back
NMB ad

किन आवश्यक छ क्रेडिट रेटिङ्ग, सेयर लगानीकर्ताले केमा दिने ध्यान ? (निरञ्जय घिमिरेको लेख)

Kumari bank ad

निरञ्जय घिमिरे, धिताेपत्र बाेर्ड, का.मु. उप कार्यकारी निर्देशक

कुनै पनि संस्था वा व्यक्तिको साखको गुणस्तरको मूल्याङ्कन गर्ने कार्य नै क्रेडिट रेटिङ्ग हो । क्रेडिट रेटिङ्ग नियमावली, २०६८ बमोजिम धितोपत्र निष्कासन गर्ने सङ्गठित संस्थाको धितोपत्र, कुनै व्यक्ति वा सङ्गठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट लगायत कार्य गर्ने संस्थालाई क्रेडिट रेटिङ्ग संस्था भनिन्छ भनी परिभाषित गरिएको छ ।

धितोपत्र बजारको सन्दर्भमा रेटिङ्ग लगानीकर्तालाई लगानीका सम्बन्धमा सूसुचितपूर्ण निर्णय लिन महत्त्वपूर्ण सहयोग गर्दछ । क्रेडिट रेटिङ्ग संस्थाबाट प्राप्त रेटिङ्गका आधारमा लगानीकर्तालाई कुनै पनि सङ्गठित संस्था वा धितोपत्रमा लगानी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा निर्णय लिन सहज हुन्छ । क्रेडिट रेटिङ्ग संस्थाबाट प्रदान गरिएको रेटिङ्गको अध्ययन गरी आफूले लगानी गर्न लागेको संगिठित संस्था वा उपकरणमा रहेको जोखिममा सम्बन्धमा लगानकर्ता जानकार हुन सक्दछन् ।

क्रेडिट रेटिङ्गका आधारमा आफूले लगानी गर्न लागेको सङ्गठित संस्था वा उपकरण कति जोखिम रहित छ भन्ने वा सुरक्षित छ भन्ने विश्लेषण गर्न सकिन्छ । क्रेडिट रेटिङ्ग संस्थाले आफ्ना विज्ञ जनशक्ति मार्फत कुनै पनि सङ्गठित संस्था, उपकरण वा व्यक्तिको आर्थिक, व्यवस्थापन र जोखिम पक्षको विश्लेषण गरी स्वतन्त्र र निष्पक्ष रूपमा Creditworthiness वा साख निर्धारण गर्ने गर्दछन् । जस वाट लगानीकर्ताहरूलाई लगानी विश्लेषण गर्न महत्त्वपूर्ण सहयोग पुग्दछ ।

कसले रेटिङ्ग गर्नु पर्ने ?

नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङ्ग व्यवसायलाई नियमित र व्यवस्थित गर्ने उद्देश्यले क्रेडिट रेटिङ्ग नियमावली, २०६८ लागू गरेको छ । क्रेडिट रेटिङ्ग सम्बन्धमा उक्त नियमावलीको नियम ३ को उपनियम (१) मा कुनै पनि सङ्गठित संस्थाले देहाय बमोजिमको कुनै धितोपत्र सार्वजनिक निष्कासन गर्ने भएमा निष्कासन गर्नु पूर्व क्रेडिट रेटिङ्ग संस्थामार्फत रेटिङ्ग गराएर मात्र निष्कासन गर्नुपर्ने व्यवस्था गरेको छ ।

(क) कम्तीमा तीन करोड रुपैयाँ भन्दा बढी मूल्यको सेयरको सार्वजनिक तथा हकप्रद निष्कासन, तर, बोर्डले आवश्यक देखेमा तीन करोड रुपैयाँभन्दा कम मूल्यको सेयरको निष्कासनमा पनि रेटिङ्ग गराउनुपर्ने गरी सार्वजनिक सूचना गरी तोक्न सक्ने ।
(ख) डिवेन्चर तथा अन्य ऋणपत्र निष्कासन,
(ग) अग्राधिकार सेयर निष्कासन,
(घ) अङ्कित मूल्यमा प्रिमियम थप गरी सङ्गठित संस्थाले गर्ने प्राथमिक निष्कासन, फर्दर पब्लिक इस्यु, हकप्रद निष्कासन तथा अन्य निष्कासन,
(ङ) बोर्डले तोकिदिए बमोजिम अन्य धितोपत्र वा उपकरण ।

यसै गरी बोर्डले म्युचुअल फन्डको हकमा योजना व्यवस्थापक र कोष प्रवर्द्धकको रेटिङ्ग गर्नु पर्ने व्यवस्था समेत गरेको छ ।

क्रेडिट रेटिङ्ग संस्थाबाट प्रदान गरिएको रेटिङ्गको अध्ययन गरी आफूले लगानी गर्न लागेको संगिठित संस्था वा उपकरणमा रहेको जोखिममा सम्बन्धमा लगानकर्ता जानकार हुन सक्दछन्

कसले पाउँछ रेटिङ्ग सम्बन्धी कार्य गर्न ?

