काठमाडौं । सौर्य ऊर्जा प्रणालीबाट बिजुली उत्पादन गर्न सिङापूरबाट झण्डै २० अर्ब रुपैयाँ (१८ करोड ९५ लाख अमेरिकी डलर) विदेशी लगानी आउने भएको छ ।
राइजेन इनर्जी सिंगापुर जेभीले सौर्य प्रणाली जडान गरेर नेपालमा २५० मेगावाट बिजुली उत्पादन गर्न यो रकम लगानी गर्ने लगानी बोर्डका सहप्रवत्ता तथा उपसचिव रमेश अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट सहितको २५० मेगावाट क्षमताको ग्रीडमा जोडिने सौर्य ऊर्जा परियोजना स्थापनाको लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्न लगानी बोर्डको कार्यालय र राइजेन इनर्जीबीच समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा क्रमशः १२५ मेगावाटका दरले जम्मा २५० मेगावाट सौर्य ऊर्जा परियोजना र २० मेगावाटका दरले जम्मा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्ट स्थापनाका लागि अध्ययन गरिने भएको छ ।
एमओयूमा बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट र कम्पनीको तर्फबाट उक्त कम्पनीका दक्षिण एशियाका लागि विकास प्रबन्धक वाङ क्विङले हस्ताक्षर गर्नुभएको छ ।
विकासकर्ता कम्पनीले सर्वेक्षण अनुमति पाएको १२ महिनाभित्र अध्ययन प्रतिवेदन तयार गरी लगानी बोर्डको कार्यालयमा बुझाउनु पर्नेछ ।
२०७७ असार ५ मा बसेको बोर्डको ४४ औं बैठकले उक्त कम्पनीलाई प्रतिवेदन तयार गर्न अनुमति दिने र यसका लागि सर्वेक्षण अनुमति प्रदान गर्ने निर्णय गरेको थियो । यो नेपालको हालसम्मकै ठूलो सौर्य ऊर्जा परियोजना हो ।
वि.सं.२०७७ माघ १६ शुक्रवार ०९:१२ मा प्रकाशित