काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ ।
नेप्सेले लगानीकर्ताहरुले पाउने २६ प्रतिशत बोनस शेयरको विषय अन्योल रहेकाले सो विषय टुङ्गो नलागेसम्म कारोबार रोक्का गरिने निर्णय गरेको हो ।
गत फागुन २० गते सूचना जारी गर्दै नेप्सेले लाभांश वितरणको सम्बन्धमा सत्यतथ्य विवरण तीनदिनभित्र पेश गर्न भनेको छ । यस कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २६ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
कम्पनी रजिष्ट्रारको कार्यालयले फागुन १३ गते उक्त कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन स्वीकृत गरेको पत्र पठाएपनि फागुन १९ गतेको पत्रमा सोको कार्यान्वयन नगराउन भनेको सूचना कम्पनीले मंगलवार नेप्सेमा उपलब्ध गराएको थियो ।
उक्त सूचनाले लगानीकर्ताको हित विपरित कार्य हुने संकेत देखिएको भन्दै नेप्सेले कम्पनीसँग स्पष्टिकरण मागेको हो ।
वि.सं.२०७६ फागुन २१ बुधवार १०:५० मा प्रकाशित