काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा १५ करोड रुपैयाँ बढीको यार्सागुम्बा निर्यात भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको बैशाख मसान्तसम्मको तथ्याङ्क अनुसार नेपालबाट १५ करोड १७ लाख ६० हजार रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको हो ।
यार्सागुम्बा नेपालको हिमाली क्षेत्रमा पाइने जडीबुटी हो । यो बैशाखदेखि असारसम्म संकलन हुने गर्दछ । विभागका अनुसार १० महिनाको अवधिमा २५३ केजी यार्सागुम्बा निर्यात भएको छ ।
नेपालबाट कम्बोडिया, चीन, हङकङ, मलेशिया, ओमन, सिंगापुर, अमेरिका, भेटनाम, यूएई लगायतका देशहरुमा निर्यात हुने गरेको छ ।
वैशाख मसान्तसम्म सबैभन्दा बढी हङकङमा निर्यात भएको छ । उक्त देशमा १२६ केजी यार्सागुम्बा निर्यात भएको विभागले जनाएको छ । १० महिनाको अवधिमा ६ करोड ९५ हजाल ३६ हजार रुपैयाँ बराबरको यार्सागुम्बा हङकङ निर्यात भएको हो ।
यार्सागुम्बा हङकङपछि सबैभन्दा धेरै कम्बोडियामा पुगेको छ । उक्त देशमा ४७ केजी यार्सागुम्बा निर्यात भएको हो । कम्बोडियामा बैशाख मसान्तसम्म ३ करोड ५ लाख ७१ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।
यस्तै, भेटनाममा पनि यार्सागुम्बाको माग बढेको छ । उक्त देशमा २ करोड ६८ लाख ५ हजार रुपैयाँ बराबरको ३९ केजी यार्सागुम्बा निर्यात भएको हो ।
त्यसैगरि, अमेरिकामा १ करोड ५४ लाख १५ हजार रुपैयाँ बराबरको २६ केजी, मेलिशयामा ६४ लाख ९१ हजार बराबरको ११ केजी, सिंगापुरमा १५ लाख ३० हजार रुपैयाँ बराबरको , चीनमा ७ लाख ५८ हजार, यूएईमा ५ लाख ९३ हजार, ओमनमा ५९ हजार रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ ।
वि.सं.२०७८ जेठ १३ बिहीवार १६:४२ मा प्रकाशित