
हरिशरण न्यौपाने, काठमाडौ । पछिल्लो समय धेरै मानिसहरु सेयर बजारप्रति आकर्षित भईरहेका छन् । तर ती सबैलाई सेयर बजारमा अनियमितता र अपराध हुन्छन् भन्ने थाहा नहुन पनि सक्छ । एउटा निश्चित समूह वा व्यक्तिले संधै फाईदा लिईरहने तर सर्वसाधारण लगानीकर्ताहरु भने मर्कामा परिरहने पनि हुनसक्छ ।
हो,त्यसैले तपाई आफु पनि सेयर बजारमा हुनसक्ने अनियमितता वा अपराधप्रति चनाखो बन्नुहोस् । संघै होशियार बन्नुहोस् । होईन भने जुवातास खेलेर सम्पती सिध्याएजस्तै गरि सेयरको कारोबारले पनि तपाईलाई सिध्याउन सक्छ ।
सेयर बजारमा यस्तै धेरै किसिमका अपराध हुने गर्दछन् । त्यस्तैमा पुलिंग (POOLING) अपराध पनि एक हो ।
के हो त पुलिंग अपराध भनेको ?
औपचारिक वा अनौपचारिक हिसाबबाट सेयरको मूल्य परिवर्तन गराएर आफुलाई बढि फाईदा लिने प्रक्रियालाई पुलिंग भनिन्छ । यस्तो कारोबारमा लगानीकर्ताहरुले समूह बनाई आफैं बीचमा नै सेयरको किनबेच गर्ने गर्दछन् । उनीहरुले संगठीतरुपमा नै आफू–आफैंबीच सेयर किनबेच गर्दछन् ।
यस्तो गर्नुको प्रमुख उदेश्य भनेको बजारमा कुनै कम्पनीको सेयर धेरै कारोबार भएको देखाउनु हो । अर्काे सेयरको मूल्य बढाउने र थप लगानीकर्तालाई बजारमा आकर्षित गरी बढि मूल्यमा सेयर बिक्री गरेर नाफा कमाउनु नै हो ।
यस्ता समूहमा संगठीतहरुले अनधिकृतरुपमा नाफा आर्जन गर्न खोज्छन् । यी र यस्ता लगानीकर्ताहरु यस्तै–यस्तै विभिन्न क्रियाकलापमा सक्रिय हुन्छन् । उनीहरुको चिया गफ पनि यस्तैमा बित्ने गर्दछ । डिनर पार्टी पनि यस्तैमा बित्ने गर्दछ ।
यस्ता कारोबारी कसैले पुँजी जुटाउँछन् । कसैले कम्पनीको आन्तरिक सूचना संकलन गर्दछन् त कसैले यी र यस्ता सम्पूर्ण कुराको व्यवस्थापन गर्दै जान्छन् ।
सोच्दै नसोचेको हिसाबले सेयर मूल्यलाई एक्कासी बढाउँदै गएपछि बजारमा भएका अन्य लगानीकर्ताहरु पनि अझै मूल्य बढ्ने आसमा झन्–झन् लगानी गर्न उत्साहित हुन्छन् । कारण सेयरको माग ह्वात्तै बढ्नजान्छ ।
हो, यहि समयमा पुलिंगका सदस्यहरुले कम मूल्यमा किनेको वा संगठीत समूह सक्रिय बनाएर बढाएको सेयर बिक्री गरिदिन्छन् । उनीहरुको यस्तो सल्लाह हुन्छ कि समूहगतरुपमा रहेका सबै सदस्य बजारबाट बाहिरिन्छन् । अब कुनै आधारबिना संगठीत समूहले बढाएको सेयरको मूल्य क्रमैसँग घट्दै जान्छ । मूल्य उच्च अंकमा पुगेको बेला सेयर किनेका लगानीकर्ताहरु मर्कामा पर्छन् वा घाटामा जान्छन् ।
यो सेयर बजारको एक अपराध हो । सेयरको मूल्य एकाएक बढिरहँदा कतै तपाईले त्यो मूल्य किन बढ्यो भनेर अध्ययन गर्नुभएको छ ? सामान्य लगानीकर्ताहरु साँच्चै सेयर कारोबारमा कम्मर कसेर लाग्नुभएको छ भने यी र यस्ता क्रियाकलाप वा कारोबार कोहि/कतैबाट भएका छन् कि ! चनाखो बन्नुहोला ।
होइन भने तपाईले सेयरको मूल्य उच्च भएको बेला किनेको सेयरले नै सम्पूर्ण रकम डुबाउन/गुमाउन बाध्य हुनुपर्ला !
प्रकाशित मितिः २०७३ कार्तिक ६, ११ः००
अध्यावधिक गरिएको मितिः २०७३ कार्तिक ११
वि.सं.२०७३ कात्तिक ६ शनिवार ११:१७ मा प्रकाशित