
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसी संसद्बाट अनुमोदन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनको बैठकले एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको हो ।
आइतबार १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी दर्ता गराउनेछन् । कांग्रेस वरिष्ठ नेता एवं उच्चस्तरीय समन्वय समितिका संयोजक रामचन्द्र पौडेलका अनुसार ब्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता पारित गर्ने गठबन्धनले निर्णय गरेको हो ।
गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चा बाहेक चार दलको बैठक बसेको थियो। बैठकले एमसीसी सम्झौतामा शंका उठेका विषयमा ब्याख्यात्मक टिप्पणी गर्ने सहमति गरेको हो । पौडेलले एमसीसी अमेरिकी इन्डो–प्यासिफिक रणनीतिको अंग नभएको र विकास सहयोगको रुपमा मात्र बुझ्ने गरी व्याख्यात्मक टिप्पणी गरिने पनि बताए ।
बैठकमा नेपाी कांग्रेसका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।
वि.सं.२०७८ फागुन १५ आइतवार १२:०३ मा प्रकाशित