
दोलखा । चारसय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट आगामी डेढ वर्षभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ दु्रतगतिमा काम भइरहेको छ । गत वर्षको भूकम्पबाट क्षतविक्षत भएको पहुँचमार्ग परिवर्तन गरी सुरुङ खनेर बाँधस्थलसम्म पुग्ने बाटो गत मङ्सिर १६ गते सम्पन्न भएपछि २०७५ असार देखि विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ आयोजनाले तीव्र गतिमा काम अगाडी बढाएको छ ।
आयोजनाको पछिल्लो प्रगतिबारे जानकारी लिन पुगेका ऊर्जामन्त्री जनार्दन शर्मा, ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलगायत उच्चस्तरीय टोलीलाई आयोजना प्रमुख विज्ञान श्रेष्ठले आगामी डेढ वर्षभित्रमा जसरी पनि आयोजनाबाट विद्युत् उत्पादन गर्ने प्रयासका साथ अहोरात्र काम भइरहेको बताए ।
हाल विद्युत् गृह र बाँध निर्माणको काम दु्रतगतिमा भइरहेको छ । आयोजनाको ‘सिभिल, हाइड्रो मेकानिकल, मेकानिकल र इलेक्ट्रिकलका साथै प्रसारणलाइन एवम् सवस्टेसन निर्माणको ठेक्का पाएका अन्तर्राष्ट्रिय ठेकेदारहरूले २०७५ असारसम्ममा विद्युत् उत्पादन सम्पन्न गर्न कठिन हुने बताएका छन् ।
त्यस्तो जानकारी प्रस्तुत भएपछि मन्त्री शर्माले आगामी तीनदिनभित्र नयाँ कार्यतालिका सरकारसमक्ष पेस गर्न सम्बद्ध सबैलाई निर्देशन दिए । उनले सरकारका तर्फबाट आयोजनाका सबै समस्या जसरी पनि समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसैअनुरूपको कार्ययोजना तत्काल पेस गर्न निर्देशन दिए ।
ऊर्जामन्त्रीको निर्देशनबमोजिम आयोजनामा ‘सम्बद्ध सिभिल, हाइड्रो मेकानिकल, मेकानिकल र इलेक्ट्रिकलका साथै प्रसारणलाइन एवम् सवस्टेसन’ निर्माणका ठेक्का पाएका अन्तर्राष्ट्रिय ठेकेदारहरूले नयाँ कार्ययोजनाको मार्गचित्र आयोजना प्रमुखलाई मङ्गलबार बुझाइसकेका छन् । आयोजनाले पनि ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणलाई परिष्कृत कार्यसूची प्रस्तुत गरिसकेको छ ।
नयाँ कार्यसूचीअनुसार आगामी डेढ वर्षभित्र परियोजना सम्पन्न हुन नसक्ने वास्तविक प्राविधिक कारण खुलाइएको र चारवटै ठेकेदार कम्पनीबाट प्रतिबद्धता पत्र लिइएको जानकारी आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।
सिभिल कार्यअन्तर्गत ८५ दशमलव ३ प्रतिशत काम पूरा भइसकेको छ भने मुख्य सुरुङको माथिल्लो पेनस्टक अडिटबाट माथिल्लो खण्डतर्फ सुरुङ खन्न थालिएको छ । जम्मा १६ दशमलव ९ किलोमिटरमध्ये १५ दशमलव १५ किलोमिटर सुरुङ पनि खनिसकिएको छ । विद्युत् गृहअन्तर्गतको तीन हजार दुई सय १३ मिटर लामो सुरुङ पनि पूरा भएको छ ।
भूकम्पले अति प्रभावित सिङ्गटीदेखि गोंगरसम्मको १६ दशमलव ५ किलोमिटर लामो ३३ केभी विद्युत् प्रसारण लाइनको विभिन्न पोल क्षतिग्रस्त हुँदा विद्युत् आपूर्ति बन्द भएको थियो भने त्यसको मर्मतसम्भारपछि पुनः सञ्चालनमा आएको छ ।
विद्युत्गृहदेखि बाँधस्थलसम्म ११ किमी सडकमध्ये निर्माणाधीन सुरुङमार्गको चार सय मिटरबाहेक सबै सडकको ट्र्याक खुलिसकेको छ । तीन सय ३७ मिटर लामो सुरुङमार्ग पनि पूरा भएको छ ।
आयोजनाअन्तर्गत दोस्रो चरणमा रोल्वालिङ डाइभर्सनको निर्माण गरी सुक्खायाममा थप १६७ मेगावाट घन्टा विद्युत् उत्पादन गर्ने लक्ष्य छ । त्यसनिम्ति डाइभर्सनको विस्तृत इन्जिनियरिङ डिजाइन र बोलपत्रसम्बन्धी कागजातसहित लागत अनुमान तयार गर्न परामर्श सेवाका लागि सम्झौता पनि भइसकेको छ ।
खिम्तीमा निर्माण हुने आयोजनाको २२०÷१३२ केभी सवस्टेसन निर्माणका लागि आवश्यक जग्गा प्राधिकरणले उपलब्ध गराउने र सवस्टेसनको निर्माण आयोजनाले गर्नुपर्ने भएकाले त्यसनिम्ति जग्गा अधिग्रहण भए पनि सम्बन्धित जग्गाधनीले मुआब्जा बुझेका छैनन् ।
मेकानिकल तथा इलेक्ट्रिकल कार्यअन्तर्गत आवश्यक उपकरण ढुवानी भइसकेको छ भने टर्वाइन हाउसिङ र डिस्टिब्युटर जडान गरी परीक्षणसमेत पूरा भइसकेको छ । त्यस्तै, प्रसारण लाइनअन्तर्गत खडा गरिने एकसय २७ वटा टावरमध्ये ५७ वटाको जग निर्माण गरी ६६ वटा टावरको जडान पनि पूरा भएको छ । प्रवेशमार्ग तथा तल्लो लामाबगरको बायाँ किनारपट्टि जान सातवटा पक्की पुल पनि निर्माण भइसकेका छन् ।
स्वदेशी लगानी रु ३५ अर्ब २९ करोडमा निर्माणाधीन आयोजनामा कर्मचारी सञ्चय कोष, नेपाल टेलिकम, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान र नेपाल सरकारबाट पुँजी प्रवाह भएको छ ।
प्रकाशित मितिः २०७३ पुस ६
वि.सं.२०७३ पुस ६ बुधवार १५:२३ मा प्रकाशित