back
NMB ad

म्युचुअल फन्डमा लगानी, व्यवस्थापन र लगानीकर्ताले बुझ्नै पर्ने सवाल ( वित्तीय अर्थशास्त्री मुक्ति अर्यालको लेख)

Kumari bank ad

पुँजी बजारमा विभिन्न प्रकारका फन्डहरूको आउने क्रम बढ्दो छ । बोलीचालीमा फन्ड भन्ने बित्तिकै म्युचुअल फन्ड र म्युचुअल फन्ड भन्ने बित्तिकै बन्द मुखी भन्ने बुझ्ने गरिन्छ । तर सही अर्थमा ती सबै म्युचुअल फन्ड (बन्द मुखी) होइनन् । हरेक फन्डको फरक विशेषता र विशेषता अनुसार फन्डको लागत, जोखिम र प्रतिफल फरक पर्ने हुँदा हरेक फन्डलाई फरक हिसाबले बुझ्नुपर्ने हुन्छ ।

अहिलेसम्म इक्विटीमा धेरै लगानी गरिने फन्डहरू निष्कासन हुँदै आएकोमा निश्चित आय दिने बण्ड, डिबेन्चर जस्ता फिक्स ईन्कम सेक्युरिटिजमा धेरै लगानी गर्ने उद्देश्यको खुला मुखी बण्ड म्युचुअल फन्डले पनि बजार प्रवेश गरेको छ । मार्केटमा फन्डको सङ्ख्या बढ्दै जानु राम्रो हो । त्यसमा पनि फरक प्रकारको फन्ड हुनु झनै राम्रो हो । तमाम कमी(कमजोरीको बाबजुद बण्डमा आधारित खुला मुखी म्युचुअल फन्ड जस्तो फरक प्रकारको वित्तीय साधनको पुँजी बजारमा प्रवेश हुनु पक्कै राम्रो कार्य हो । कतिपयमा इक्विटी फन्डभन्दा बण्डको लगानी व्यवस्थापन सरल र सहज हुन्छ भन्ने बुझाई रहेको पाइन्छ तर त्यो सही होइन । बण्ड फन्डको व्यवस्थापन जटिल हुन्छ ।

बण्ड फन्ड सुरुवात हो । पुंजीबजारको कायापलट गर्ने क्षमता भएका वित्तीय साधनहरू ल्याउन सकिन्छ । तर यसको पहिलो सर्त यस्ता साधनको महत्त्व र आवश्यकताबारे नियमन निकायहरूमा प्रस्ट बुझाई र तिनको निर्बाध प्रवेश हो । अर्को सर्त त्यस्ता वित्तीय साधनहरू एकदमै निष्पक्ष, सही मूल्य निर्धारण भएका र बिना कुनै कमी-कमजोरी पूर्ण जानकारीका साथ निष्कासन हुनु हो । यसको लागि अत्यन्तै कुशल, दक्ष र सक्षम जनशक्तिको आवश्यकता अर्को सर्त हो । यस्तो जनशक्तिले मात्र बजारको आवश्यकता बुझेर सोही अनुरूप वित्तीय साधन बनाउन सक्दछ ।

मुक्ति अर्याल, वित्तीय अर्थशास्त्री
मुक्ति अर्याल, वित्तीय अर्थशास्त्री

फरक प्रकारका फन्डहरू बजारमा आइरहँदा लगानीकर्ताले यी फन्डबारे राम्रो जानकारी राख्न आवश्यक हुन्छ । फन्ड कति लगानीयोग्य छ ? यसमा लगानी गर्न के-कस्ता सूचना र जानकारी आवश्यक छ । फन्डको खर्च अनुपात कति छरु फन्डको सम्भावित जोखिम र प्रतिफल के छरु फन्ड किनबेचमा लाग्ने शुल्कहरू के-कस्ता छन् फन्ड व्यवस्थापकको क्षमता र दक्षता के छरु बिबरणपत्रमा दिइएको जानकारी सही र पर्याप्त छ कि छैन ? लगानी पुर्ब यी विषयमा लगानीकर्ता सु-सूचित हुन् जरुरी छ ।

फन्डको प्रभाबकारी व्यवस्थापनका लागी लगानीकर्ताभन्दा पहिला फन्ड व्यवस्थापकहरू माथिका यी विषयमा जानकार हुन् आवश्यक छ । नियमन निकायमा कार्यरत कर्मचारीहरू, लगानी परामर्श दिने संस्थामा कार्यरत कर्मचारीहरू र फाइनान्स रिपोर्टरहरूले पनि यस्ता फन्डबारे सही जानकारी राख्न आवश्यक छ । यस लेखमा फन्ड व्यवस्थापनका यिनै विविध पक्षबारे विश्लेषण हुनेछ ।

