back
NMB ad

विद्यार्थीको रोजाइ बन्यो दरबार हाइस्कुल

Kumari bank ad

काठमाडौं । नेपालको शैक्षिक इतिहासमा अत्यन्त ठूलो महत्व राख्ने रानीपोखरीस्थित दरबार हाइस्कुल अहिले सामुदायिक विद्यालयमध्ये विद्यार्थीको पहिलो रोजाइ बनेको छ ।

विसं २०७२ को भूकम्पले पूर्ण रुपमा क्षति भएकोे सो स्कूल भवनलाई आकर्षक ढङ्गले पुनर्निर्माण गरिएपछि नयाँ विद्यार्थी आउने क्रम बढेको छ ।

क्रान्तिकारी कवि गोपालप्रसाद रिमाल, प्रखर कूटनीतिज्ञ र प्रशासक सरदार यदुनाथ खनाल, सरदार भीमबहादुर पाँडे, पिनाकिप्रसाद आचार्यलगायत नेपालको पहिलो प्रतिभावान् शिक्षित पुस्ताको अध्ययनको थलो थियो दरबार हाइस्कूल ।

यसबाट निस्केका प्रतिभाहरुले नै उतिबेला नेपालको आर्थिक, राजनीतिक र सामाजिक खाका कोर्नमा अग्रणी भूमिका निर्वाह गरेका हुन् । त्यतिबेला नेपालमा यसको विकल्प थिएन तर राणाशासनको अन्तिमतिर जुद्धोदय र पद्मोदय जस्ता विद्यालय खुल्न थाले ।

सात सालको परिवर्तनपछि नेपालभर नै शिक्षालयहरु विस्तार भए पनि लामो अवधिसम्म दरबार हाइस्कूलको आकर्षण कायमै थियो । विद्यालय व्यवस्थापनमा राज्यको ध्यान जान छाडेपछि यसको अवस्था कमजोर बन्दै गयो । व्यवस्थापन फितलो भयो, भवन जीर्ण भयो र यसप्रतिको आकर्षण घट्दै गयो ।

पाँच वर्षअघिको गोरखा भूकम्पले यसलाई खण्डहरमा परिणत गरिदियो । अहिले प्रतापमल्लकालीन रानीपोखरी र जङ्गबहादुरकालीन दरबार हाइस्कूल दुवैको मुहार फेरिएको छ । अहिले ती सम्पदा झकिझकाउ देखिन्छन् ।

नेपाल सरकारले काठमाडौँ उपत्यकाका महत्वपूर्ण प्राकृतिक र सांस्कृतिक सम्पदाको पुनर्निर्माण गर्ने क्रममा पुरानै स्वरूपमा पुनर्निर्माण गरिएको सो ऐतिहासिक स्कूलको हाताभित्र हाल भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय सञ्चालित छन् ।

नयाँ भवनमा प्रयोशालासमेतको सुविधा रहेको र अङ्ग्रेजी माध्यममा पढाइ हुने गरेको छ । अहिले भानु माविका कक्षा ६, ७ र ८ मा विद्यार्थी सङ्ख्या निर्धारित सङ्ख्यामा पुगेको छ । काठमाडौँ महानगरपालिका वडा नं २७ का वडा सदस्य परिवेशमान बज्राचार्यका अनुसार अब नयाँ भर्ना गर्न आउने विद्यार्थीका लागि उक्त कक्षामा स्थान नै छैन । विद्यालयमा प्रतिकक्षा ३६ जना बस्न मिल्ने गरी पूर्वाधार तयार गरिएको छ ।

भवनको निर्माणसँगै भानु माविमा २८७ र संस्कृत माविमा ३०० गरी विद्यार्थी सङ्ख्या ५८७ पुगेको छ । विद्यालय नवीनतम प्रविधिमैत्री भएका छन् । विद्यालय व्यवस्थापन समितिले शिक्षकलाई तालीम दिने कामसँगै विद्यालयको प्रचारप्रसारसमेत गरिरहेको छ । विश्वव्यापी कोभिड–१९ को जोखिमका कारण अहिले विद्यार्थीले घरबाटै इन्टरनेटको सहयोगमा अनलाइन कक्षा लिइरहेका छन् । पहिले दुई विद्यालयमा गरी कूल ३०० विद्यार्थी थिए ।

