिक सम्पदा लगायत यो क्षेत्र एकदमै सम्भावीत क्षेत्र हो ।  त्यस्तै यो क्षेत्र विकट भनेर जति विज्ञापन गरिएको थियो, अब त्यस्तो रहेनछ । मध्यपश्चिम कर्णाली र सुदूरपश्चिम भविष्यका मुख्य पर्यटकीय गन्तव्य हुन् । यीनीहरु भर्जिन गन्तव्य हुन् । नेपालको ग्रामिण भेगको अनुभव गर्न यी दुईवटा क्षेत्र सबैभन्दा उत्तम छन् । पर्यटन बोर्डले पनि यी दुई क्षेत्रलाई विशेष केन्द्रित गर्न खोजिरहेको छ ।

Karnalai 4

पर्यटक पठाउन अरुलाई उत्प्रेरित गर्दै प्याकेज बनाएर बिक्री गर्छु

मधुसुदन उपाध्याय, सदस्य, तारा गाउँ विकास समिति

म सोट्टो नेपालको महासचिव पनि भएकाले सोट्टो नेपाल स्थापना भएदेखि नै हामी पर्यटन प्रबद्र्धनमा अग्रसर छौं । ग्रामिण पर्यटन प्रबद्र्धनमा ८ वर्षको अबधिमा १६ वटा गन्तव्य घुमेर त्यसको प्रबद्र्धन गरिसक्यौं । प्रत्येक वर्ष २ वटा गन्तव्यको प्रबद्र्धनमा सोट्टोका पदाधिकारी एवं व्यवसायी स्वयं पुगेर प्रबद्र्धन गरिरहेका छौं । म व्यवसायी भएको हिसाबले कर्णालीका विभिन्न जिल्लाहरु हुँदै रारासम्म आउँदाको अनुभवलाई संस्थागत र व्यापारिक दृष्टिकोणले विकास गर्छु । म स्वयं आएर रारासम्मको अवलोकन गरेपछि अब रारा आउनेहरुलाई कसरी पठाउने ? कहाँ राख्ने ? के खुवाउने होला ? भन्ने अन्यौल रहेन । पर्यटक पठाउन अरुलाई पनि उत्प्रेरित गर्नेछु । प्याकेज बनाएर बिक्री गर्नेछु ।

कर्णालीका लुकेका गन्तव्यलाई चिन्ने र चिनाउने काम भएको छ

भीम केसी, अध्यक्ष,होमस्टे एसोसियसन नेपाल

म देशका धेरै ठाउँ घुमेको छु । सुर्खेत कालिकोट हुँदै रारा आउने पहिले देखिकै सोच थियो । सोट्टो–नेपालको आयोजनामा भएको फार्म टुरमा बाँकेको गाभर भ्यालि देखि सुर्खेत, दैलेख, कालिकोट, जुम्ला हुँदै मुगुको रारातालसम्म आईपुग्दा जिल्ला जिल्लामा पर्यटन अन्तक्रिया गर्दै, लुकेका गन्तव्यहरुलाई चिन्ने र चिनाउने काम भएको छ । यसले ग्रामिण पर्यटनको प्रचार प्रसारमा महत्वपूर्ण सहयोग पुर्याएको छ । टुर अपरेटरहरुले अब यसलाई आफ्नो गन्तव्य बनाएर पर्यटकलाई ल्याउने काम हुन्छ । हिजो यहाँको पर्यटन प्याकेज सुनेको भरमा बनाउनुपर्दथ्यो भने आफैंले हेरेको आधारमा काम गर्न सकिन्छ । लुकेको गन्तव्यलाई चिनाउने र यसको बजारीकरणमा सोट्टोको अभियान उपलब्धीपूर्ण छ ।

रारासम्म सहजरुपमा आइयो यात्रा धेरै राम्रो र आनन्ददायक भयो

मनोजकुमार चौधरी, पर्यटन व्यवसायी

मैले कर्णालीमा आएर आफुले सोच्दै नसोचेको नयाँ अनुभव बटुलें । बर्दिया–बाँकेमा गाभरभ्याली होमस्टेमा बसेर त्यहाँको अनुभव लिए । मेरो घर तराई जनकपुर हो । पहाडमा जाँदा खोल्सी छेउ सानो तिनो घरमा बस्नुपर्ने होला भन्ने लागेको थियो । त्यहाँ साह्रै कष्ट हुन्छ होला । खुल्ला तराईमा बसेको मानिसलाई त्यहाँ धेरै गाह्रो हुन्छ भन्ने सोचेको थिएँ । तर होमस्टेमा बस्दा र त्यहाँको बासिन्दाको स्वागत, स्थानीय खानाको परिकारले मलाई साह्रै मोहित बनायो ।
त्यस्तै कर्णालीमा मोटरबाटो नपुगेको, साह्रै विकट भन्ने सुनेको थिए । त्यस्तो रहेनछ । खोला, पहिरोका कारण केहि स्थानमा समस्या देखिएपनि स्थानीय प्रशासनले थोरै मात्रमा ध्यान दिएमा यस्तो सानोतिनो अबरोधहरु केहि पनि होईन । रारासम्म सहज आयौं यात्रा धेरै राम्रो र आनन्ददायक भयो ।

