
काठमाडौं । आउँदो साउन २ गतेदेखि सबै विद्यालय खुल्ने भएका छन् । हुम्लाको खार्पुनाथ गाउँपालिकाले साउन २ गतेदेखि पालिकाका सबै विद्यालय खोल्ने निर्णय हो । जिल्ला कोरोनामुक्त भएको भन्दै गाउँपालिकाले विद्यालय खोल्ने निर्णय गरेको बताइएको छ ।
‘जिल्लाका हालसम्म कोरोना संक्रमित छैनन्, संक्रमित क्षेत्रबाट गाउँ फर्किएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ,’ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले भने, ‘साउन २ गतेबाट सबै विद्यालय पठनपाठन सुरु हुन्छ ।’
गाउँपालिकाका धेरै विद्यार्थी संख्या भएका विद्यालयमा दुई सिफ्टमा पठनपाठन गरिने छ । ‘धेरै विद्यार्थी संख्या भएको विद्यालयमा विहान ६ बजेदेखि १० बजेसम्म एउटा सिफ्ट र १० बजेदेखि ४० बजेसम्म अर्को सिफ्टमा पठनपाठन सुरु गर्छाैं,’ अध्यक्ष रावलले भने, ‘शिक्षकको पीसीआर गरिन्छ, विद्यार्थीहरुले सेनिटाइजर, मास्कको प्रयोग र सामाजिक दूरी कायम गर्छन् ।’
गाउँपालिकाले जिल्ला बाहिरका शिक्षकलाई पीसीआर परीक्षण गरेरमात्रै सम्बन्धित विद्यालयमा उपस्थित हुन अनुरोध गरेको छ । गाउँपालिकाले क्वारेन्टिन बनाइएका सबै विद्यालयहरुमा सेनिटाइजर गरिसकेको छ । खार्पुनाथमा लामो समयदेखि क्वारेन्टिनहरु खाली छन्। साउनयता कोही पनि संक्रमित क्षेत्रबाट गाउँ फर्केका छैनन् ।
खार्पुनाथमा चार वटा माध्यमिक, तीन वटा आवासीय र दश वटा आधारभूत गरी जम्मा १७ वटा विद्यालयहरु छन् । हुम्ला कर्णाली प्रदेशको एकमात्रै कोरोनामुक्त जिल्ला हो ।
वि.सं.२०७७ असार ३१ बुधवार १७:१३ मा प्रकाशित