माथि उल्लेख गरिए बमोजिम रेटिङ्ग सम्बन्धी कार्य गर्न जो सुकैले पाउँदैन । नेपाल धितोपत्र वोर्डवाट अनुमति पत्र प्राप्त गरेर मात्र रेटिङ्ग सम्बन्धी कार्य गर्न पाइन्छ । बोर्डबाट अनुमति पत्र प्राप्त नगरी कसैको क्रेडिट रेटिङ्ग गर्ने वा सो कार्य सम्बन्धी कुनै राय परामर्श दिने कार्य गर्न पाउँदैन । यस्का लागि सबै भन्दा पहिला नेपालमा क्रेडिट रेटिङ्ग कम्पनी स्थापना गर्ने नेपाल धितोपत्र बोर्ड वाट सहमति पत्र प्राप्त गर्नु पर्दछ ।

क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ४ को उपनियम (१) मा “नियम १५ को उपनियम (२) को खण्ड (ख) बमोजिम योग्यता पुगेका सहमति पत्रको लागि विदेशमा स्थापित क्रेडिट रेटिङ्ग व्यवसाय गरिरहेका संस्था वा सहायक कम्पनी मार्फत क्रेडिट रेटिङ्ग गरिरहेका संस्थाले कम्तीमा एकाउन्न प्रतिशत र बढीमा पचहत्तर प्रतिशत स्वामित्व ग्रहण गरी प्रचलित कानुन बमोजिम नेपालमा संयुक्त लगानीमा कम्पनी स्थापना गरी क्रेडिट रेटिङ्ग व्यवसायीको रूपमा काम गर्न चाहेमा बोर्डबाट क्रेडिट रेटिङ्ग कम्पनी स्थापना गर्ने सहमति पत्र प्राप्त गर्न निवेदन दिन सक्नेछ ।” भन्ने व्यवस्था रहेको छ ।

जस बमोजिम नियम १५ को उपनियम (२) को खण्ड (ख) मा विदेशमा स्थापना भएको कम्पनीको हकमा निवेदक संस्थाको विदेश स्थित मुख्य कार्यालय रहेको ठाउँमा कम्तीमा ५० करोड रुपैयाँ बराबरको खुद सम्पत्ति भएको देखिने कागजात रहेको, निवेदक संस्था वा निवेदक संस्थाको सहायक कम्पनीको कम्तीमा तीन वर्षको क्रेडिट रेटिङ्ग व्यवसाय सम्बन्धी अनुभव रहेको, निवेदक संस्था वा निवेदक संस्थाको सहायक कम्पनीलाई उक्त कम्पनी रहेको मुलुकको नियमन निकायबाट क्रेडिट रेटिङ्ग व्यवसाय गर्न अनुमति पत्र प्रदान गरेको कम्तीमा तीन वर्ष पूरा भएको र त्यस्तो अनुमति पत्र हालसम्म बहाल रहेको भन्ने व्यवस्था पुरा गरेको हुनु पर्ने व्यवस्था गरेको छ ।

क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम ४ को मा सहमति पत्र सम्बन्धी आवश्यक पर्ने विवरण तथा कागजात तथा अन्य व्यवस्था गरिएको छ । जस अनुसार प्राप्त निवेदन र संलग्न विवरण तथा कागजात जाँचबुझ गर्दा सम्बन्धित विदेशी संस्थालाई नेपालमा क्रेडिट रेटिङ्ग संस्था स्थापना गर्न सहमति पत्र प्रदान गर्न उपयुक्त देखेमा बोर्डले निवेदकलाई अनुसूची–८ बमोजिमको ढाँचामा विदेशी संस्थाको नाममा सहमति पत्र प्रदान गरी सोको जानकारी कम्पनी रजिस्ट्रार को कार्यालयलाई दिने व्यवस्था रहेको छ । साथै सहमति पत्र प्राप्त संस्थाले दुई वर्षभित्र क्रेडिट रेटिङ्ग संस्था स्थापना गरी अनुमति पत्रको लागि निवेदन पेस नगरेमा त्यस्तो सहमति पत्र स्वतः खारेज भएको मानिने व्यवस्था समेत रहेको छ ।

