
काठमाडौ । अबदेखि आइपीओ पनि स्वतन्त्र मूल्यमा निष्कासन गर्ने बाटो खुला भएको छ ।
अहिलेसम्म आइपीओ (साधारण सेयर) एक सय रूपैयाँ मूल्य तोकेर बिक्री खुला गर्ने गरिएकामा अबदेखि कम्पनीको नेटवर्थसहित समग्र वित्तीय अवस्थाका आधारमा स्वतन्त्र मूल्य तोकेर निष्कासन गर्न पाइने भएको हो ।
अर्थमन्त्रालयले शुक्रबार धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०६५ संशोधन प्रस्तावमा हस्ताक्षर गरिदिएपछि यस्तो बाटो खुला भएको हो । नेपाल धितोपत्र बोर्डले प्रस्ताव गरेको धितोपत्र दर्ता तथा निष्कासन निमावलीलाई अर्थमन्त्री कृष्णबहादुर महराले शुक्रबार स्वीकृत गरेपछि आइपीओ स्वतन्त्र मूल्यमा तोक्न पाउने बाटो खुलेको हो ।
अब मनग्ये नाफामा गएका कम्पनीहरूले आइपीओ एक सय रूपैयाँमा नै ल्याउनुपर्ने कानुनी बाध्यता हुनेछैन । यस्ता कम्पनीहरूले वित्तीय सूचकका आधारमा प्रिमियममा अर्थात् एक सय रूपैयाँभन्दा बढी भाउ तोकेर निष्कासन गर्न पाउनेछन् ।
नेपाल धितोपत्र बोर्ड धितोपत्र दर्तासम्बन्धी निर्देशिकामा सामान्य परिमार्जन गरी स्वतन्त्र मूल्यमा आइपीओ जारी गर्न अनुमति दिने बताईउको छ ।
नयाँ कानुनी व्यवस्था अनुसार निश्चित मापदण्ड पूरा गरेका जुनसुकै क्षेत्रका कम्पनीले पनि स्वतन्त्र मूल्यमा आइपीओ जारी गर्न पाउनेछन् ।
प्रकाशित मितिः २०७३ कार्तिक २६
वि.सं.२०७३ कात्तिक २६ शुक्रवार १८:४२ मा प्रकाशित