
कास्की । ढिकुरपोखरा– १ अधिकारी डाँडामा १ सय ६० घर छन् । प्रत्येक घरबाट कम्तीमा एक जना वैदेशिक रोजगारीमा छन् । तर पनि यहाँका स्थानीयहरुले कृषिमा पसिना बगाउन छाडेका छैनन् । यही भएर होला तरकारीबाटै उनीहरुले वार्षिक ३७ लाख ५० हजार रुपैयाँ भित्र्याउन सकेका छन् ।
यो गाउँभर अहिले ८० वटा टनेल छन् । बेमौसमी गोलभेंडा लगाउनका लागि टनेल नभइ हुँदैन । गोलभेँडा बाहेक टनेलमा खुर्सानी, सिमी, काँक्रो, धनिया पनि फलाउन सकिन्छ । एउटा टनेलबाट वार्षिक कम्तीमा पनि ४५ हजार रुपैयाँ कमाइ हुन्छ । गत वर्ष मात्र टनेलको तरकारी बेचेर अधिकारी डाँडामा ३७ लाख ५० हजार रुपैयाँ भित्रिएको थियो ।
यस गाउँमा फेवाताल जलाधार संरक्षणको लागि काम गर्दै आएको हरियो वन परियोजनाले वातारणीय अनुकुल खेती लगाउन सिकाउँदै आएको छ । त्यही अन्तर्गत टनेल, बिउ, तालिम जस्ता सहयोग पाइएपछि गाउँमा कृषिको लहर बढ्दैछ भने तरकारी खेतीबाटै मनग्गे आम्दानी पनि भइरहेकोछ । यो गाउँ अन्य गाउँमा पनि उदाहरणीय रुपमा अगाडि आइरहेको स्थानीय बताउँछन् ।
२१ मंसिर २०७३, ११।००
वि.सं.२०७३ मंसिर २१ मंगलवार २०:४१ मा प्रकाशित