१. फन्डको प्रकृत लगानीकर्ता आफुले खरिद गर्न चाहेको फन्ड कस्तो प्रकृतिको हो सो बारे प्रस्ट हुनुपर्दछ । फन्डको प्रकृतिले लगानीकर्ताको लागत, प्रतिफल र जोखिममा प्रभाव पार्दछ ।

नेपालको कानुनमा सबै फन्डलाई म्युचुअल फन्ड भनेर परिभाषित गरिएको र म्युचुअल फन्डलाई बन्द र खुला मुखी भनेर वर्गीकरण गरिएको छ । निश्चित अवधि रही स्टक एक्सचेन्जमा सूचीकरण भई कारोबार हुने म्युचुअल पण्ढलाई बन्द मुखी र पुँजी र अवधि दुवै निश्चित नभएको र फन्ड व्यवस्थापक मार्फत मात्र किनबेच गरिने म्युचुअल पण्ढलाई खुला मुखी भनिएको छ ।

हालसम्म नेपालमा कुल २८ फन्ड निष्कासित भएकोमा ६ अवधि सकिएका छन् भने २२ सञ्चालनमा छन् । सञ्चालित मध्ये १९ स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबार हुने इटिएफ र टार्गेट फन्डको मिश्रित विशेषता भएका फन्ड छन् भने दुई खुला मुखी म्युचुअल फन्ड र एक इकाई योजना (युनिट ट्रस्ट) छन् । बन्द मुखी म्युचुअल फन्ड, इन्डेक्स फन्ड र फण्डस् अफ फन्ड हालसम्म बजारमा उपलब्ध छैनन् । हेजफण्ड, प्राइभेट इक्विटि र भेन्चर क्यापिटल केही आइसकेका र थप आउने सुरसारमा छन् ।

नेपालमा जसरी म्युचुअल फन्डलाई व्याख्या गरिएको छ, त्यो अन्तर्राष्ट्रिय परिभाषा र अभ्यास अनुरूप छैन् । अन्तर्राष्ट्रिय अभ्यास र परिभाषा अनुसार स्टक एक्सचेन्जमा सूचीकरण भई कारोबार हुने फन्डहरू एक्सचेन्ज ट्रेडेड फन्ड (इटिए) हुन् भने निश्चित अवधि भएका फन्डहरू टार्गेट फन्ड हुन् । पुँजी निश्चित तर अवधि अनिश्चित भई फन्ड व्यवस्थापक मार्फत मात्र किनबेच हुने बन्द मुखी म्युचुअल फन्ड हो । पुँजी र अवधि दुवै अनिश्चित भएको तर फन्ड व्यवस्थापक मार्फत मात्र किनबेच हुने खुला मुखी म्युचुअल फन्ड हो । पुँजी र अवधि दुवै निश्चित नभएका ट्रस्ट करार बमोजिम सञ्चालन हुने फन्ड इकाई योजना हुन् । अन्तर्राष्ट्रिय परिभाषा र अभ्यास अनुरूप वित्तीय साधन नबन्दा ती साधन जोखिमपूर्ण र भेदभावपूर्ण हुन् गएका छन्, जसको कारण लगानीकर्ताले अनावश्यक र अतिरिक्त लागत बेहोर्नु परेको छ ।

२. फन्डको उद्देश्य र लगानी नीति  लगानीकर्तालाई फन्डको उद्देश्य प्रस्ट जानकारी हुनुपर्छ । वार्षिक पुँजीगत लाभ, दीर्घकालीन उच्च प्रतिफल, नियमित आम्दानी, जोखिम कम गरेर पुँजी संरक्षण गर्दै उचित प्रतिफल, बुद्धिमत्तापूर्ण लगानी व्यवस्थापन आदी जस्ता कुन उद्देश्य फन्डले प्राप्त गर्ने हो त्यसको प्रस्ट जानकारी लगानीकर्तालाई दिनुपर्दछ ।

