
हरिशरण न्यौपाने, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक सबै हिसाबले ठिक बाटोमा हिंडाउने सोच, विचार र नीतिहरु नेकपा एमालेसँग मात्र भएको ठोकुवा गरेका छन् ।
नेपाल उद्योग व्यवसायी महासंघ केन्द्रिय समितिको चौथो बैठक तथा समसामयिक राजनीतिक एवं आर्थिक प्रशिक्षण कार्यक्रममा उनले भने, ʽआर्थिक विकासको सोच, विचार र नीति एमालेसँग मात्रै छ । एमालेसँग अलि बढि छन् पनि म भन्दिन । एमालेसँग मात्रै छ, अरुसँग छैन ।ʼ
काँग्रेसले उदारीकरण, खुल्ला अर्थतन्त्र र नीजिकरणलाई मात्र आर्थिक विकास भन्ने गरेको भन्दै उनले भएका उद्योगलाई कमिसन खाएर नीजि लाई बेचिदिने कार्य आर्थिक उन्नति र विकासका सोच नभएको बताए । त्यस्तै माओवादीले २०५२ सालदेखि भएका साना मझौला र ठूला उद्योगमा आतंक मच्चाएर बन्द गराएको आरोप लगाउँदै उनले माओवादीमा त्यो मानसिकता अझै नहटेको बताए । बितण्डा, आातंक, हिंसा, हत्या, अपराध आर्थिक उन्नतिको विषय हुन नसक्ने उनको भनाई थियो । बाँकी अरु पार्र्टीसँग आर्थिक विकास गर्ने सोच नै नभएको उनले बताए ।
उनले भने,ʽ अहिले दुई जिल्लाकामात्र पार्टी स्थापना भएका छन् । सर्लाही महोत्तरी, या अरु कुनै तीन जिल्ला मिलेर पार्टी खोल्नेले देशको बारेमा के सोच्न सक्छ ? ʼ भन्दै प्रतिप्रश्न गरेका थिए ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेकपा एमाले हरेक क्षेत्रको औधोगिकिकरण, व्यवसायीकरण र आधुनिकिकरणको पक्षमा रहेको बताए । अहिले देशमा गफाडी रोजगारको मात्र उत्पादन भईरहेको भन्दै उनले उत्पादनमूलक र रोजगारीमूलक उद्योगको विस्तारमा जोड दिए । एनजीओमा काम गर्नेहरुले कुरा फिट्ने कार्य मात्र गरेको भन्दै उनले अधिकारका कुरा सिकाउनेले कर्तव्यका कुरापनि सिकाउनुपर्ने बताए । अध्यक्ष ओलीले नेपालमा उद्योग व्यवसायको प्रशस्तै सम्भावना रहेको भन्दै सबैलाई लगानी बढाउन आग्रह गरे ।
कार्यक्रममा पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडाले आर्थिक वृद्धिसँगै सबै नागरिकलाई सुखी हुने अवश्था सिर्जना गर्न धेरै उद्यमी बनाएर रोजगारी दिने कार्य थालनी गर्नुपर्ने बताए । उद्यमशिलताको विकासमा हालका एक व्यवसायीले थप २० नयाँ उद्यमी विस्तार गर्नसके समृद्ध नेपालको सपना पुरा हुने उनको भनाई थियो ।
कार्यक्रममा महासंघका अध्यक्ष लक्ष्मीदास मानन्धरले औधोगिक र व्यवसायीक क्षेत्रको विकासमा महासंघले नयाँ योजना बनाएर अगाडि बढ्ने बताएका थिए ।
प्रकाशित मितिः २०७३ कार्तिक २६
वि.सं.२०७३ कात्तिक २६ शुक्रवार १६:३१ मा प्रकाशित