
काठमाण्डौं । हिजो बिहिबार सम्पन्न विषेश साधारणसभाले महासंघको विधान २०४९ को संसोधन पारित गरेपछि निजी क्षेत्रको छाता संस्था रहेको नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षमा भवानी राणा स्वतः पुग्ने बाटो खुलेको छ ।
विधानमा गरिएको संसोधन तत्काल कार्यान्वयनमा जाने भएको छ । संसोधित विधान प्रमाणीकरणका लागि जिल्ला प्रशासन कार्यालयमा पठाउने र त्यहाँबाट आएपछि लागु हुनेछ । संसोधित विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको छ।
नयाँ विधान अनुसार आगामी साधारणसभामा अध्यक्षको ठाउँमा वरिष्ठ उपाध्यक्षको चुनाव हुनेछ। संसोधित विधानले महासंघको संरचना पनि परिवर्तन गरेको छ। मुलुक संघिय ढाँचामा गएको हुँदा त्यहि अनुरुप प्रदेश प्रमुखहरु पनि चयन गर्ने व्यवस्था विधानले गरेको छ। सम्बन्धित प्रदेशले नै आफ्नो प्रमुख चयन गर्नेछ।
भवानी राणा निजी क्षेत्रको सबै भन्दा ठूलो संगठन हाँक्ने पहिलो महिला नेतृ बन्ने भएकी छिन्। आउँदो चैतमा हुने साधारणसभा पछि उनी स्वतः अध्यक्ष बन्नेछिन्। आगामी चैत २६ पछि उनले कार्यभार सम्हाल्नेछिन्। नेपालगञ्जमा होटल चलाउने भवानीको बर्दियामा व्यवसायी खेतीवाली समेत रहेको छ। जिल्ला नगर समुहबाट महासंघको राजनीतिमा प्रवेश गरेकी उनी उपाध्यक्ष हुँदै वरिष्ठ उपाध्यक्ष बनेकी हुन्।
५ कार्तिक २०७३, ११।००
वि.सं.२०७३ कात्तिक ५ शुक्रवार ११:०० मा प्रकाशित