फन्डको लगानी सक्रिय वा निष्क्रियमध्ये कुन विधिबाट हुने हो त्यसको जानकारी दिन आवश्यक हुन्छ । सक्रिय लगानी विधि हुँदा पोर्टफोलियो टर्न ओभर ज्यादा हुन गई खरिद-बिक्री र अनुसन्धान खर्च उच्च भई प्रतिफल घट्न जान्छ । निष्क्रिय लगानी विधिमा यस्ता खर्चमा बचत भई प्रतिफल बढ्न जान्छ । बन्द प्रकृतिको फन्ड पूर्ण सक्रिय वा पूर्ण निष्क्रिय दुवै हुनसक्छ । खुला प्रकृतिको फन्ड तरलता र फन्ड व्यवस्थापनका लागी केही सक्रिय हुनै पर्ने हुन्छ । फन्ड कुन हदसम्म सक्रिय वा निष्क्रिय हुने हो बिबरणपत्रमा प्रस्ट पार्न जरुरी हुन्छ ।

३. खर्चको अनुपातसङ फन्डमा लगानी गर्दा लगानीकर्ताले व्यवस्थापन शुल्क, सञ्चालन खर्च र फन्ड खरिद बिक्री शुल्क गरेर तिन किसिमका खर्चहरू बेहोर्नुपर्दछ । नेपालमा प्राय सबै फन्डहरूले १.५ % व्यवस्थापन शुल्क ०.१ % डिपोजीटरी शुल्क ०.२ % सुपरिवेक्षक शुल्क गरेर वार्षिक शुल्क मात्रै १.८ % लिने गरेका छन् ।

सञ्चालन खर्चमा व्यवस्थापन शुल्कको अलावा फन्ड सञ्चालनमा लाग्ने सम्पूर्ण खर्चहरू जस्तै डिपोजीटरी शुल्क, सुपरिवेक्षण शुल्क, लगानी परामर्श सेवा शुल्क, बिक्री-वितरण खर्च, धितो पत्र खरिद-बिक्रीमा लाग्ने ब्रोकर कमिसन, ट्रस्टी र कस्टोडियन शुल्क, नामसारी शुल्क, निष्कासन खर्च, फन्ड-इकाई दर्ता शुल्क, क्रेडिट रेटिडग शुल्क, एसिड दर्ता शुल्क, वार्षिक नवीकरण शुल्क, लेखापरिक्षण खर्च, कानुनी खर्च, ओभर ड्राफ्टमा ब्याज खर्च, सफ्टवेयरको खर्च आदी आउँछन्। यी खर्च केही हदसम्म फन्ड व्यवस्थापकले नियन्त्रण गर्न सक्छ । फन्ड खरिद-बिक्री खर्च भने लगानीकर्ताको खरिदबिक्री प्रवृत्तिमा भर पर्दछ र यो खर्च हरेक लगानीकर्ताले व्यक्तिगत रूपमा बेहोर्नु पर्दछ ।

फन्डमा लगानी गर्दा महत्त्वपूर्णता हेर्नुपर्ने खर्चको अनुपात हो, जुन फन्डको वार्षिक खर्चलाई कुल सम्पत्तिले भाग गरेर निकालिन्छ । बिबरणपत्रमा अनुमानित खर्चको अनुपात दिने अभ्यास छैन ।

नेपालमा फन्डहरूको वार्षिक शुल्कमा थप अन्य खर्चहरू जोड्दा खर्चको अनुपात पहिलो वर्ष ३ % भन्दा बढी र पाँचौँ वर्षमा २ % भन्दा बढी रहेको पाइन्छ । यसमा लगानीकर्ताले फन्ड खरिद-बिक्री गर्दा लाग्ने शुल्क समावेश छैन । सबै लागत समावेश गर्ने हो भने लगानीकर्ताको वार्षिक लागत २.५ % र ३.५ % सम्म पर्न जान्छ । लगानीकर्ता अलिकति सजग र चनाखो हुने हो भने उनीहरू यो लागतलाई ०.८ % मा सीमित गर्नसक्छन । साथै उनीहरू आफ्नो लगानी फन्ड व्यवस्थापकले भन्दा धेरै प्रतिफल प्राप्त हुने गरी व्यवस्थापन गर्नसक्छन ।

अन्तर्राष्ट्रिय अभ्यासमा फन्डहरूको खर्चको अनुपात ०.५५ भन्दा कम भएको पाइन्छ । खर्चको अनुपात ०.५ % र २.५ % हुँदा वार्षिक १० % प्रतिफल दिने फन्डमा आज गरिएको दश हजार लगानीमा ७ बर्सपछि १८ % ले फरक पर्दछ । १० वर्षमा यो फरक २० % भन्दा ज्यादा हुन्छ ।

