back
NMB ad

आव २०७८-७९ को बजेटले यी हुन् कर छूट दिएका र बढाएका प्रमुख क्षेत्र

Kumari bank ad

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेटमार्फत विभिन्न क्षेत्रमा कर छुट दिने घोषणा गरेको छ । कोरोना महामारीको समयमा सरकारले ल्याएका बजेटले कोरोनाको कारण शिथिल बनेको अर्थतन्त्रलाई उकास्न अधिकांश क्षेत्रमा कर छूट दिने व्यवस्था गरेको छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट मार्फत वार्षिक २० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ९० प्रतिशत, वार्षिक २० लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको कारोबार भएका करदातालाई ७५ प्रतिशत र वार्षिक ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कारोबार भएका करदातालाई ५० प्रतिशतले आयकर छुट दिने व्यवस्था गरेको छ ।

कोरोनाबाट अत्याधिक प्रभावित होटल, ट्राभल, ट्रेकिङ्ग, यातायात तथा हवाई सेवा, चलचित्र उद्योग र सञ्‍चार गृहको करयोग्य आयमा १ प्रतिशत मात्र आयकर लाग्ने व्यवस्था गरी ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पुर्‍याइएको छ ।

कम्पनी ऐन, २०६३ तथा प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अनुसार आर्थिक वर्ष २०७५-७६ सम्मको वार्षिक विवरण नबुझाएका तथा नविकरण नगरेका कम्पनी तथा फर्मले २०७८ साल असोज मसान्तभित्र विवरण र शुल्क तथा जरिवानाको १० प्रतिशत रकम बुझाएमा बाँकी शुल्क तथा जरिवाना मिनाहा दिने व्यवस्था गरिएको छ ।

आयकर ऐन, २०५८ मूल्य अभिवृद्धि कर ऐन, २०५२ र अन्तः शुल्क ऐन, २०५८ बमोजिम २०७७ साल असार मसान्तभित्र भएको कर निर्धारण उपर चित्त नबुझाई आन्तरिक राजस्व विभाग वा राजस्व न्यायाधिकरण वा अदालतमा विचाराधीन मुद्दामध्ये झुट्टा तथा नक्‍कली विजक बाहेकका मुद्दा सम्बन्धित करदाताले फिर्ता लिई निर्धारित कर र सोमा लागेको व्याजको ५० प्रतिशत रकम २०७८ मंसीर मसान्तसम्म बुझाएमा बाँकी व्याज, शुल्क, थप दस्तुर र जरिवाना मिनाहा हुने व्यवस्था गरिएको छ ।

आयकर ऐन, २०५८, मूल्य अभिवृद्धि कर ऐन, २०५२ र अन्तःशुल्क ऐन, २०५८ बमोजिम बक्यौता रहेको २०७६ असार मसान्तसम्मको कर रकम र सोमा लागेको व्याज २०७८ पुस मसान्तभित्र दाखिला गरेमा शुल्क, जरिवाना तथा थप दस्तुर मिनाहा हुने व्यवस्था गरिएको छ ।

चालु आर्थिक वर्षमा व्यावसायिक सामाजिक जिम्मेवारी बहन गर्ने प्रयोजनका लागि छुट्याइएको रकममध्येस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको विशिष्टीकृत अस्पताल निर्माण वा तोकिएको स्वास्थ्य संस्थालाई उपलब्ध गराएको कोभिड–१९को उपचारसँग सम्बन्धित स्वास्थ्य उपकरण तथा सामग्रीमा भएको खर्च आयकर गणना प्रयोजनका लागि कट्टी गर्न दिने व्यवस्था मिलाएको छ ।निवृत्तभरण वापतको करयोग्य आय गणना गर्दा थप २५ प्रतिशत रकम छुट दिने व्यवस्था मिलाएको छ ।

करदाताको करयोग्य कारोबारमा प्रयोग भएको डिजेल र एलपी ग्याँसको खरिदमा तिरेको मूल्य अभिवृद्धि कर कट्टी गर्न पाउने व्यवस्था मिलाएको छ । ढुवानी सेवा, ढुवानी साधनको भाडा, कार्गो सेवा, ई–लाइव्रेरी सेवा, निक्षेप सुरक्षण शुल्क, ट्रेकिङ्ग तथा टुर प्याकेज, साइलो तथा साइलो प्रयोगको सेवा शुल्क र उत्पत्तिको प्रमाण(पत्र जारी गर्दा लाग्ने शुल्कमा मूल्य अभिवृद्धि कर छुट दिएको छ ।

