
काठमाण्डौं । आजभोलि सबैको एउटा सपना हुन्छ कम्तिमा पनि ३/४ आना जग्गा लिने र घर बनाउने । तर, जग्गा चाहिँ कहाँ लिने त ? मूल्य कति पर्छ ? कसैले त्यही ठाउँमा दोब्बर मूल्य राखिरहेका हुन्छन् भने कसैले कम मूल्यमा जग्गा पाइरहेका हुन्छन् । यसैलाई मध्य नजर राखेर सरकारले जग्गाको मूल्यांकन गरिदिएकोछ ।
काठमाडौंका मालपोत कार्यालयले यही वर्ष राजधानीका जग्गाको पुर्न मूल्यांकन गरेका छन्।व्यवसायीले उच्च मूल्यमा जग्गा बिक्री गर्ने तर राजस्व कम तिर्ने गरेको पाइएपछि कार्यालयले राजधानीका जग्गाको मूल्यांकन बढाएको हो। राजधानीका केही स्थानको जग्गाको मूल्यांकन यस्तो रहेकोछ ।
१. सुन्धारा/न्यूरोड/ठमेल/दरबारमार्ग
देशकै मूख्य व्यापारीक केन्द्र न्यूरोड र आसपासका क्षेत्र हनुमानढोका, ईन्द्रचोक, पीपलबोट, खिचापोखरी देखि सुन्धारा सम्मको जग्गा प्रति आना ५० लाख रुपैयाँ मूल्यांकन गरिएको छ। कान्तिपथ, ठमेल, जमल, असन, दरबारमार्ग, रत्नपार्क, पुरानो बसपार्क हुँदै भद्रकाली, शहिदगेट, सम्मका मूलसडकसँग जोडिएका जग्गा प्रति आना ५० लाख रुपैयाँ सरकारी मूल्यांकन गरिएको छ।
२. पुतलीसडक
पुतलीसडक चोक देखि बागबजार रत्नपार्क सम्मको जग्गा प्रति आना ४० लाख रुपैयाँ सरकारी मुल्याङ्कन गरिएको छ। पुतलीसडकसँग जोडिएका पुरानो बसपार्क र सभागृह जोड्ने सडकसँग जोडिएका जग्गा प्रति आना ४० लाख रुपैयाँ मूल्यांकन गरिएको छ।
३. महाँबौद्ध
महाबौद्ध देखि गणेशमन्दिर हुँदै ईन्द्रचोक तथा पिपलबोट नयाँ बाटोको दायाँ बायाँका जग्गाको प्रति आना ३६ लाख रुपैयाँ सरकारी मुल्याङ्कन छ। न्यूरोड सँगै रहेको महाबौद्धमा साँघुरा गल्ली भएका कारण न्यूरोड मूल सडक भन्दा केही सस्तो मूल्यांकन गरिएको छ।
४. नयाँ बानेश्वर/लाजिम्पाट/महाराजगंज
नयाँ बानेश्वर र आसपासका ठाउँमा सरकारी मूल्यांकन प्रति आना ३२ लाख रुपैयाँ कायम गरिएको छ। पुरानो बानेश्वर देखि गौशाला चोक सम्मको मूलबाटो, माईतीघर देखि सिंहदरवार दक्षिण ढोका हुँदै हनुमान स्थान सम्म, बालकुमारी पुलदेखि कोटेश्वर, तीनकुने, मिनभवन, बिजुलीबजार, थापाथली, त्रिपुरेश्वर हुँदै विष्णुमती पुल सम्मको मूलबाटोका जग्गा प्रति आना ३२ लाख रुपैयाँ मूल्यांकन गरिएको छ।
लैनचौरदेखि लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज हुँदै चक्रपथ छुने बाटोका जग्गा प्रति आना ३२ लाख रुपैयाँ मूल्यांकन गरिएको छ। नयाँबसपार्क देखि म्हैपी सम्मको मुलबाटोको जग्गाको मूल्य प्रति आना ३२ लाख तय गरिएको छ।
५ .कमलादी
बैंक तथा वित्तीय सँस्थाको हब कमलादी क्षेत्र महँगो मूल्यभित्रै पर्छ। कमलादीका प्रज्ञा मार्ग, भीमनिधि मार्ग र कूलरत्न मार्गका जग्गा प्रति आना ३० लाख रुपैयाँ मूल्यांकन गरिएको छ । पुरानोबानेश्वर देखि सिनामंगल, डिल्लीबजार देखी पुतलीसडक, सोह्रखुट्टे चोक देखि क्षेत्रपाटी, वसन्तपुरदेखि भोटेबहाल हुँदै टेकु जोड्ने मूल सडकका जग्गा प्रति आना ३० लाख रुपैयाँ मूल्यांकन गरिएको छ।
६. पुल्चोक/जावलाखेल/लगनखेल
ललितपुरको केन्द्र मानिने पुल्चोक, जावलाखेल र लगनखेल पनि सर्वाधिक महँगो ठाउँ हुन्। मन्त्री निवास रहेको पुल्चोक, सदरचिडिया घर भएको जावलाखेल र ललितपुरको केन्द्र लगनखेलको जग्गा प्रति आना २९ लाख रुपैयाँ मूल्यांकन गरिएको छ। कुपण्डोलदेखि जावलाखेलहुँदै लगनखेल सम्म मूल सडकले छोएका सबै जग्गा प्रति आना २९ लाख रुपैयाँ मूल्यांकन गरिएको छ।
७. चक्रपथ रिङरोड
त्रिभुवन विमानस्थल र चक्रपथले छुने तीनकुने देखी सिनामंगल, गौशाला, चाबहिल सुकेधारा, नारायणगोपाल चोक, बसुन्धरा, सामाखुसी गोंगवु र नयाँ बसपार्क देखि बालाजु सम्मको चक्रपथले छुने जग्गा प्रति आना २८ लाख रुपैयाँ मुल्याङ्कन गरिएको छ। चाबहिल चोकदेखि जोरपाटी सम्मको मूलबाटोका जग्गा प्रति आना २८ लाख रुपैयाँ मूल्यांकन गरिएको छ।
८. बालुवाटार
प्रधानमन्त्री निवास रहेको बालुवाटार,प्रहरी तालिम केन्द्र देखी भाटभटेनी हुँदै कमलपोखरी सम्मका जग्गा प्रति आना २६ लाख रुपैयाँ मूल्यांकन गरिएको छ।
९. कालिमाटी/कलंकी
कालिमाटी चोक देखी बल्खु जोड्ने सडक र कालिमाटी कलंकी सम्मको मूलसडकसँग जोडिएका जग्गा प्रति आना २५ लाख रुपैयाँ मूल्यांकन गरिएको छ। सीतापाईलादेखि बल्खुसम्मको चक्रपथसँग जोडिएको जग्गा प्रति आना २५ लाख रुपैयाँ मूल्यांकन गरिएको छ।
१०. ज्ञानेश्वर/सानोगौचरण/हाँडीगाउँ
ज्ञानेश्वर देखि सानोगौचरण हाँडीगाउँ हुँदै विशालनगर चोक देखी धुम्वाराही चक्रपथ जोड्ने सडकका जग्गा प्रति आना २४ लाख रुपैयाँ मूल्यांकन गरिएको छ।
१९ मंसिर २०७३, १२।००
वि.सं.२०७३ मंसिर १९ आइतवार २०:१७ मा प्रकाशित