back
NMB ad

१४ अर्ब पुँजीगत लाभकर तिरेका लगानीकर्ताबाट सेबोनले लियो साढे ४३ करोड, कहिले घट्ला ब्रोकर कमिसन ?

Kumari bank ad

सोभित थपलिया

काठमाडौँ । गत आर्थिक वर्ष २०७७-०७८ नेपाली सेयर लगानीकर्ता तथा पुँजी बजारका लागि निकै अविस्मरणीय तथा उत्साहप्रद नै रह्यो । उक्त वर्ष सेयर बजारबाट लगानीकर्ता मात्रै नभएर नियामक धितोपत्र बोर्ड, नेप्से, सीडीएससी तथा ब्रोकरले मात्रै कमाएनन् राज्यले पनि निकै लाभकर पायो ।

गत आवमा धेरै कोणबाट हेर्दा पुँजी बजार सबैको लागि सुन्दर बन्यो । धेरै कम्पनीको आइपिओ आउनु, बजारमा नयाँ–नयाँ लगानीकर्ताले प्रवेश गर्नु, नयाँ-नयाँ कम्पनीको सूचीकृत हुनुले बजारको गरिमाका साथै बजारप्रतिको विश्वास पनि निकै बढाएको जानकारहरूको भनाई छ ।

सेयर बजारबाट धेरै समय नोक्सानमा नै चलेका ब्रोकर पनि गत आव निकै मालामाल बने, नियामक निकायलाई पनि लगानीकर्ताले सेयर कारोबारमा कमिसन तिरेर धेरै लाभांश पाउने क्षमताको बनाए । हाइड्रोपावर लगायतका कम्पनीमा लगानी गरेका लगानीकर्ता निकै मालामाल बने पनि अघिल्लो बुल (१८८१ हुँदा) मा बैङ्कको सेयर किनेका लगानीकर्तामा भने अन्य कम्पनीको जस्तो खुसी फर्कन सकेको छैन । तथापि गत आवलाई उत्साहजनक वर्षको रूपमा धेरै लगानीकर्ताले हेरेका छन् ।

गत आवमा हालसम्मकै उच्च कारोबार भयो । जसले गर्दा राज्यले सेयर बजारबाट १४ अर्ब १३ करोड ६१ लाख ५३ हजार ५३ रुपैयाँ पुँजीगत लाभकर लियो । आर्थिक वर्ष २०७६–०७७ मा लगानीकर्ताले राज्यलाई ९७ करोड ७४ लाख १४ हजार ८०५ रुपैयाँ पुँजीगत लाभकर तिरेका थिए । गत आवमा लगानीकर्ताले व्यक्तिगत तर्फ ५ प्रतिशत र संस्थागत लगानीकर्ताले १० प्रतिशत पुँजीगत लाभकर तिरेका छन् ।

चालु आवको बजेटले भने लाभकरलाई दीर्घकालीन र अल्पकालीन गरी दुई भागमा विभाजन गरेको छ । ३६५ दिन भन्दा कम अवधिमा सेयर बिक्री गरेमा ७.५ र ३६५ दिन अवधि भन्दा बढी समय राखेर बिक्री गरेमा ५ प्रतिशत पुँजीगत लाभकर लाग्ने व्यवस्था गरिएको छ ।सिडिएससीका अनुसार गत आवमा अग्रिम कर कट्टीबापत १ अर्ब ४० करोड ४९ लाख ५१ हजार ५३७ रुपैयाँ कर सङ्कलन भएको छ । अघिल्लो आवको सोही अवधिमा १९ करोड १६ लाख ५२ हजार ९७२ रुपैयाँ अग्रिम कर कट्टीबापत सङ्कलन भएको थियो ।

सिडिएससीका अनुसार गत आवमा सञ्चालनमा रहेका ५० वटा ब्रोकर कम्पनीले ११ अर्ब ७० करोड ८५ लाख ३५ हजार ८५६ रुपैयाँ कमिसन पाएका छन् । अघिल्लो आव २०७६-०७७ मा लगानीकर्ताले ब्रोकरलाई १ अर्ब ५९ करोड ७१ लाख ७ हजार ८५४ रुपैयाँ कमिसन तिरेका थिए । गत वर्ष नै ब्रोकरको आम्दानी १० अर्ब ११ करोड १४ लाख २८ हजार ११ रुपैयाँले बढेको छ ।

यो वर्ष ब्रोकर आम्दानीका हिसाबले निकै नै मालामाल बने । यो वर्ष ब्रोकर मात्रै नभएर पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड पनि निकै नै मालामाल बनेको छ । यो वर्ष बोर्डलाई लगानीकर्ताले ४३ करोड ४२ लाख ९० हजार ६४ रुपैयाँ कमिसन तिरेका छन् ।

