काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा वादी र प्रतिवादीका साक्षीहरुको वकपत्र शुरु भएको छ । चितवन जिल्ला अदालतले पुडासैनी र आरोपित रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका साक्षीहरुको वकपत्र लिइदैछ ।
न्यायाधीश हेमन्त रावलको इजलासमा अहिलेसम्म २० जना साक्षीको वकपत्र पेश भइसकेको छ ।साक्षीसँगै घटनापछि शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिकसँग पनि बकपत्र गरिने अदालतले जनाएको छ ।
मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानूनी व्यवस्था छ ।
साउन २० गते नारायणगढको कङ्गारु होटलमा पुडासैनी झुण्डिएको अवस्थामा शव भेटिएको थियो । उनको मोबाइलमा मृत्युअघिको भिडियोमा मर्नुका कारण ती तीन व्यक्ति रहेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरी सो मुद्दा दर्ता गराएको थियो ।
त्यही भिडियोका आधारमा पक्राउ परेका रवि लामिछाने पाँच लाख, युवराज कँडेल तीन लाख र अस्मिता कार्की साधरण तारेखमा छुटिसकेका छन।
२०७६ असोज ०५ गते प्रकाशित
वि.सं.२०७६ असोज ५ आइतवार १६:३९ मा प्रकाशित