नेपालको परिप्रेक्ष्यमा खर्चको अनुपातलाई १५ भन्दा कममा सीमित नगर्नुलाई फन्ड व्यवस्थापनमा दक्ष, सक्षम र प्रभावकारी मान्न सकिँदैन। उच्च खर्चको अनुपात लगानीकर्ताको लागी कमसल प्रतिफल हुन्छ । खर्चको अनुपात कम गर्नु फन्डको लागी महत्त्वपूर्ण र प्राथमिकताको विषय हो । तर नेपालमा फन्ड व्यवस्थापकहरू यसप्रति उदासीन र गैर जिम्मेवार देखिन्छ, जुन लगानीकर्ताको लागी चिन्ताको विषय हो ।

४. सम्भावित जोखिम : फन्डले लगानी गर्दा हुनसक्ने सम्भावित जोखिमबारे बिबरणपत्रमा सतही र अपर्याप्त उल्लेख भएको पाइन्छ । फन्डमा लगानी गर्दा उत्पन्न हुनसक्ने सम्भावित सबै जोखिम बिबरणपत्रमा उल्लेख गर्न आवश्यक छ ।

निश्चित अवधिको जोखिम, लगानीको जोखिम, तरलताको जोखिम, प्रतिस्पर्धीबाट उत्पन्न हुने जोखिम, नयाँ वित्तीय साधनका कारण हुने जोखिम, पोर्टफोलियो टर्नओभरको जोखिम, हेजिङ्ग गर्न नपाएको कारणले हुने जोखिम, अधिक ऋणको कारण हुने जोखिम, मार्केटको कारण हुने जोखिम, समयमै मार्केटमा कारोबार गर्न नसकेका कारण हुने जोखिम, साइबर सुरक्षा र सञ्चालन जोखिम, फाइनान्स मोडेल र तथ्याङ्कको अभावमा हुने जोखिम, नयाँ र सानो फन्डको जोखिम, विविधीकरण गर्न नसकेका कारण हुने जोखिम, अन्य लगानी व्यवस्थापन कम्पनीको कारण हुने जोखिम, गणितीय रणनीतिको जोखिम, भुक्तानीको जोखिम, पुनर् खरिदको जोखिम, व्यवस्थापनको जोखिम, विभिन्न सम्पत्तिको जोखिम, सरकारी ऋणपत्रको जोखिम, कारोबार व्यवस्था र आदेश कार्यन्बयनको जोखिम, मूल्याङ्कनको जोखिम, मूल्य घटबढ (भोल्याटिलिटी)को जोखिम आदिबारे व्याख्या सहित उल्लेख हुनुपर्दछ ।

फन्ड व्यवस्थापक यी सम्भावित जोखिमबारे अनभिज्ञ रहन सक्दैन । उल्लेख नगरिएका जोखिम भविष्यमा घटेमा सो को जिम्मेवार फन्ड व्यवस्थापक हुनुपर्नेछ । यस्तो अवस्थाबाट जोगिन फन्ड व्यवस्थापकले सम्भावित सबै जोखिमबारे जानकारी दिनु आवश्यक हुन्छ ।

५.आधारभूत वित्तीय विश्लेषण : व्यवस्थापकहरूले फन्ड व्यवस्थापनमा कुनै पनि आधारभूत वित्तीय मूल्याङ्कन र सूचकहरू गणना गर्ने, प्रयोग गर्ने र प्रकाशित गर्ने गरेको देखिँदैन । अल्फा, बिटा, सार्प रेसियो, ट्रेनर रसियो, इन्फरमेसन रेसियो, ट्र्याकिंग तरर, रिस्क प्यारी टी, आर स्कावयर्ड, वार्षिक स्ट्याण्डर्ड डेभिएसन आदि सूचकहरूको सही प्रयोग बिना जोखिमलाई न्यूनतम र प्रतिफललाई उच्चतम तहमा राख्न सकिँदैन । फन्डको सही व्यवस्थापन गर्न फन्ड व्यवस्थापकले यस्ता गणना दैनिक गर्न आवश्यक हुन्छ । यी तथ्याङ्क बिना कुनै पनि फन्डको प्रभावकारी व्यवस्थापन हुन् सक्दैन ।

६. वास्तविक जोखिम र प्रतिफल सञ्चालनमा रहेको फन्डमा लगानी गर्ने हो भने लगानीकर्ताले सो फन्डमा निहित जोखिम र प्रतिफलको जानकारी लिन आवश्यक हुन्छ । यी तथ्याङ्क उपलब्ध भएमा मात्र लगानीकर्तालाई लगानीको निर्णय लिन सजिलो हुन्छ ।

