ई. गजेन्द्र थपलिया
नेकपा एमालेका आदरणीय अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले दोस्रो पटक २०७४ फागुन ३ गते नेपालको प्रधानमन्त्री सम्हाल्नु भएको दिनदेखि नै आफ्नो समृद्धिको सपना गेमचेन्जर आयोजना, राष्ट्रिय गौरवका आयोजना, रणनैतिक महत्त्व राख्ने आयोजनाको कार्यान्वयनमा बढी नजिकबाट नियाल्दै अगाडि बढाउनुभएको थियो भन्ने कुरा यसको परिणामले पनि पुष्टि भइसकेको छ । उहाँको समृद्धिको सपना, विगतका दिनमा सार्वजनिक कार्यक्रममा प्रस्तुत गर्नुभएका मन्तव्य, एमालेको चुनावी घोषणापत्रका प्रतिबद्धता, देश र जनताप्रतिको अगाध प्रेमको प्रतिफलस्वरूप समृद्ध नेपाल सुखी नेपालीु भन्ने सरकारको राष्ट्रिय आकाङ्क्षासहितको लक्ष्यका रूपमा सबैसामु आएको सर्वविदितै छ ।
उहाँले हरेक औपचारिक र अनौपचारिक भेटघाटमा समेत प्रधानमन्त्री कार्यालयसहित ३२ वटा मन्त्रालय, यसका मन्त्रीहरू, सचिवहरूदेखि आयोजना प्रमुखसम्म उहाँको स्वकीय सचिवालय, निजी सचिवालय, सल्लाहकारहरू विज्ञ समूह सबैलाई आयोजनाको Pre-feasibility देखि निर्माण तहसम्म सफल राउने गरी तोकिएको समयभित्र गुणस्तरीय निर्माण र आर्थिक भार नबढ्ने गरी अगाडि बढाउने दिशामा दिशा निर्देश orientation गर्नुभएको थियो । यसमा पङ्क्तिकार पनि विकास व्यवस्थापन विज्ञका रूपमा सबै ठूला आयोजना, गेमचेन्जर आयोजना, रणनैतिक आयोजना, सार्वजनिक महत्त्वका आयोजना, प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएका आयोजनाको आयोजना तयारी चरण, कार्यान्वयन तहसम्म नीतिगत रूपमा समस्या देखिएकादेखि प्रत्यक्ष निर्माण क्षेत्रमा परेका समस्या र यसको समाधानका लागि प्रधानमन्त्री ओलीको प्रत्यक्ष निर्देशनमा ६३ जिल्लाका स्थलगत अध्ययन भ्रमण र यसको रिर्पोटिङसहित धेरै आयोजनाको सहजीकरण गरेको एउटा साक्षी सहयोगीका रूपमा चित्रिनै छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र विकास व्यवस्थापन विज्ञले देशभरका ठूला आयोजना स्थलगत अवलोकन गरी नीतिगत समस्या र कार्यान्वयनका समस्याको वर्गीकरण गरेर प्रधानमन्त्रीलाई जानकारी गराएपश्चात् माथिल्लो निकायबाट समाधान गर्नुपर्ने समस्याको समाधान खोज्ने काम भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशन र मन्त्रिपरिषद्बाट निर्णय गर्नुपर्ने कतिपय काम तत्काल समाधान भएर परिणाम आउने गरेका थिए। २२ वटा गौरवका आयोजना, १५ वटा गेम चेन्जर आयोजनाको प्राथमिकताको आधारमा धेरै मिहिनेत भएका थिए । उदाहरणका रूपमा पुष्पलाल राजमार्ग र मध्यपहाडी राजमार्ग करिब एक हजार ७८९ किलोमिटर भारतको सिमाना पूर्वको पाँचथरको चिवा भञ्ज्याङदेखि पश्चिमको बैतडी मूलघाटसम्म २६ जिल्ला सोही सडक बाटो भएर स्थलगत भ्रमण गर्दा धेरै समस्या परियोजना प्रोजेक्ट मेनेजर, निर्माण व्यवसायी, स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन, केन्द्रीय योजना र मन्त्रालयको प्रतिनिधिको रोहवरमा समाधान गरेर काममा तीव्रता ल्याउने काम भयो । यसको एउटा मात्र उदाहरण लामो समयसम्म काम हुन नसकेको बागलुङ जिल्लाको बिहुँ खण्डमा काम भएको छ ।