एकचोटी पुगेर हेर्नैपर्ने ठाउँ हो रारा

भुवनदेवी महर्जन, पर्यटन व्यवसायी

नेपालका डाँडाकाँडाको मोटर बाटो न हो केहि अप्ठेरो भइहाल्छ । कर्णालीका सबै स्थान सुन्दर छन् । त्यसमा जुम्ला झनै सुन्दर लाग्यो । रारा तालमा आईसकेपछि त यात्राका सबै थकान बिर्सियौं । काठमाडौ बस्दा कर्णाली साह्रै विकट र पिछडिएको क्षेत्र हो । रारा पुग्नै सकिन्न भन्ने सुनेको थिएँ । तर त्यस्तो लागेन । सडक संजालले जोडेको छ । यद्दपी स्थानीय प्रशासनले सडकमा सुधार गर्नुपर्ने देखिन्छ । म आफु नै यहाँ आईसकेपछि एकचोटी पुगेर हेर्नैपर्ने ठाउँ हो रारा भनेर सबैलाई भन्न चाहन्छु ।

साहसिक पर्यटनका लागि उर्वर मध्यपश्चिम

सूर्यप्रकाश तिवारी, पर्यटन व्यवसायी

कर्णाली मेरो पहिलो अनुभव हो । नयाँ ठाउँ, नयाँ सस्कृति, नयाँ भौगोलिक बनावट, नेपालको सबैभन्दा ठूलो राराताल हेर्ने अवसर पाईयो । त्यसले पनि यात्रा उपलब्धीपूर्ण रह्यो ।
कर्णाली एकदमै गरिब, पिछडिएको र केहि खानै नपाउने भन्ने सुनिन्थ्यो । तर त्यो विल्कुलै होईन रहेछ । यहाँ प्रशस्त उत्पादन हुने रहेछ । स्याउहरु उत्पादन हुने, जडिबुटी उत्पादन हुने, खाद्यबालीको उत्पादन पनि राम्रै देखियो । तापनि असल व्यवस्थापनको खाँचो छ । विकट त विकट नै रहेछ, तर अहिले कर्णाली राजमार्गले धेरै सुगम बनाएको रहेछ । साहसिक पर्यटनका लागि मध्यपश्चिम उर्वर छ । रारासँगै यस वरिपरिका क्षेत्रहरुलाई मिलाएर पर्यटन प्याकेजको विकास गर्नुपर्नेछ ।

Karnali1

राराको  सुन्दरतालाई आएर मात्रै अनुभुती गर्न सकिन्छ, शब्दमा वर्णन गर्न सकिन्न

बिन्दु प्रधान, पर्यटन व्यवसायी

हामी काठमाडौबाट नेपालगंज हुँदै ʽराराबास देखि रारातालसम्मʼ भन्ने स्लोगानसहित आएका थियौं । गाभर भ्यालीमा ग्रामिण परिवेश कस्तो हुन्छ भन्ने अनुभुती गर्ने अवसर पायौं । कर्णालीका सबै जिल्लाहरु साह्रै सुन्दर लाग्यो । काठमाडौमा बसेर सोचेको र किताबमा पढेको भन्दा कर्णाली बेग्लै र साह्रै सुन्दर लाग्यो । जुम्ला एकदमै दुर्गम भन्ने सुनेको थियौं । सडक संजालले सहजै जोडिएको हुँदा त्यस्तो महशुस भएन ।
लामो यात्रा बाटोमा अलिअलि कठिनाई भएपनि राराको सुन्दरताले त्यो सबै बिर्सायो । र राराको सुन्दरतालाई यहाँ आई हेरेर मात्र अनुभुती गर्न सकिन्छ, शब्दमा वर्णन गर्न नै सकिन्न । त्यसैले सबैलाई एकपटक रारा पुग्नैपर्ने ठाउँ रहेछ भन्न चाहन्छु ।

Karnali6यति माथि उचाईमा यती ठूलो राराताल !

