
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सम्पूर्ण वाणिज्य बैंकले सार्वजनिक गरेका छन।बैंकहरुको नाफा औषतमा ६.२५ प्रतिशतले बढेको भए पनि एनआइसी एसिया बैंकले भने छलाङ मारेको छ ।
एनआइसी एसिया बैंकले प्रकाशित गरेको वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा भएको छ । यो नाफा समग्र बैंकहरुमध्ये तेस्रो र निजी क्षेत्रका बैंकमध्ये तेस्रो ठूलो हो ।
चालु वर्षको पहिलो ३ महिनामा वाणिज्य बैंकहरुको नाफामा ३६ प्रतिशतसम्मले गिरावट आएको बेला एनआइसी एसियाले भने नाफामा उल्लेख्य वृद्धि हासिल गरेको छ ।
एनआइसी एसियाले आफ्नो नाफा गत वर्षको यही अवधिको तुलनामा ३४.१३ प्रतिशतले बढाएको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले ७५ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो ।
बैंकले चालु वर्षको पहिलो ३ महिनाको अवधिमा १ अर्ब ८४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकले यो अवधीमा एक खर्ब ७९ अर्ब निक्षेप संकलन गरेर एक खर्ब ५४ अर्ब कर्जा लगानी गरेको छ। बैंकको सिडी रेसियो ७८.३५ प्रतिशत कायम छ ।
९ अर्ब ७१ करोड चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ४ अर्ब ५० करोड रुपैयाँ रहेको छ । एनआइसी एसियाको खराब कर्जा ०.४५ प्रतिशत छ भने आधार ब्याज दर ९.५१ प्रतिशत छ ।
यसैगरी बैंकको स्प्रेड दर ५.१० प्रतिशत रहँदा कस्ट अफ फण्ड भने ६.९९ प्रतिशत रहेको छ। बैंकको आधार दर ९.५१ प्रतिशत छ । बैंकको प्रति सेयर आम्दानी ४०.७८ रुपैयाँ र प्रति सेयर नेटवर्थ १५३.६१ रुपैयाँ रहेको वित्तीय विवरणमा जनाइएको छ ।
२०७६ मंसिर ०३ गते प्रकाशित
वि.सं.२०७६ मंसिर ३ मंगलवार ११:२४ मा प्रकाशित