काठमाडौ । मर्जर पुरा गरी एकीकृत कारोबार सुरु भएको लामो अबधिसम्म पनि शेयर कारोबार नखोल्ने कम्पनीहरुलाई धितोपत्र बोर्डले कारबाही गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसै क्रममा बुधबार बोर्डले गोर्खाज फाइनान्सले एकिकृत कारोबार सुरु गरेको छ महिनासम्म पनि सेयर किनबेच किन नखुलाएको भन्दै पत्र काटेको छ ।
असारमै सेयर अभिलेखिकरण गराए पनि दोस्रो बजारमा कारोबार खुलाउन आलटाल गरेपछि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई बुधबार तीन दिने प्रष्टिकरण सोधेको बताएको छ।
यति लामो समय पनि किन कारोबार नखुलाएको हो कारण सहित तीन दिन भित्र जवाफ दिन कम्पनीलाई लेखि पठाएको वोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए।
बोर्डले केहि समय अघि एक नीतिगत निर्देशन जारी गर्दै मर्जरमा गएका कम्पनीले एकिकृत कारोबार सुरु गरेको १५ दिन भित्र सेयर किनबेच खुलाइ सक्नु पर्ने बताएको थियो। गोर्खाजले त्यो निर्देशनलाई समेत वेवास्ता गरेको बोर्डले जनाएको छ ।
फाइनान्सले गत २८ चैतबाट एकिकृत कारोबार सुरु गरेको थियो।
प्रकाशित मितिः २०७३ कार्तिक ३
वि.सं.२०७३ कात्तिक ३ बुधवार १५:४२ मा प्रकाशित