विष्णुप्रसाद भण्डारी, पर्यटन व्यवसायी

तराई भित्री मधेसको गाभर भ्याली, त्यहाँको सेवा र स्वागत,सत्कार र बसोबास साह्रै उत्तम लाग्यो । वर्षाको समय नेपालको बाटो देशैभर पहिरो लगायत यस्तै न हो । सामान्य अबरोध छिचोल्दै रारासम्म आयौं । पश्चिम पहाडका बाटोहरु हिंड्नै नसक्ने अवस्थामा छन्, दुर्घटनायुक्त छ भन्ने सुनिन्थ्यो, त्यस्तो लागेन । मोटरबाटोबाट सहज यात्रा गर्न सकिने कर्णाली एकदमै सुन्दर रहेछ । अचम्म त यति माथि उचाईमा यती ठूलो राराताल रहेछ । यो ताललाई विश्वले हेर्नुपर्छ भन्ने लाग्छ ।

अनुदान र राहतका आधारमा मात्र कर्णालीका मानिसहरु बाँच्छन् भन्ने सुनेको थिएं…

इन्दिरा गौत्तम, पर्यटन व्यवसायी

सडकबाटोमा केहि थकान महशुस भएपनि रारा आएपछि सबै भुलियो । यहाँको प्रकृति, संस्कृति लगायत हर कुराले मन छोयो । नराम्रो भन्ने नै केहि छैन । हामीले कर्णाली एकदमै विकट, गाह्रो छ । अनुदान र राहतका आधारमा मात्र कर्णालीका मानिसहरु बाँच्छन् भन्ने सुनेको थिए । त्यस्तो होईन रहेछ । एक दुई ठाउँलाई छोडेर अरु ठाउँको विकास भएको र यस्तो विकट ठाउँमा सडक सञ्जालले जोडिएर यात्रा सहज बन्नु धेरै राम्रो हो । रारासम्म पर्यटक पठाउन चाहिने आधारभूत पूर्बाधारहरु जस्तै बस्ने सुबिधा, सरसफाई, होमस्टे, लज रिसोर्टको विकास गर्नुपर्ने देखिन्छ । मनोरञ्जन लिन चाहनेले पैसा तिरेर आरामदायीरुपले बस्न सकोस् र स्थानीयलाई बढिभन्दा बढि फाईदा पुगोस् यतातर्फ ध्यान दिनुपर्छ ।

धर्तीको अप्सरा हेर्छु भन्ने लाग्छ भने रारासम्म आउन तयार हुनुस् !

सुशील नेपाल, पर्यटन व्यवसायी

काठमाडौमा रहँदा नै सबैले रारा,रारा भन्थे । ओहो ! कस्तोे होला भन्ने थियो । रारा सँँच्चिनै सुन्दर रहेछ । सडकबाटोको यात्राको थकान रारालाई देख्नासाथ भुलिएछ । साह्रै आनन्द लाग्यो । म नेपालका करिब ५२ जिल्ला घुमेको छु । तर यो खालको आनन्द कहिँपनि पाएको थिईन । अरुले रारा धर्तीको अप्सरा भनेर जिस्केर भनेको होला जस्तो लागेको थियो । तर रारा साँच्चै धर्तीको अप्सरा रहेछ । केहि दुःख भोगेर धर्तीको अप्सरा हेर्न जान्छु भन्ने हो भने रारासम्म आउन तयार हुनुस् भन्न चाहन्छु ।

प्राकृतिक सौन्दर्यले मन्त्रमुग्ध बनायो

देवीप्रसाद सापकोटा, संचारकर्मी

कर्णालीका जिल्लाहरु र रारातालको अवलोकन भ्रमण मेरो धेरै पहिलेदेखिको इच्छा हो । जुन यतिखेर पुरा भएको छ । दुई दिनको राराको बसाई,प्राकृतिक सौन्दर्यले मन्त्रमुग्ध बनायो । पर्यटन सँग सम्बन्धीत संस्था सोट्टो नेपालको यो पर्यटन प्रबद्र्धन र प्याकेज निर्माण कार्य निकै उपलब्धीपूर्ण कार्य हो भन्ने लागेको छ । देशको पर्यटन उद्योगको विकास र विस्तारका लागि सोट्टोले गरेको कार्य सह्राहनीय छ । कर्णालीमा पर्यटनको सम्भावना पनि उत्तिकै छ ।

