काठमाडौं । कोभिड–१९ र लकडाउनका कारण ग्यास उद्योग धमाधम बिक्री हुन थालेका छन् ।
कोभिड–१९ को संक्रमण कम गर्न सरकारले गत चैतदेखि लकडाउन गरेयता ५ वटा ग्यास उद्योग बिक्री भइसकेका छन् । थप तीन–चार वटा उद्योग बिक्री हुने प्रक्रियामा रहेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ । सञ्चालनमा रहेका उद्योग पनि मर्ज हुन खोजिरहेको संघका महासचिव दिवान चन्दको भनाइ छ ।
‘बैंकको ब्याज र लागत खर्च बढी हुँदा उद्योगी टिक्न सक्ने अवस्थामा छैनन्,’ उनले भने । संघका अनुसार मुलुकभर ६० ग्यास उद्योग छन् । अहिले लकडाउन खुले पनि प्रायः ठूला होटल र रेस्टुरेन्ट पूर्ण रूपमा चल्न सकेका छैनन्, जसले गर्दा ग्यासको खपत करिब २५ प्रतिशत घटेको छ ।
ग्यास बिक्री कम भएपछि साना उद्योगी नोक्सानीमा गए । नोक्सान थेग्न नसकेपछि धमाधम बिक्री हुन थालेका हुन् । लकडाउनकै बेला उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको स्वामित्वमा रहेको सैपाल ग्यास प्रालि बिक्री भयो ।
मन्त्री भट्टकी श्रीमती निर्मलादेवी भट्ट अध्यक्ष रहेको उक्त प्रालिमा गोपालबहादुर , मानबहादुर शाही, दिनेश साह र सिद्धराज ओझा सञ्चालक थिए । उक्त ग्यास कम्पनी एभरेस्ट ग्रुपले खरिद गरेर सञ्चालन गरिरहेको छ । सैपाल ग्यास १८ करोड रुपैयाँमा खरिद गरिएको ग्रुपका सञ्चालक शिवप्रसाद घिमिरेले जानकारी दिए ।
घिमिरे नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष पनि हुन् । लकडाउनअघि एभरेस्ट ग्रुपले त्रिशूल ग्यास पनि किनेको थियो । चैतयता धादिङको धार्केमा रहेको एचपी ग्यास पनि बिक्री भयो ।
उक्त ग्यास प्लान्ट खेतान समूहले साढे १८ करोड रुपैयाँमा राजधानी ग्यासका सञ्चालक कुश मल्लीलाई बेचेको थियो । मल्ली सघका वरिष्ठ उपाध्यक्ष पनि हुन् । यसअघि राजधानी ग्यासमा कुश मल्लीको १० प्रतिशत मात्रै सेयर थियो । यही अवधिमा मल्लीले राजधानी ग्यासको सबै सेयर किनिसकेका छन् ।
यसैबीच गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौलाले त्रिवेणी ग्यास किने । त्रिवेणी ग्यास इँटा व्यवसायी खगेन्द्र श्रेष्ठको थियो । १० करोड २१ लाख रुपैयाँमा त्रिवेणी किनेको बर्तार्लौले बताए । ‘ग्यास उद्योग बिक्री हुनुको मुख्य कारण सिलिन्डरकै समस्या हो, साढे २४ सयमा खरिद गरिएको सिलिन्डर बजार ओगट्न ठूला कम्पनीहरूले १२ देखि १४ सय रुपैयाँ धरौटीमै बिक्री गरे,’ संघका सचिवसमेत रहेका बर्तौलाले भने, ‘एउटै सिलिन्डरमा ५० प्रतिशत घाटा खान सक्ने अवस्था हुँदैन, त्यही भएर बिक्री गर्ने बढे ।’ बर्तौलाका अनुसार मासिक ४ देखि ५ सय टन ग्यास कारोबार गर्ने ग्यास उद्योगीलाई लकडाउनले टिक्न गाह्रो बनायो ।
ग्यास उद्योग खोल्न ठाउँअनुसार सामान्यतः १२ देखि १४ करोड रुपैयाँ लाग्छ । ‘त्यसपछि बजार बनाउनुप¥यो, चार–पाँच सय टन ग्यास बिक्री गर्न १ लाख सिलिन्डर बजारमा पठाउनुपर्छ ।
बैंकले पनि १०र१२ प्रतिशतले ब्याज उठाउँछ,’ उनले भने, ‘यस्तो अवस्थामा उद्योगीले धेरै नोक्सानी बेहोर्नुभन्दा बिक्री गर्न उचित ठाने ।’ग्यास उद्योग खरिद गरिरहेका उद्योगी व्यवसायी पनि मर्जमा जाने सोचाइमा रहेको उनले जानकारी दिए । ‘अवस्था नाजुक भइसकेको छ, अबको विकल्प भनेको मर्ज नै हो,’ उनले भने, ‘५र६ वटा कम्पनी मर्ज गरेर एउटै ब्रान्ड बनाउन आवश्यक छ ।
नभए एकाध वर्षमा टाट पल्टिने अवस्था आउँछ ।’आरती ग्यास संघका महासचिव चन्दले १४ करोड ७५ लाख रुपैयाँमा खरिद गरे । चन्दको सुदूरपश्चिममा रेडियन्ट ग्यास उद्योग पनि छ । ‘ग्यास उद्योगीहरू अरू ग्यास कम्पनीको सेयर राख्ने र आफ्नो पनि दिने गरी मर्जमा जाने सोचमा छन्,’ उनले भने, ‘मर्ज हुँदा लागत घट्छ । उद्योग टिक्ने वातावरण पनि बन्छ ।’
संघका निवर्तमान अध्यक्ष घिमिरेले पनि कोभिड–१९ कै कारण ग्यास उद्योग धराशायी बन्दै गएको दाबी गरे । ‘ग्यासको खपत हरेक वर्ष २०र२५ प्रतिशत बढिरहेको थियो तर यतिबेला होटल सञ्चालन नहुँदा बिक्री सोही अनुपातमा घटेको छ,’ घिमिरेले भने, ‘थप २/४ उद्योग बिक्रीमा रहेको जानकारी पाएका छौं ।
सिलिन्डरको अस्वस्थ प्रतिस्पर्धाले थप गाह्रो भयो ।’ बजार हस्तक्षेप गर्न आयल निगमले पनि बोटलिङ प्लान्ट सञ्चालन गर्ने तयारी गरेको छ । प्लान्टका लागि अध्ययन गर्न टेन्डर गरी कम्पनी छनोटको क्रममा छ । कान्तिपुर दैनिकमा राजु चौधरीले खबर लेखेका छन् ।
वि.सं.२०७७ कात्तिक २० बिहीवार ०८:३२ मा प्रकाशित