हरेक फन्डमा केही न केही जोखिम जहिल्यै अन्तर्निहित हुन्छ तर प्रतिफल भने नहुन पनि सक्छ । प्रतिफल नहुनु उच्च जोखिम हो भने प्रतिफल राम्रो हुनु कम जोखिम हो । नगद लाभांश, पुँजीगत लाभ र पुँजीगत वा खुद सम्पत्तिको मूल्यमा वृद्धि गरेर तीन किसिमले प्रतिफल प्राप्त हुन्छ । यी सबैको योगफल फन्डको वार्षिक प्रतिफल हुन्छ ।

फन्डको बजार मूल्य वा खुद सम्पत्तिको मूल्यमा हुने दैनिक घटबढलाई मापन गरेर जोखिम गणना गरिन्छ । फन्ड व्यवस्थापकले जोखिम र प्रतिफलको गणना दैनिक, मासिक, त्रैमासिक, अर्ध(वार्षिक वा वार्षिक रूपमा गरी आफ्नो वेबसाइटमा राखेको हुनुपर्दछ। यी तथ्याङ्क तुलना गरी हेर्न मार्केटको पनि सोही अवधिको जोखिम र प्रतिफल सँगसँगै प्रकाशित भएको हुनुपर्दछ । तुलनात्मक तथ्याङ्क नभै कुनै पनि फन्डमा सही लगानी गर्न सकिँदैन ।

अन्तमा: फन्डको निष्कासनमा बिवरणपत्र नै एक मात्र कानुनी कागजात भएकोले यसमा दिइने जानकारी र सूचनाहरू शुद्ध एवं पर्याप्त हुनुपर्दछ। हालसम्म प्रकाशित बिबरणपत्रहरु अपुरो र अपर्याप्त मात्र होइन, थुप्रै कमी-कमजोरी र तथ्यगत त्रुटि समेत रहेका छन्। फन्ड लगानीमा हेरिने उद्देश्य, प्रतिफलको अनुमान, जोखिमको व्यवस्थापन, खर्चको अनुपात, व्यवस्थापनको दक्षता जस्ता पक्षबारे बिबरणपत्रमा पर्याप्त जानकारी पाइँदैन। यस्तो हुनुको कारण फन्ड व्यवस्थापकमा जानकारीको कमी, गैर-जिम्मेवारीपन र असावधानी हो, जसको मूल्य लगानीकर्ताहरूले उच्च खर्च र कम प्रतिफलमा चुकाइरहेका छन् ।

बिबरणपत्रमा ऐनले व्यवस्था गरेका सूचना र जानकारी मात्र दिने होइन, फन्ड सञ्चालन र व्यवस्थापनबारे सम्पूर्ण जानकारी दिने हो। तथ्याङ्क उपलब्ध नहुँदा कतिपय जानकारी विवरण पत्रमा समावेश हुनसक्दैनन् । तथ्याङ्क उपलब्ध हुनासाथ यस्ता जानकारी फन्ड व्यवस्थापकले दैनिक, साप्ताहिक, मासिक, बार्षिकरुपमा आफ्नो वेबसाइट वा प्रतिवेदन मार्फत सार्वजनिक गर्नुपर्दछ ।

ट्रस्टी र कस्टोडियन कानुन नभएको विद्यमान अवस्थामा बिबरणपत्रले नै सबै विषय समेटेको हुनुपर्दछ । ४०-५० पेजको बिवरणपत्रमा आधारभूत जानकारी पनि अट्दैन । पर्याप्त जानकारीको लागी विवरण पत्र १५०-२०० पेजको हुन् आवश्यक छ । फन्ड व्यवस्थापकको ब्यबसायिक इमानदारिता र निष्ठा पनि धरै भन्दा धेरै सूचनाको वितरणमा देखिन्छ । उसको दक्षता र सफलता भने मार्केटको भन्दा ज्यादा प्रतिफल आर्जन गर्नुमा भर पर्दछ ।

(साभारः नेपाल धितोपत्र बोर्डको २९ औं  बार्षिकोत्सवमा प्रकाशित विशेषाङ्क बाट)

वि.सं.२०७८ जेठ २६ बुधवार १६:४९ मा प्रकाशित

You can share this post!

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वाईवाई चाउचाउले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०७:१३

काठमाडौं। नेपालको प्रसिद्ध चाउचाउ वाईवाई पनि आईपीओ निष्कासन गर्ने भएको...