भीमा पन्थि/ काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनासम्ममा आउँदा विदेशी मुद्रा सञ्चितिको लक्ष्यले गति छोडेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनीक गरेको वित्तीय विवरण अनुसार मंसिर मसान्तसम्म आउँदा अहिले विदेशी मुद्रा सञ्चिती ६.८ महिनाको वस्तु तथा सेवाको आयातमात्रै धान्ने देखिन्छ । यो लक्ष्य भन्दा शून्य दशमलव २ महिना कम आयात धान्ने अवस्था हो ।
अर्थात नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीतिमार्फत ७ महिनाको बस्तु तथा सेवा खरिदका लागि पुग्ने विदेशी विनिमय सन्चितिको लक्ष्य निर्धारण गरेको छ ।
२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चितीमा १३.२ प्रतिशतको गिरावट आएको छ । योसँगै मंसिरमसन्तसम्म हामीसँग कुल १२ खर्ब १४ अर्ब ३ करोड मात्रै विदेशी विनिमय सञ्चिती रहेको छ, यद्यपी आज त पुस महिनाको पनि अन्तिम दिन हो ।
यसलाई अमेरिकि डलरमा भन्नुपर्दा यस्तो सञ्चिति चालु आर्थिक सुरु हुँदै गर्दा अर्थात गत असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा अहिले १४.७ प्रतिशतले कमी आई १० अर्ब ३ करोड कायम भएको राष्ट्र बैंक तथ्यांकले देखाउँछ ।
कुल विदेशी विनिमय सञ्चितीमध्ये नेपाल राष्ट्र बैंकमा चालु आर्थिक वर्षको असार मसान्तमा १,२४४ अर्ब ६३ करोड रहेकोमा मंसिर मसान्तमा आउँदा १२.९ प्रतिशतले कमी आई १,०८४ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिती यहि असार मसान्तमा १५४ अर्ब ३९ करोड रुपैयाँ रहेकामा २०७८ मंसिर मसान्तमा आइपुग्दा १६.२ प्रतिशतले कमी आई १२९ अर्ब ४० करोड रुपैयाँ कायम भएको छ ।
यस्तो छ, चालु आर्थिक वर्षको पाँच महिनाको विदेशी मुद्रा सञ्चितिको अवस्था
(२०७८ असार मसान्तमा १०.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको थियो ।)
विदेशी विनिमय सञ्चिति रकम थपघट
विदेशी विनिमय सञ्चिति प्रयाप्तता
माथि दिएको तथ्याङकले असोज महिना बाहेक चालु आर्थिक वर्षभरीमा नै मुद्रा सञ्चिति स्थिति गिरावट भएको देखाउँछ ।
यसो त कार्तिक महिनाको उच्च सञ्चिति गिरावट देखेर राष्ट्रबैंक अत्तालिसकेको छ । जसले गर्दा कतिपय बस्तुको आयातमा सत प्रतिशत र कतिपय वस्तुको आयातमा पचार प्रतिशत नगद मार्जिनको व्यवस्था अनिवार्य गरेको छ ।
रेमिट्यान्स आप्रवाहको ओरालो यात्रा र उच्च व्यापार हुँदै गएपछि देशको विदेशी मुद्रा संचितीमा गिरावट आउँदै गएको हो ।
रेमिट्यान्सको ओरालो यात्रा
नेपाली अर्थ थतन्त्रको मेरुदण्ड विप्रेषण (रेमिट्यान्स) चालु आर्थिक वर्षको सुरुवाती देखि नै घट्दै गएको छ । मंसिरसम्म आउँदा रेमिट्यान्स आप्रवाहमा ६.८ प्रतिशतको गिरावट आएको छ । अघिल्लो वर्षको समिक्षा अवधिमा यस्तो रेमिट्यान्स ११ प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकको तथ्याङक अनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई १३१,०८२ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९२.७ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९५.८ प्रतिशतले वृद्धि भई ९९,५८० पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७७.३ प्रतिशतले घटेको थियो ।
चालु आर्थिक वर्षको मसिरसम्म आउँदा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई रु.४३३ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो ।
व्यापार घाटा
चालु आर्थिक वर्षको पाँच महिनामा कुल वस्तु व्यापार घाटा ५४.७ प्रतिशतले वृद्धि भई रु.७३५ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १०.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १२.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.५ प्रतिशत रहेको थियो ।
शोधनान्तर स्थिति
नेपालजस्तो आयातमुखि अर्थतन्त्र भएको मुलुकमा शोधनान्तर स्थिति घाटामा जानु कुनै अस्वभाविक हैन । तर घाटा तिव्र रुपमा वेहोर्ने स्थिति आउनु भने स्वभाविक हैन ।
राष्ट्र बैंकको तथ्यांक अनुसार मंसिर महिनासम्म शोधनान्तर स्थिति १ खर्ब ९५ अर्ब १ करोड रुपैयाँले घाटामा रहेको छ ।
अघिल्लो वर्षको साउनदेखि मंसिर मशान्तसम्म शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोड रुपैयाँले बचतमा थियो ।
यता चालु खाता पनि ३०० अर्ब ६९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा चालु खाता २३ अर्ब रुपैयाँले घाटामा रहेको थियो ।
यसरी, मुलुकका प्रायः आर्थिक सुचकहरु नकरात्मक दिशमा गईरहेको अवस्था छ । यसले मुलुकको आर्थिक जटिलतालाई सँकेत गर्छ । नेपालको अर्थतन्त्र बचाउनको लागि छिट्टै नै समाधानका उपायहरु खोज्नु जरुरी देखिन्छ ।
अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ्)ले विकाशोन्मुख देशमा कम्तीमा पनि ८ महिनाको बस्तु तथा सेवा खरिद गर्नका लागि चाहिने विदेशी मुद्राको सन्चिति राख्नुपर्ने आँकलन तथा निर्देशन गर्छ ।
त्यस्तै अर्थविद् चन्द्रमणि अधिकारी देशको विनियम संचितीले खतराको ढोका घच्घचाई सकेको बताउँछन् । ६ महिना भन्दा कमको आयात धान्ने संचिति खतराको सूचक बताउँदै उनी भन्छन् “हाम्रो अर्थतन्त्रको सूचकले खतराको संकेत गरिसकेको छ, समयमै सचेत नबने भबिष्यमा यसको ठुलै मूल्य चुकाउनुपर्ने अवस्था आउँछ ।”
वि.सं.२०७८ पुस ३० शुक्रवार १५:०४ मा प्रकाशित