“अहिले हरेक दिन नयाँ भर्नाका लागि अभिभावकसहित विद्यार्थीहरू आउने गरेका छन् । यसरी नै आकर्षण बढ्ने हो भने आगामी शैक्षिक सत्रसम्ममा सबै कक्षाहरू भरिने छन्”, सदस्य बज्राचार्यले भने । भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भए पनि यसको स्वरुप पहिल जस्तै देखिन्छ । नौ रोपनी जमीनमा निर्माण गरिएको सो विद्यालय भवन चारतले छ जसमा ६० कक्षाकोठा छन् ।

भवनको डिजाइन ‘चाइना एभिएशन प्लानिङ एण्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो । निर्माण व्यवस्थापक राजेन्द्र केसी निर्माण शुरु भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम सम्पन्न गरिएको बताउँछन् । पुनःनिर्मित विद्यालय भवनको शिलान्यास २०७५ साल साउन १८ गते गरिएको थियो । चीन सरकारको पूर्ण सहयोगमा निर्मित उक्त भवनको निर्माण चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले गरेको हो ।

शुरुमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो । लामो समयसम्म कामपा र पुरातत्व विभागबीच नक्शा पासका विषयमा केही मतान्तर भएकाले भूकम्प गएको तीन वर्षपछि मात्रै पुनःनिर्माणको काम शुरु भएको थियोे ।

भवनभित्र विज्ञान प्रयोगशाला, योगाभ्यास कक्ष, आयुर्वेदिक प्रयोगशाला, कम्प्युटर प्रयोगशाला, चमेनागृह, दुई पुस्तकालय र ठूलो बैठक कक्षसमेत व्यवस्थित रुपले निर्माण गरिएका छन् । कुल रु ८५ करोड ५९ लाखको लागतमा निर्माण गरिएको दरबार हाइस्कूलको कक्षा कोठाभित्र प्रयोग हुने टेबल, कुर्सीलगायत सम्पूर्ण भौतिक संरचनासमेत चीन सरकारले नै उपलब्ध गराएको छ ।

गत कात्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणसँगै सो विद्यालय भवनको उद्घाटन गरेपछि दरबार हाइस्कूल पुनः सञ्चालनमा आए पनि कोरोना महामारीका कारण हालसम्म विद्यालय बन्द रहेको छ ।

भानु माविका प्रधानाध्यापक अखिलेशप्रसाद आजाद आगामी दिनमा आधुनिक र सुविधासम्पन्न भौतिक संरचनाका साथै प्रयोगशालासमेत रहेकाले आशानुरुप विद्यार्थी आउने बताउँछन् । उनले आगामी शैक्षिक सत्रदेखि बालविकास कक्षा सञ्चालनका लागि समेत तयारी पूरा गरिएकोे जानकारी दिए ।

नेपालको शैक्षिक क्षेत्रको ऐतिहासिक धरोहर दरबार हाइस्कूल भूकम्पका कारण भत्किएपछि प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ परिसरमा अस्थायी टहरा निर्माण गरी सञ्चालन गरिएको थियो । अहिले उक्त टहराबाट नयाँ भवनमा सामान सार्ने काम भइरहेको छ ।

तत्कालीन राणा सरकारले विसं १९१० मा दरबारभित्र रहेका आफ्ना बालबालिकालाई पढाउन खोलेकाले यसको नाम दरबार हाइस्कुल राखिएको थियो । तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि विसं १९१० असोज २७ गते नेपालमा पहिलो औपचारिक विद्यालय ‘दरबार हाई स्कूल’ स्थापना गरेका थिए । राजामहाराजाका छोराछोरीले मात्रै पढ्न पाउने गरी स्थापना गरिएको सो हाइस्कूूलमा अङ्ग्रेजी पढाउन बेलायतबाटै शिक्षक ल्याइएको इतिहासमा उल्लेख छ ।

विसं १९३३ मा रणोद्दीपसिंह प्रधानमन्त्री भएपछि राणाका सेवामा खटिएका कर्मचारीका छोराछोरीले पनि त्यहाँ पढ्न पाउने व्यवस्था भएको थियो । विसं १९४२ मा रणोद्दीपको हत्यापछि वीरशम्शेरले विद्यालयलाई जमलस्थित सेतो दरबारको ढोका नजीक सारेका थिए । विसं १९५७ मा देवशम्शेर प्रधानमन्त्री भएपछि दरबार हाइस्कूलमा सर्वसाधारण जनताले पढ्न पाउने व्यवस्था भएको हो ।

वि.सं.२०७७ मंसिर २२ सोमवार १४:१६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...