वण्डेड वेयरहाउसको सुविधा अन्तर्गत निर्यातमूलक उद्योगले बैंक ग्यारेन्टीमा आयात गरेको कच्चा पदार्थबाट उत्पादित वस्तु समयमै निर्यात गर्न नसकेका उद्योगको लागि निर्यात गरी बैंक ग्यारेन्टी फुकुवा गर्ने म्याद २०७८ चैत्र मसान्तसम्म बढाइएको छ ।

अक्सिजन ग्याँस, लिक्विड अक्सिजन, अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका अन्य जीवनदायक सामग्री र औषधी आयात, उत्पादन तथा विक्री वितरणमा लाग्ने भन्सार महसूल, मूल्य अभिवृद्धि कर र अन्तस्शुल्क २०७८ पुस मसान्तसम्म छुट दिएको छ ।

विद्युतको आन्तरिक खपत वृद्धि गर्न तथा वातावरणमैत्री यातायातका साधनको प्रयोगलाई बढावा दिन विद्युतीयसवारी साधनको आयातमा अन्तःशुल्क पुरै खारेज गरी भन्सार महसुल समेत उल्लेख्य मात्रामा घटाएको छ ।

इन्डक्सन चुल्होको भन्सार महसुल दर घटाएर १ प्रतिशत कायम गरेको छ । रेफ्रिजेरेटर, ग्राइन्डर, राइसकुकर, पङ्खा लगायतका विद्युतीय उपकरणको अन्तःशुल्क खारेज गरी भन्सार महसुल घटाएको छ । शिशु स्वास्थ्य र पोषणलाई बढावा दिन बच्चाले खाने दुधको भन्सार महसुल ५० प्रतिशत घटाइएको छ ।

यस्तै मूल्य अभिवृद्धि करको दर यथावत् राखिएको छ । भन्सार महसूलका दरहरुमा सामान्य समायोजन गरिएको छ । मदिरा, वियर, वाइन, चुरोट, सुर्तीजन्य तथा हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरिएको छ ।

छुटको सीमाभन्दा बढी करयोग्य वस्तु तथा सेवाको कारोबार गर्ने करदातालाई मूल्य अभिवृद्धि करको दायरामा ल्याइने छ। मूल्य अभिवृद्धि करमा दर्ता भएका सबै करदाताले क्रमशः अनिवार्य रुपमा विद्युतीय प्रणालीबाट विजक जारी गर्नुपर्ने व्यवस्था मिलाइनेछ ।

साना करदातालाई लाग्दै आएको करको दर यथावत राखी पूर्वानुमानित आय विवरण बुझाउने कारोवारको सीमा २० लाखबाट ३० लाख पुर्‍याइएको छ ।

कारोबारमा आधारित कर बुझाउने करदाताको कारोबारको सीमा ५० लाखबाट १ करोड पुर्‍याइएको छ । सामुहिक लगानी कोषको आयमा कर नलाग्ने व्यवस्था गरिएको छ ।

डेविट कार्ड, क्रेडिट कार्ड, क्यूआरकोड, स्क्यानटुपे लगायत अन्य विद्युतीय माध्यमबाट भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्दा तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशतले हुने रकम उपभोक्ताले तत्काल फिर्ता पाउने व्यवस्था कार्यान्वयन गरिनेछ ।

स्वदेशी उद्योगको संरक्षणका लागि औद्योगिक कच्चा पदार्थको भन्सार दर तयारी वस्तुको भन्दा कम्तिमा १ तह कम हुने व्यवस्था मिलाइएको छ । आन्तरिक उत्पादनका केही वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाइएको छ ।

चिया, जुट, चलचित्र, पश्मिना, ह्याचरी उद्योग र कृषि तथा नर्सरी फर्ममा प्रयोग हुने यन्त्र उपकरण र पार्ट पुर्जाको भन्सार महसुल छुट दिएको छ । नेपालमा दर्ता भएका सिपिङ्ग कम्पनीले कन्टेनर आयात गर्दा लाग्ने भन्सार महसुल घटाएको छ ।

कृषिको व्यावसायीकरण गरी उत्पादन र रोजगारी वृद्धि गर्न व्यवसायिक कृषि आयमा लाग्ने करमा ५० प्रतिशत छुट दिएको छ । सामूहिक व्यावसायिक खेती गर्ने कृषि सहकारी संस्थाले आयात गर्ने एउटा ढुवानीको साधनमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट दिएको छ ।