यस्ता धेरै ठाउँमा काम अगाडि बढेका छन् भने नीतिगत रूपमा निर्णय समयमा नभएर रोकिएका कामहरू, वनसँग सम्बन्धित लगायत समाधान भएर निर्माण पूरा भएका छन् । पूर्व झापादेखि पश्चिमको कञ्चनपुरसम्म २१ जिल्ला प्रत्यक्ष लाभान्वित हुने हुलाकी राजमार्गको काममा तीव्रता ल्याउन पनि उल्लेखनीय भूमिका भएका थियो । उत्तर दक्षिण कोरिडोरको काममा तीव्रता ल्याउन पनि विशेष पहल भएको थियो । चाहे कोसी कोरिडोर होस् वा कालीगण्डकी, कर्णाली किन नहोस् उत्तिकै प्राथमिकताका साथ काममा ध्यान दिइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कर्णाली कोरिडोर र कर्णालीको अन्य विकासप्रतिको तीव्र इच्छाबमोजिम हामीले नेपालको एउटा मात्र जिल्ला जहाँ नेपालबाट सडक सञ्जालले नजोडिएको हुम्लाको सडकको अवस्था बुवैन स्थलमार्गबाट १० दिनमा कर्णाली प्रदेशका नौ जिल्ला अध्ययन भ्रमण गर्यो । त्यहाँका पूर्वाधारको अवस्था र यसका लागि चाहिने थप बजेटका बारेमा रिपोर्टिङ गरिएपछि कर्णालीका लागि पुँजीगत बजेट बढाउन निर्देशनबमोजिम बजेट वक्तव्यमा सम्बोधन भएको थियो । सिँचाइका क्षेत्रमा महाकाली सिँचाइ, रानी जमरा, कुलराम बबई, भेरी बबई डाइभर्सन, सिक्टालगायतका सिंचाइ आयोजनाको स्थलगत भ्रमणपछि ती आयोजनमा देखिएका समस्याको समाधान निकालिएपछि काममा तीव्रता आयो । त्यस्तै, विमानस्थल निर्माणको काममा गति ल्याउन पनि पहल भयो । पोखरा विमानस्थल र भैरहवा विमानस्थलको स्थलगत भ्रमण गरी त्यहाँका समस्या समाधान गर्ने काम भयो । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत भैरहवा विमानस्थलको स्थलगत रूपमा नै आयोजना प्रमुखसँग सङ्क्षिप्त छलफल गर्नुभएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि मदन भण्डारी राजमार्गको नामकरण गरी निर्माणको काम सुरु गरिएको र धरान-हेटौंडा खण्ड नेपाली निर्माण व्यवसायीले नै बनाएका छन् जुन सडक गर्व गर्न लायक भएको छ ।
नागढुङ्गाको सुरुङ मार्ग शिलान्यास २०७६ असोज २ मा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेपश्चात् केही समय जग्गा र मुआब्जा विवादले काममा गति लिन सकेन । नेपालमा विगतमा कतिपय आयोजना शिलान्यास गरिएपछि विवादलगायत विभिन्न समस्याका कारण निर्माणमा अवरोध आउने र वर्षौंसम्म नबन्ने रोग यहाँ नदोहोरियोस् भनी स्थलगत भ्रमण गरी स्थानीयका माग