काठमाडौं । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सेयर मूल्यमा अस्वभाविक भएको भनेर नाम सार्वजनिक गरेको भोलिपल्ट सेयर बजारमा भारी गिरावट आएको छ ।
सामान्य करेक्सनसहति निरन्तर बढिरहेको बजारमा धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सेयर मूल्य कर्नरिङ, इन्साइडर टे«डिङ गरेर बढाएको र ती कम्पनीको बारेमा विस्तृत अध्ययन गर्ने भनेर विज्ञप्ति जारी भएपछिको कारोबारमा भारी गिरावट देखिएको छ ।
कारोबारको सुरुदेखि नै बजारमा निकै उतार चढाव आएको थियो । अन्तिम समयमा बजार मापन गर्ने सूचक ५२.३९ अंकले घटेर परिसूचक २९६९.७२ बिन्दुमा रोकिएको छ ।
२१९ कम्पनीको २ करोड ८२ लाख ८९ हजार १२८ कित्ता सेयर १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१८ रुपैयाँमा किनबेच भएको छ । यो दिन कारोबार रकम पनि घटेको छ । बुधबारको कारोबारमा माइक्रोफाइनान्स समूहको उपसूचक १३९.७४ अंकले बढेको छ भने बाँकी सबै समूहको उपसूचकमा भारी गिरावट देखिएको छ ।
नियामक निकायले नै ५१ वटा कम्पनी खराब छन भने नाम तोकेर, ति कम्पनीको वित्तीय अवस्था सार्वजनिक गरेपनि लगानीकर्ता त्रसित बनेका छन् ।
वि.सं.२०७८ असार २ बुधवार १५:०४ मा प्रकाशित