माथि उल्लेख भए बमोजिम सहमति पत्र प्राप्त संस्थाले कम्पनी स्थापना गरी क्रेडिट रेटिङ्ग संस्थाको सञ्चालनको लागि अनुमति पत्र प्राप्त गर्नको लागि नियमावलीमा तोकिएको ढाँचामा निवेदन तोकिए बमोजिमको दस्तुर र विवरण तथा कागजातसहित बोर्ड समक्ष निवेदन दिनु पर्दछ । नियमावलीको व्यवस्था अनुसार, प्राप्त निवेदन तथा विवरण र कागजात जाँचबुझ गर्दा निवेदकलाई अनुमति पत्र प्रदान गर्न उपयुक्त देखिएमा क्रेडिट रेटिङ्ग सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयार गर्न बोर्डले निवेदकलाई सूचित गर्दछ ।

बोर्डले सूचित गरेको ६ महिना भित्र निवेदक संस्थाले नियमावलीमा उल्लेख भए बमोजिमको पूर्वाधार व्यवस्था गरी सोको जानकारी बोर्ड समक्ष पेस गर्नु पर्दछ । जानकारी प्राप्त भएको १५ दिन भित्र बोर्डले स्थलगत निरीक्षण तथा जाँचबुझ गर्नेछ । निरीक्षण तथा जाँचबुझ गर्दा पूर्वाधार सम्बन्धमा गरेको व्यवस्था अपर्याप्त देखिएमा बोर्डले निश्चित समयावधि तोकी निवेदकलाई थप व्यवस्था गर्न लगाउन सक्दछ । थप समयावधि तोकिएकोमा सो समयावधि भित्र आवश्यक पूर्वाधारको व्यवस्था गरी बोर्डलाई जानकारी गराउनुपर्दछ । निवेदकले तयार गरेको पूर्वाधार उचित देखिएमा बोर्डले नियमावलीको व्यवस्था बमोजिम दस्तुर लिई क्रेडिट रेटिङ्ग व्यवसाय सञ्चालन गर्न अनुमति पत्र प्रदान गर्दछ ।

अनुमति पत्रका लागि सङ्गठित संस्थाको योग्यता

क्रेडिट रेटिङ्ग नियमावली, २०६८ को नियम १५ मा क्रेडिट रेटिङ्ग संस्थाको अनुमति पत्रका लागि आवेदन दिने सङ्गठित संस्थाको देहाय बमोजिमको योग्यता रहेको हुनुपर्ने व्यवस्था रहेको छ ।

(क) कम्पनी सम्बन्धी प्रचलित कानुन बमोजिम लिमिटेड कम्पनीको रूपमा दर्ता भएको,
(ख) उपनियम (२) मा उल्लेख भए बमोजिम योग्यता भएका मुख्य शेयरधनीको कम्तीमा एकाउन्न प्रतिशत शेयर स्वामित्व रहेको,
(ग) खण्ड (ख) मा जुनसुकै कुरा लेखिएको भएता पनि उपनियम (२) को खण्ड (ख) मा उल्लेख भए बमोजिम विदेशी क्रेडिट रेटिङ्ग संस्थाको अनिवार्य रूपमा न्यूनतम पच्चीस प्रतिशत शेयर स्वामित्व रहेको,
(घ) कम्पनीका सञ्चालक तथा संस्थापक कुनै प्रकारको ठगी, जालसाजी वा नैतिक पतन देखिने कुनै अपराधमा सजाय नपाएको वा ऐन तथा नियम पालना नगरेकोमा सजाय नपाएको,
(ङ) कर्जा सूचना केन्द्र वा कुनै नियमन निकायको कालो सूचीमा रहेको भए उक्त सूचीबाट हटेको तीन वर्ष पूरा नभएको,
(च) दामासाहीमा नपरेको,
(छ) कम्पनी वा नियम १५ को उपनियम (२) को खण्ड (ख) मा उल्लिखित विदेशी संस्थासँग क्रेडिट रेटिङ्ग सम्बन्धमा अनुभवी तथा दक्ष जनशक्ति रहेको, तर कम्पनीमा अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, वा वाणिज्य कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको कम्तीमा दुई र चार्टर एकाउन्टेन्ट उपाधि हासिल गरी नेपाल चार्टर एकाउन्टेन्ट संस्थाबाट मान्यता प्राप्त गरेको कम्तीमा दुई कर्मचारी अनिवार्य हुनुपर्ने छ ,
(ज) सञ्चालक तथा कार्यकारी प्रमुखको नियम १६ बमोजिमको योग्यता र नियम १७ बमोजिम अयोग्यता नरहेको,
(झ) कम्पनीको प्रवन्धपत्रमा मुख्य उद्देश्य क्रेडिट रेटिङ्ग गर्ने उल्लेख भएको,
(ञ) निवेदक कम्पनी वा कम्पनीको संस्थापकहरू वित्तीय दक्षता, वित्तीय पर्याप्तता र व्यावसायिक कारोबारमा स्वस्थता, व्यावसायिकता र इमानदारिताका आधारमा ख्याति कमाएको भन्नेमा बोर्ड विश्वस्त भएको ।

