काठमाडौं । स्वदेशमै क्लिंकर उत्पादन हुन थालेपछि भारतबाट हुने क्लिंकरको आयात ह्वात्तै घटेको छ ।
गत आर्थिक वर्ष (२०७५/७६) मा १३ लाख ४८ हजार मेट्रिक टन क्लिंकर आयात भयो, जो अघिल्लो आवको तुलनामा झन्डै २० लाख टन कम हो । आव २०७४/७५ मा ३३ लाख १४ हजार मेट्रिक टन क्लिंकर आयात भएको थियो ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी)को विगत ५ वर्षको तथ्यांक हेर्दा आव २०७३/७४ र २०७४/७५ मा क्लिंकर आयात सबैभन्दा उच्च रह्यो । तर, गत आर्थिक वर्षसम्म आइपुग्दा क्लिंकर आयात ह्वात्तै घटेको छ ।
नेपालको वैदेशिक व्यापार घाटा भारतसँग उच्च रहेको अवस्थामा त्यहाँबाट हुने क्लिंकरको आयात घट्दा नेपाल–भारत व्यापारमा समेत केही मात्रामा भए पनि सन्तुलन बनाएको देखिन्छ ।
सिमेन्ट उत्पादकहरू गत पुसदेखि क्लिंकर आयात बन्द भएको बताउँछन। नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा भूकम्पपछिको पुनर्निर्माणले निर्माण सामग्रीको माग उच्च भएकाले यसतर्फ लगानीकर्ताहरू थप आकर्षित भएका र त्यसले लगानी र उत्पादनमा वृद्धि भएको बताउनुहन्छ।
अहिले मागभन्दा बढी क्लिंकर उत्पादन भइरहेको बताउँदै उहाँले भन्नुभयो, ‘क्लिंकर निर्यात गर्न गाह्रो छ । किनभने, हाम्रा कारखानाहरू बोर्डरभन्दा निकै टाढा छन् र कारखानासम्म पुग्न गुणस्तरीय सडक पनि छैन ।’
उहाँले क्लिंकर तथा सिमेन्टमा आत्मनिर्भर हुँदा मुलुकबाट १ वर्षमा र १५० अर्ब रुपैयाँ रकम बाहिर जानबाट रोकिएको बताउनुभयो । अभियान दैनिकमा समाचार छ ।
२०७६ भदौ ६ गते प्रकाशित
वि.सं.२०७६ भदौ ६ शुक्रवार ०७:४९ मा प्रकाशित