
काठमाण्डौं । बीमा कम्पनीहरुको चुक्तापूँजी बढाउने बारेमा लामो समयदेखि चर्चा चल्दै आएकोमा बीमा समितिले बीमा कम्पनीहरुको नयाँ चुक्ता पूँजीको सिमा तोकेको छ । बीमा समितिले शुक्रबारबाटै लागु हुनेगरी नयाँ चुक्तापूँजी निर्धारण गरेको हो ।
समितिले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको चुक्तापूँजी चार गुणाले बढाउने निर्णय गरेको हो । समितिले जीवन बीमा कम्पनीहरुको दुई अर्ब तथा निर्जीवन बीमा कम्पनीहरुको एक अर्ब चुक्तापूँजी तोकेको समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले मेरो लगानीलाई जानकारी दिए । उनका अनुसार बीमा कम्पनीहरुले तोकिएको पूँजी २०७५ आषाढ मसान्तसम्म पुर्याउनु पर्नेछ । समितिको यो निर्णय आजैबाट लागू गरिएको समेत चापागाईले जानकारी दिए ।
साथै उनले नयाँ बीमा ऐन समेत कानुन मन्त्रालयबाट अर्थमन्त्रालयमा पुग्ने क्रममा रहेको जानकारी दिए । बीमा कम्पनीहरुको चुक्तापूँजी निर्धारण गर्ने बिषय ऐनमा राख्ने बिषय नभएकाले ऐनबाट हटाइएको उनले बताए ।
समितिले अर्थमन्त्रालयमा पठाएको ऐनको मस्यौदामा जीवन बीमा कम्पनीको चुक्ता पुँजी पाँच अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी चार अर्ब रुपैयाँ तोकिएको थियो ।
यस अघिको बीमा ऐनअनुसार जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी २५ करोड र निर्जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी १० करोड तोकिएको थियो । तर, पछि समितिले जीवन बीमा कम्पनीलाई ५० करोड र निर्जीवन बीमा कम्पनीहरूलाई २५ करोड रुपैयाँ पु¥याउन निर्देशन दिएको थियो ।
सरकारले केही समय अगाडि सरकारका तत्कालीन कार्ययोजना सार्वजनिक गदै संसदको आगामी अधिवेशनबाट बीमा ऐन पारित गर्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।
नयाँ विधेयकमा नयाँ कम्पनीलाई दर्ता गर्न दिने ब्यवस्था, नयाँ संबिधान र संघियता लागु भएपछि बीमा कम्पनीहरुको संचालन र नियन्त्रण लगायतका बिषयहरु समावेश गरिएका छन् । प्रस्तावित ऐनमा समय सापेक्ष सुधार, सुशासन कार्यक्षेत्र, पारदर्शी बनाउने प्रयास गरिएको तथा नयाँ ऐनले बीमाक्षेत्रको आमूल सुधार गर्ने दाबी बीमा समितिले गर्दै आएको छ ।
हाल बीमा कम्पनीहरुको दश करोड रुपैयाँदेखि दुई अर्ब १६ करोड रुपैयाँसम्म चुक्तापूँजी रहेको छ । नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै दुई अर्ब १६ करोड रुपैयाँ तथा एभरेष्ट इन्स्योरेन्सको सबैभन्दा कम दश करोड १२ लाख रुपैयाँँ रहेको छ ।
हाल नेपालमा ९ वटा जीवन बीमा र १७ वटा निर्जीवन बीमा कम्पनी सञ्चालित छन् ।
१८ चैत २०७३, मेरो लगानी, ३।००
वि.सं.२०७३ चैत १८ शुक्रवार १५:४५ मा प्रकाशित