(२) नियम ६ बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा निवेदक कम्पनीको मुख्य शेयरधनी देहाय बमोजिमको कुनै एक वा एकभन्दा बढी भएको खण्डमा मात्र क्रेडिट रेटिङ्ग संस्थाको रूपमा कार्य गर्न योग्य भएको मानिने छ

(क) निवेदक कम्पनीको संस्थापक प्रचलित कानुन बमोजिम स्थापना भएको तथा खुद सम्पत्ति एक अर्ब रुपैयाँ भएको सङ्गठित संस्था,
(ख) विदेशमा स्थापना भएको कम्पनीको हकमा देहाय बमोजिमको अवस्था पूरा भएको

(अ) निवेदक संस्थाको विदेश स्थित मुख्य कार्यालय रहेको ठाउँमा कम्तीमा पचास करोड रुपैयाँ बराबरको खुद सम्पत्ति भएको देखिने कागजात रहेको,
(आ) निवेदक संस्था वा निवेदक संस्थाको सहायक कम्पनीको कम्तीमा तीन वर्षको क्रेडिट रेटिङ्ग व्यवसाय सम्बन्धी अनुभव रहेको,
(इ) निवेदक संस्था वा निवेदक संस्थाको सहायक कम्पनीलाई उक्त कम्पनी रहेको मुलुकको नियमन निकायबाट क्रेडिट रेटिङ्ग व्यवसाय गर्न अनुमति पत्र प्रदान गरेको कम्तीमा तीन वर्ष पूरा भएको र त्यस्तो अनुमति पत्र हालसम्म बहाल रहेको ।

धितोपत्र बजारको सन्दर्भमा कुरा गर्ने हो भने त क्रेडिट रेटिङ्ग संस्थाको मूल्याङ्कनको आधारमा लगानीकर्ताले लगानी सम्बन्धी निर्णय लिने अवस्था समेत रहने सन्दर्भमा यसको महत्त्व र प्रभावको व्यापकताको सहज अनुमान गर्न सकिन्छ ।

(ग) कर्जा सूचना केन्द्रको रूपमा नेपाल राष्ट्र बैङ्कबाट मान्यता प्राप्त निकाय ।

(३) उपनियम (१) तथा (२) मा उल्लेख भएका व्यवस्थाहरूको अतिरिक्त बोर्डले समय समयमा अन्य सर्तहरू तोकी लागू गर्न सक्नेछ ।
(४) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि क्रेडिट रेटिङ्ग संस्थाको संस्थापक, सञ्चालक तथा कार्यकारी प्रमुखको सम्बन्धमा उचित तथा योग्य (फिट् एन्ड प्रपर) मापदण्ड सम्बन्धमा बोर्डले थप व्यवस्था तोकी लागू गर्न सक्नेछ ।

अन्त्यमा,

क्रेडिट रेटिङ्ग व्यवसायको छुट्टै महत्त्व र विशेषता रहेको हुन्छ । यो व्यवसायको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको यसको विश्वसनीयता हो । क्रेडिट रेटिङ्ग सेवा प्रदायक संस्थाले स्वतन्त्र र निष्पक्ष ढङ्गले पूर्ण रूपमा व्यावसायिक सेवा वा मूल्याङ्कन गर्न सकेन भने यसको औचित्य नै रहँदैन । रेटिङ्ग गर्दा क्रेडिट रेटिङ्ग संस्थाले रेटिङ्ग यथार्थ तथा सत्य तथ्यमा आधारित भई सोको सुनिश्चित हुने गरी गर्न सक्नु पर्दछ ।

