
काठमाडौं । चालु आर्थिक वर्ष २०७८-७९ पहिलो महिना (साउन)मा करिब डेढ अर्ब रुपैयाँ बराबरको ल्यापटप तथा नोट बुक आयात भएको छ ।
भन्सार विभागका अनुसार साउन महिनामा १ अर्ब ४७ करोड ४ लाख २८ हजार रुपैयाँको ल्यापटप तथा नोटबुक आयात भएको छ ।
साउन महिनामा करिब दुई दर्जन मुलुकबाट २८ हजार ३०१ थान ल्यापटप तथा नोटबुक नेपाल भित्रिएको विभागले जनाएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी तथा सरकारले जारी गरेको निषेधाज्ञाको कारण अधिकांश कार्यालय तथा शैक्षिक गतिविधि डिजिटल मार्फत संचालन हुने हुँदा पनि नेपालमा मोबाइल तथा नोटबुकको माग निकै बढेको छ । जसको प्रभाव आयातमा परेको छ । कोरोनाका कारण नेपालमा ल्यापटपको माग मात्रै बढेको छैन, मूल्य पनि निकै बढेको छ ।
महामारीका कारण भौतिक उपस्थितिमा नै हुने हरेक शैक्षिक गतिविधि, सभा-सम्मेलन, गोष्ठी, तालिम लगायतका भिडभाडजन्य कार्यक्रमहरु भर्चुअल माध्यमबाट संचालन हुने गरेपछि ल्यापटपको माग उच्च वृद्धि भएको विभागले जनाएको छ ।
नेपालमा सबैभन्दा बढी चाइनीज ल्यापट तथा नोटबुक आयात भएको विभागको तथ्याङ्कले देखाएको छ । चालु आवको पहिलो महिनामा चीनबाट १ अर्ब ४२ करोड ६४ लाख २२ हजार रुपैयाँको ल्यापटप तथा नोटबुक आयात भएको छ । चीनबाट २७ हजार ४८५ थान ल्यापटप आयात हुँदा सरकारले १८ करोड ५४ लाख २७ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
नेपालमा चीनपछि धेरै ल्यापटप मलेशियाबाट आायत भएको छ । मलेसियाबाट एक महिनामा नेपालमा १ करोड ६४ लाख १६ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक आयात भएको छ । मलेशियाबाट ३१८ थान ल्पापटप तथा नोटबुक आयात गर्दा सरकारले २१ लाख ३४ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
यस्तै, सिंगापुरबाट ७५ लाख ६९ हजार रुपैयाँ, क्यानडाबाट ६६ लाख ११ हजार, अमेरिकाबाट ६२ लाख ३ हजार, टाइवान्बाट २३ लाख २२ हजार रुपैयाँ र यूएईबाट १६ लाख ८५ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक आयात भएको छ ।
विभागका अनुसार थाइल्याण्डबाट ६ लाख ३५ हजार रुपैयाँ, जापानबाट ४ लाख ८० हजार, अष्ट्रेलियबाट ४ लाख ६० हजार, कोरियाबाट ३ लाख ७४ हजार, फिलिपिन्सबाट २ लाख ९२ हजार, डेनमार्कबाट २ लाख ७४ हजार, मेक्सिकोबाट १ लाख ८७ हजार, बेलायतबाट १ लाख ८७ हजार, भारतबाट १ लाख २२ हजार रुपैयाँ बराबरको ल्यापटप तथा नोटबुक आयात भएको विभागले जनाएको छ ।
यता, फिनल्याण्ड ८४ हजार रुपैयाँ बराबरको, नेदरल्याण्डबाट ४८ हजार, इज्रायलबाट २४ हजार, स्वीट्जरल्याण्डबाट १४ हजार, हङकङबाट १२ हजार, कुवेतबाट ५ हजार, बह्राइन २ हजार बराबरको ल्यापटप तथा नोट बुक नेपाल भित्रिएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
वि.सं.२०७८ भदौ १३ आइतवार १३:२२ मा प्रकाशित