
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिनामा विप्रेषण आप्रवाह १०.९ प्रतिशतले वृद्धि भएर ५ खर्ब ६७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ ।
पछिल्लो समयमा रोजगारीका लागि विदेश जाने नेपाली कामदारको संख्या घटेपनि विप्रेषण आप्रवाहमा भने वृद्धि भइरहेको छ । जानकारका अनुसार कोरोना कारण आयात न्यून हुँदा हुन्डीको कारोबार रोकिएकोले गर्दा विप्रेषण बढेको छ ।
रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको र विदेशमा भएका नेपाली कामदारले पनि लकडाउन अवधिमा धेरै समयमो तलब नपाउँदा पनि विप्रेषण आप्रवाह भने बढी नै रहेको छ ।
विदेशमा बस्ने नेपालीले बैंकिङ प्रणालीबाट पैसा नेपालमा पठाउनु राम्रो भएपनि आयात सुचारु हुन थालेपनि हुन्डीको कारोबार बढेर बैंकिङ प्रणालीबाट आउने विप्रेषण घट्ने हो की भन्ने चिन्ता भने बढ्न थालेको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.७ प्रतिशतले घटेको थियो । अमेरिकी लरमा विप्रेषण आप्रवाह ६.७ प्रतिशतले वृद्धि भई ४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.५ प्रतिशतले घटेको थियो ।
७ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.९ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २१.७ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.४ प्रतिशतले घटेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.६ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ८.८ प्रतिशतले वृद्धि भई ६ खर्ब २९ अर्ब ८३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.५ प्रतिशतले घटेको थियो ।
वि.सं.२०७७ चैत ३ मंगलवार १६:५८ मा प्रकाशित