स्बोधनमा ध्यान दिई आयोजना अगाडि बढाउने काम भयो । प्रधानमन्त्रीको विकास विज्ञका रूपमा मेरो नेतृत्वमा सडक विभागका अधिकारीसहितको टोलीले त्यहाँको वास्तविक समस्या पत्ता लगाई प्रधानमन्त्री ओलीलाई जानकारी गराएपछि तुरुन्त समस्या समाधान गरी आयोजना कार्यान्वयनको काम सुरु भएको थियो । जुन आयोजनामा अहिले दिनरात काम भइरहेको छ । यसबाट समस्याहरू समाधान गर्ने प्रयास गर्न चाह्यो भने नसकिने रहेनछ भन्ने देखाउँछ ।
लामो समय काठमाडौँवासीले प्रतीक्षाको विषय बनेको मेलम्ची खानेपानी आयोजना प्रधानमनत्री केपी शर्मा ओलीको पहलकदमी र निर्णयले सबैको घरघरमा पुयाउन सफल भइएको हो । मेलम्चीको टनेलमा समस्या आएपछि के गर्ने भन्ने कसैले पनि निर्णय लिन नसकेको अवस्थामा प्रधानमन्त्री स्वयंले बालुवाटारमा मेलम्ची आयोजनाका अधिकारीसँगै सम्बन्धित सबैलाई बोलाएर लामो छलफलपश्चात् एउटा अन्तर्राष्ट्रिय स्वतन्त्र विज्ञ समूह बनाएर उनीहरूको सुझावको आधारमा अगाडि बढाउन निर्देशन दिनुभयो । सोहीबमोजिम केही सच्याउनुपर्ने काम विज्ञ समूहको सिफारिसबमोजिम सच्याएर अगाडि बढ्दा राजधानीवासीका लागि मेलम्चीको पानी ल्याउने काममा सफलता मिलेको हो ।
खानेपानी मन्त्रालयका तत्कालीन सचिवले आफूहरू प्राविधिक मानिस भए पनि ऑट र निर्णय गर्न नसकेको प्राविधिक विषयमा प्रधानमन्त्रीको उच्च स्तरको बुझाइ, निर्णय क्षमता र सहयोगका कारण मेलम्चीको पानी राजधानीमा झार्न सकिएकामा गर्व गर्नुभएको थियो । लामो समयदेखि प्रतीक्षा गरिएको मेलम्चीको पानी राजधानी भित्रिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा पानी वितरण कार्यको शुभारम्भ गर्नुभएको थियो। मैले प्रधानमन्त्रीको विकास विज्ञको रूपमा काम गर्दा धेरै नजिकबाट नियालेको र सहयोग गर्न कोशिस गरेको अर्को आयोजना माथिल्लो तामाकोसी जलविद्युत् आयोजना हो । जुन ४५६ मेगावाटको ठूलो आयोजना हो ।
प्रधानमन्त्री ओलीसँग एक दिन बेलुकाको हिँडाइको समयमा मैले तामाकोसीको काम ९९.७ प्रतिशत सकिएको सुनाएं। विद्युत् उत्पादन सुरु गर्न अझै छ महिना लगाउने जानकारी गराए । विद्युत् आयोजनाको काममा निर्धारित समयभन्दा किन बढी समय लिन्छन् भन्ने जिज्ञासाका साथै तत्काल अध्ययन गरेर समस्याको विश्लेषण गरी छिटो विद्युत् जोड्ने गरी तयारी गर्न निर्देशन दिनुभयो । यसबारेमा माथिल्लो तामाकोसी आयोजना कम्पनीका अध्यक्ष तथा नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशकसँग मसिनो गरी छलफल गरेर हामी दुवै जना दुई दिनको स्थलगत भ्रमण जाने योजना बनायौँ। उहाँले र मैले आयोजनाको वस्तुस्थितिको अवलोकन गरेर उद्घाटनको तिथिमिति तोक्ने र त्यसअनुसार काम भएन भने अप्रिय निर्णय लिने निधो गरियो । मेरो उपस्थितिमा विदेशी परामर्शदाता निर्माण व्यवसायी र तामाकोसीका उच्च पदस्थ कर्मचारीको अगाडि उहाँ सायदै यति कडा भएर कहिल्यै प्रस्तुत हुनुभएको थिएन होला । यसै योजनाअनुसार २०७८ साल असार २१ गते ४ बजे उद्घाटन समय निर्धारण गरियो । तामाकोसीबाट फर्केर आउँदा रामेछापको खिम्तीमा ट्रान्समिसन लाइनको अवस्था देख्दा मलाई समेत विश्वास गर्न गाह्रो भएको थियो मौसमले साथ दिएको थिएन, प्रत्येक दिन बेलुका कामको प्रगतिको रिपोर्टिङ लिने गरिन्थ्यो ।
अघिल्लो दिन ५ बजेसम्म लाइन चार्ज गरेर ‘सिकोनाइज’ हुनुपर्ने त्यो भएन भने उद्घाटनको दिन १२ बजेसम्म पनि लाइन टेस्ट भएको छैन प्रधानमन्त्री कार्यालयमा बैठक बस्यौं, समय सार्ने कि खतरा मोल्ने भन्ने कुरा आयो, खतरा मोल्ने भन्ने निष्कर्षमा पुग्यौँ । २ बजेर १६ मिनेटमा टेस्ट गरियो भन्ने खबर आयो ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन भयो । मैले ३ बजे तत्कालीन ऊर्जामन्त्रीलगायत धेरै मन्त्री र उच्च पदस्थका अगाडि यो कुरा गर्दा उहाँहरू नै अचम्ममा पर्नुभएको थियो । मैले तत्कालीन विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकको प्राविधिक ज्ञान बुवैन पाए, उहाले चिलिमे हाइड्रोपावर बाट पनि अनुभव हासिल गर्नुभएको रहेछ र उहाँको काम र वचनप्रतिको प्रतिबद्धता मैले मेरो जीवनको अन्तिम क्षणसम्म पनि बिर्सने छैन । यसमा तामाकोसीका सम्पूर्ण व्यक्तिको पनि ठूलो हात छ । यो मेरो जीवनको पनि ऐतिहासिक अनुभवमध्ये एक हो ।
यसरी प्रधानमन्त्री केपी शर्मा ओलीको प्रत्यक्ष निर्देशन र निगरानीमा धेरै काम गर्दा कसरी परिणाम निकाल्न सकिन्छ भन्ने ध्येय राखेर काम गरियो । नेपालमा निर्णय र निर्देशनले मात्र हुने भए नेपाल पहिल्यै युरोपको हाराहारीमा पुग्ने थियो पहिला समस्या पहिचान गर्न गाह्रो, त्यसपछि समाधान निकाल्न झन् गाह्रो । यस्तो अवस्थामा पनि प्रधानमन्त्री ओलीको कार्यकालमा विकासका काममा जुन परिणाम आएको छ, त्यो नेपालको इतिहासमा स्वर्णिम अक्षरले लेखिने छ । कुनै समस्या हाम्रै तहबाट समाधान हुने खालका, कुनै कर्मचारी तहबाट समाधान हुने त कुनै मन्त्री तहबाट मात्र समाधान गर्न सकिने खालका हुन्छन् । ती काम सुरुमा विश्लेषण गरेर समस्याको गाँठो फुकाउने प्रयत्न गर्दा काममा परिणाम निकाल्न सकिन्छ । र, समृद्ध नेपाल सुखी नेपाली को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा उहाँजस्तो दूरदृष्टि राख्ने र समस्या समाधानमा पहलकदमी लिने नेतृत्वको आवश्यकता छ । जुन नेपाली जनताले समेत चिन्ने अवसर पाएका छन् ।
(नेकपा एमाले उपत्यका विषेश कमिटीद्वारा प्रकाशित मूलबाटो पुस्तकबाट साभार)
वि.सं.२०७८ मंसिर १९ आइतवार १२:४८ मा प्रकाशित