रारा प्राकृतिरुपले सुन्दर र भर्जिन छ

प्रज्ञाराज सापकोटा, पर्यटन व्यवसायी

म पर्यटन क्षेत्रको अध्ययन अनुसन्धान पनि गर्छु । रारालाई नदेखि मैले किताबमा हेरेर धेरै पढाएँ । तर यहाँ आउँदा साह्रै सुन्दर पाएँ । फरक किसिमको भौगोलिक अवस्था, भिन्न किसिमको संस्कृति, फरक–फरक हावापानीका साथै सडकबाटोको अनुभव गरियो । बाहिर सुनेजस्तो मुगुमा बाटो छैन । कर्णालीका बाटोघाटो एकदमै डरलाग्दो देखाईएको थियो । त्यस्तो गाह्रो रहेनछ । आउनका लागि समय त लाग्छ नै । यतिको उचाईमा यति ठूलो ताल हुनु प्रकृतिको योे सुन्दरता संसारमा अरु कुनै ठाउँमा पाइन्न । विदेशमा कृतिम ताल बनाएर मानिसहरुले धेरै खर्च गर्ने गरेका छन् । तर यहाँ त प्राकृतिक ताल त्यो पनि भर्जिन छ । यसको प्रचार प्रसार बस्ने बासका सुबिधा, टि हाउसहरुको विकास गर्नुपर्ने देखिन्छ ।

Karnali5
सडक संजालले जोडिएसँगै कर्णालीमा विभिन्न अवसरको ढोका खुलेको रहेछ

दीपेन्द्र श्रेष्ठ, संचारकर्मी

कर्णालीप्रति अरुले दिएको सूचनाका आधारमा मैले नकारात्मक धारणा बनाएको थिएं । यहाँ आएपछि त्यो सबै मेटियो । कर्णाली अति दूर्गम केहि पनि गर्न नसक्ने ठाउँ भनेर सोच्ने गरेका छौं । विल्कुल त्यस्तो होईन रहेछ । सडक संजालसँग जोडिएसँगै कर्णालीमा विभिन्न अवसरको ढोका खुलेको रहेछ । अब कर्णालीबासीलाई माछा मारेर दिने होईन, माछा मार्ने जालो दिन सक्नुपर्छ, माछा मार्ने सिप प्रदान गर्नुपर्छ । अब कर्णालीबासीहरु स्वाबलम्बन हुनसक्छन् भन्ने मैले अनुभूति गरेको छु । त्यस्तै रारा अति सुन्दर छ । यहाँको प्रकृति नै सबैभन्दा राम्रो र अद्भुत छ । यो प्रकृतिको उपहारलाई आर्थिक उपार्जनमा प्रयोग गर्नुपर्छ ।

साँच्चै प्राकृतिकरुपले भरिपूर्ण कर्णाली र आनन्दपूर्ण रारा लाग्यो

राजु बास्कोटा, संचारकर्मी

बाँकेको गाभर भ्यालीबाट रारासम्मको सडक यात्राले सडक बाटोमा थकान महशुस हुने त भैहाल्छन् । तापनि यात्रा अबधिभर पुरै मनोरञ्जन लिइयो । हवाईजहाजबाट आएको भए यति रमाईलो हुन्न थियो होला भन्ने लाग्छ । आजसम्म म धेरै ठाउँमा घुम्न गएँ । तर सुख दुःख गर्दै यति धेरै रमाईलो र आनन्द कहिँ पनि महशुस भएको थिएन । रारा आएपछि केहि भएका पिडाहरु पुरै भुलियो । साँच्चै प्राकृतिकरुपले भरिपूर्ण कर्णाली र आनन्दपूर्ण रारा लाग्यो ।

अब जुम्लामा २० किलो चामल होईन विकास चाहिएको रहेछ

जनार्दन अर्याल, फोटो पत्रकार

काठमाडौले मलाई दिएको खबर रारा साह्रै विकट ठाउँमा छ भन्ने हो । मलाई धेरैले रारा पुग्ने आँटै नगर्नु पनि भनेका थिए । तर त्यस्तो रहेनछ । बाटोमा हिंड्दा अलिअलि दुख त भईहाल्छ । जुम्ला विकट भनेर २० किलो चामल दिने प्रधानमन्त्रीको निर्णय नै आयो । अब जुम्लामा २० किलो चामल होईन विकास चाहिएको रहेछ । मलाई त काठमाडौ छोडेर जुम्लामै बसौं जस्तो लाग्यो । रारामा पुग्दा त बाटोमा भएका सबै थकान मेटियो । कर्णाली अञ्चलका केहि जिल्ला बाहेक खान नपाउने पनि कोहि छैनन्, गर्न नसक्ने पनि कोहि छैनन् भन्ने लाग्यो । सडक संजालले जोडिएको हुनाले यो क्षेत्र अब विकट र पिछडिएको क्षेत्र रहेन । अब सहजै रारा पुग्न सकिन्छ र पुग्नैपर्ने ठाउँ रहेछ भन्न चाहन्छु ।

SOTTO PHOTO  (2)

प्रकाशित मितिः २०७३ असोज १३

वि.सं.२०७३ असोज १३ बिहीवार १४:३७ मा प्रकाशित

You can share this post!

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...