
काठमाडौ। एसियाली विकास बैंक (एडिबी)ले लगानी गरेका परियोजनाको कार्य प्रगति सन्तोषजनक हुन नसकेकाले सुधारका लागि सबै पक्षले कडाइका साथ कार्यान्वयनमा ध्यान केन्द्रित गर्न जोड दिइएको छ ।
एडिबीले अर्थ मन्त्रालयमा आयोजना गरेको त्रिपक्षीय समीक्षा बैठकमा प्रस्तुत प्रतिवेदनका अनुसार एडिबीको लगानी रहेका कुल ३२ परियोजनाको कार्य प्रगतिमा सुस्तता आएको छ ।
एडिबीका अनुसार ती परियोजनाका लागि कुल एक अर्ब ७३ करोड अमेरिकी डलर सम्झौता भएको मध्ये सन् २०१६ को चौथो चौमासिकसम्म एक अर्ब १४ करोड ५० लाख अमेरिकी डलर बराबर अझै खर्च हुन सकेको छैन । जुन नेपालको कुल गार्हस्थ्य उत्पादनको छ प्रतिशत हो ।
परियोजनामा कार्यरत कर्मचारीको बारम्बार सरुवा, परियोजनामा पर्ने जग्गा अधिग्रहण तथा वातावरणीय सफाइ र भूकम्पपछिको पुनःनिर्माणका लागि सञ्चालित आपत्कालीन सहायता परियोजनाको कमजोर कार्यान्वयन एडिबीको परियोजनाको कार्य प्रगतिमा सुस्तता आउनाका मुख्य कारण भएको औँल्याइएको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक ४
वि.सं.२०७३ कात्तिक ४ बिहीवार १८:४४ मा प्रकाशित