जुन अघिल्लो आवमा ४ करोड ४३ लाख ३६ हजार २२८ रुपैयाँ मात्रै रहेको थियो । अघिल्लो आवको तुलनामा गत आवमा बोर्डले लगानीकर्ताबाट ३८ करोड ९९ लाख ५३ हजार ८३६ रुपैयाँ बढी कमशिन लिएको छ । धितोपत्र बोर्डलाई लगानीकर्ताले ०.०१५ प्रतिशत कमिसन तिर्दै आएका छन् ।

सिडिएससीका अनुसार गत आवमा नेप्से र सीडीएससीले २ अर्ब ३४ करोड २१ लाख ९४ हजार ८३ रुपैयाँ कमशिन स्वरुप पाएका छन् । जुन अघिल्लो आवको सोही अवधिमा ३१ करोड ९४ लाख २१ हजार ५८६ रुपैयाँ मात्रै रहेको थियो । यो अवधिमा नेप्से र सिडिएसीको आम्दानीमा पनि उल्लेख्य वृद्धि दिएको छ ।

६ लाख ३१ हजार भन्दा बढी नयाँ लगानीकर्ता दोस्रो बजारमा थपिएको सिडिएससीले जनाएको छ । योसँगै दोस्रो बजारमा ८ लाख ७७ हजार लगानीकर्ता पुगेका छन् । सिडिएससीको आम्दानीको अर्को स्रोत भनेको मेरो सेयर र डिम्याट खाता पनि हो ।

सिडिएससीका अनुसार डिम्याट खाताबाट प्रति खाता ५ रुपैयाँ र मेरो सेयरबाट प्रति खाता २५ रुपैयाँ आम्दानी हुने गरेको छ । वार्षिक रूपमा खाता नवीकरण गर्दा लगानीकर्ताले तिरेका रकमबाट प्रति खाता १० रुपैयाँ सिडिएससीले पाउने गरेको छ ।

सिडिएससीका अनुसार गत आवमा डिम्याट खाताबाट ३७ लाख ३६ हजार ९२६ जनाले डिम्याट खाता खोलेका छन् । अघिल्लो आवको सोही अवधिमा १७ लाख २३ हजार ९७४ रुपैयाँ मात्रै डिम्याट खाता खोलेका थिए । यो अवधिमा खाता खोल्नेको सङ्ख्या दोब्बरले बढेको छ । खाता खोल्नेको सङ्ख्या बढ्दा सिडिएससीको आम्दानी पनि डिम्याट बाट नै १ करोड ८६ लाख ८४ हजार रुपैयाँ भन्दा बढी पुगेको छ । अघिल्लो आवमा ९३ लाख ४२ हजार रुपैयाँ नजिक रहेको थियो ।

यस्तै गत आवमा २८ लाख ८२ हजार २३३ जनाले मेरो सेयर लिएका छन् । अघिल्लो आवको सोही अवधिमा मेरो सेयर लिने लगानीकर्ताको सङ्ख्या ७ लाख ४२ हजार ४९ जनाले मात्रै थिए । गत आवमा डिम्याट खाता खोल्ने तथा मेरो सेयर लिनेको सङ्ख्या ह्वात्तै बढेको छ ।

लकडाउनका कारण सेयर कारोबार घरबाट नै गर्नु पर्ने भएकोले पनि लगानीकर्ता अनलाइन मैत्री बनेका छन् । मेरो सेयर लिनेको सङ्ख्या पनि लकडाउनले नै बढी बढाएको हो । अहिले अनलाइन कारोबार गर्ने लगानीकर्ता नै करिब ८ लाख पुगिसकेका छन् ।

कहिले घट्ला ब्रोकर कमशिन

सेयर बजारले नयाँ नयाँ गति लिँदै जानु र बजारप्रति लगानकर्ताको आकर्षण बढ्दै जाँदा सेयर ब्रोकर, नियामक निकायले पनि निकै कमिसन पाएछन् । गत वर्ष धितोपत्र बोर्डले ब्रोकर तर्फको मात्रै कमशिन घटायो । नियामकले पाउने कुनै पनि कमिसन घटाएको छैन । अहिले लगानीकर्ता नियामकले पाउने कमिसन पनि घटाउनु पर्‍यो, ब्रोकरको कमिसन पनि घटाउनु पर्‍यो भनिरहेका छन् । धितोपत्र बोर्डले भने अध्ययन भइरहेको र केही समयमा नै घटाउने भनिरहेका छन् । तर प्रभावकारी काम भने हुन सकेको छैन ।

अहिले लगानीकर्ताले ५० हजार सम्मको कारोबारमा ०.४०२, ५० हजारदेखि पाँच लाख रुपैयाँसम्मको कारोबारमा ०.३६८५, ५ लाखदेखि २० लाखसम्मको कारोबारमा ०.३३५ प्रतिशत र २० लाखदेखि करोडसम्मको कारोबारमा ०.३०१५ प्रतिशत तिर्नु पर्ने व्यवस्था गरिएको छ । यस्तै करोड भन्दा माथिको कारोबारमा ०.२६८ प्रतिशत कमिसन तिर्नुपर्छ ।

वि.सं.२०७८ साउन ११ सोमवार १६:३५ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...