कोभिड महामारीपछिको आर्थिक पुनरूत्थानलाई तीब्रता दिन आगामी आर्थिक वर्षको साउन १ गतेदेखि स्थापना हुने उत्पादनमुलक विशेष उद्योगको लागि संस्थागत आयकरको दर ५ वर्षभित्र १५ प्रतिशतमा कायम गर्ने गरी प्रत्येक वर्ष १ प्रतिशत विन्दूले घटाउँदै जाने नीति अवलम्बन गरिनेछ ।

स्टार्टअप व्यवसायलाई कारोबार सुरु गरेको मितिले ५ वर्षसम्म लाग्ने आयकरमा शत प्रतिशत छुट दिइने छ । निजी क्षेत्रका उद्योग प्रतिष्ठानले बढीमा ५ वटा स्टार्टअप व्यवसायलाई प्रति व्यवसाय १ लाखसम्मको बीउ पुँजी उपलब्ध गराएमा सो रकम करयोग्य आय गणना गर्दा कट्टी गर्न पाउने व्यवस्था मिलाइएको छ ।

स्वदेशमा उत्पादन गरेको कच्चा पदार्थ तथा सहायक कच्चा पदार्थ विशेष उद्योगलाई विक्री गरी प्राप्त गरेको आयमा लाग्ने करमा २० प्रतिशत छुट दिने र विशेष उद्योगले निकासी गरी प्राप्त गरेको आयमा १० प्रतिशत मात्र कर लाग्ने व्यवस्था मिलाइएको छ ।

बैंकहरूले विदेशी वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानीमा लाग्ने अग्रिम करको दर घटाइएको छ । सहकारी बैंक तथा सहकारी संघ संस्थाले एक आपसमा ऋण लगानी बापत तिरेको ब्याजमा अग्रिम कर कट्टी गर्न नपर्ने व्यवस्था गरिएको छ ।

औद्योगिक क्षेत्र वा औद्योगिक ग्राम बाहिर सञ्‍चालनमा रहेका उद्योग औद्योगिक क्षेत्र वा औद्योगिक ग्राममा स्थानान्तरण भएमा उत्पादन शुरू भएको ३ वर्षसम्म आयकरमा ५० प्रतिशत र त्यसपछिको ५ वर्षसम्म २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ ।

राजस्व चुहावटलाई कडाइका साथ नियन्त्रण गरिने छ । बजार अनुगमन, कर परीक्षण तथा अनुसन्धानलाई तीव्रता दिइनेछ। केन्द्रीय विजक अनुगमन प्रणाली, आशिकुडा प्रणाली, भिसिटिएस सूचना प्रणाली, भूमि व्यवस्थापन तथा अभिलेख र बैंक तथा वित्तीय संस्थाहरुको सूचना प्रणालीबीच अन्तर–आबद्धता कायम गरी एकीकृत करदाता सूचना प्रणालीको विकास गरिनेछ।

राजस्वको दायरा विस्तार एवम् कराधारको संरक्षण, कर चुहावट नियन्त्रण र लगानीमैत्री वातावरण निर्माण गर्न मूल्य अभिवृद्धि कर, आयकर,भन्सार, अन्तःशुल्क र गैर कर लगायतका प्रत्यक्ष एवम् अप्रत्यक्ष कर प्रणालीमा गर्नुपर्ने सुधारका लागिसुझाव दिन कर प्रणाली पुनरावलोकन उच्चस्तरीय आयोग गठन गरिनेछ ।

कर बक्यौता नभएका र चालु वर्षमा स्वयं कर निर्धारण अनुसारको कर भुक्तानी गरेका सबै करदाताले स्वचालित प्रणालीबाट कर चुक्ता प्रमाणपत्र पाउने व्यवस्था मिलाइनेछ । मूल्य अभिबृद्धि करको खरिद(बिक्री खाता प्रत्येक वर्ष कर अधिकृतबाट प्रमाणित गर्नुपर्ने हालको व्यवस्था हटाइएको छ । छैठौं चरणको भन्सार सुधार तथा आधुनिकीकरण योजना आगामी साउन १ गतेदेखि लागू गरिनेछ ।

वि.सं.२०७८ जेठ १६ आइतवार ०९:२१ मा प्रकाशित

You can share this post!

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १४:५६

चौतारा (सिन्धुपाल्चोक), ६ वैशाखः चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी...

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...