क्रेडिट रेटिङ्ग प्रक्रिया वा परिणामको विश्वसनीयतामा आँच आउन नदिनु नै सबै भन्दा महत्त्वपूर्ण पक्ष हो । अझ धितोपत्र बजारको सन्दर्भमा कुरा गर्ने हो भने त क्रेडिट रेटिङ्ग संस्थाको मूल्याङ्कनको आधारमा लगानीकर्ताले लगानी सम्बन्धी निर्णय लिने अवस्था समेत रहने सन्दर्भमा यसको महत्त्व र प्रभावको व्यापकताको सहज अनुमान गर्न सकिन्छ ।

क्रेडिट रेटिङ्गको सन्दर्भमा क्रेडिट रेटिङ्ग सेवा प्रदायक कम्पनी मात्र नभै सेवाग्राही संस्थाहरूको भूमिका समेत निकै महत्त्वपूर्ण रहेको हुन्छ । क्रेडिट रेटिङ्ग संस्थाले ग्राहक वाट प्राप्त विवरण तथा जानकारीको आधारमा मूल्याङ्कन गर्ने हुँदा सम्बन्धित क्रेडिट रेटिङ्ग संस्थालाई सत्य तथा यथार्थ विवरण, जानकारी तथा सूचना दिनु पर्दछ ।

क्रेडिट रेटिङ्ग नियमावलीमा समेत “प्रत्येक सङ्गठित संस्था वा व्यक्तिले निष्कासन हुने धितोपत्र वा सुरक्षणको सम्बन्धमा मूल्याङ्कन गर्न आवश्यक पर्ने सम्पूर्ण विवरण तथा सूचना क्रेडिट रेटिङ्ग संस्थालाई उपलब्ध गराई सहयोग गर्नु कर्तव्य हुनेछ ।” भन्ने स्पष्ट व्यवस्था गरेको छ ।

साथै रेटिङ्ग संस्थाले समेत आफूलाई प्राप्त सूचना तथा जानकारीको गलत प्रयोग गर्ने गोप्यता भङ्ग गर्ने कार्य गर्न हुँदैन क्रेडिट रेटिङ्ग नियमावलीमा “प्रचलित कानुन बमोजिम बोर्ड, अदालत वा अन्य निकायमा पेस गर्नु पर्ने अवस्थामा बाहेक क्रेडिट रेटिङ्ग संस्थाले आफ्नो ग्राहकले दिएको जानकारीको गोप्यता कायम राख्नुपर्ने छ” भन्ने व्यवस्था गरेको छ ।

नेपालमा क्रेडिट रेटिङ्ग संस्थाको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड हो । माथि उल्लेख गरी सकिएको छ कि क्रेडिट रेटिङ्ग व्यवसाय एक संवेदनशील व्यवसाय हो । क्रेडिट रेटिङ्ग संस्थाको रेटिङ्गका आधारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगानीकर्ताको लगानी निर्णयमा प्रभाव पर्ने भएकोले यस्ता संस्थाको प्रभावकारी नियमन गर्न सक्नु नियमनकारी निकायको समेत जिम्मेवारी हुन्छ ।

नियमनकारी निकायले क्रेडिट रेटिङ्ग संस्थाले स्वतन्त्र, निष्पक्ष र यथार्थपरक ढङ्गले कार्य गरेको छ र्छैन सोको निरन्तर रूपमा सूक्ष्म ढङ्गले अनुगमन गर्नु पर्ने हुन्छ । धितोपत्र बजारको नियमनकारी निकायको रूपमा बोर्डको एउटा प्रमुख दायित्व लगानीकर्ताको हित संरक्षण समेत भएको परिप्रेक्ष्यमा क्रेडिट रेटिङ्ग संस्थाले गर्ने रेटिङ्ग सत्य तथ्य रूपमा र लगानीकर्तालाई सही ढङ्गले सुसूचित हुने गरी भएको छ छैन तथा प्रचलित कानुनको परिपालना भए नभएको सम्बन्धमा समेत सधैँ चनाखो र सजग रहनु पर्ने देखिन्छ ।

(साभार: नेपाल धितोपत्र बोर्डको २९ औँ  वार्षिकोत्सवमा प्रकाशित विशेषाङ्क बाट)

 

 

वि.सं.२०७८ जेठ २७ बिहीवार १२:४१ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...