काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि वितरण सुरु भएको छ । मेलम्ची खानेपानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण सुरु भएको हो ।
खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो ।
गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो ।
सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएको हो ।
मेलम्चीको पानी काठमाडौँवासीको घरघरमा पु¥याउनका लागि तीन कार्यालयको फरकफरक भूमिका रहेको छ । मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकस्थित आयोजनास्थलमा सुरुङ, हेडवर्कलगायतका संरचना निर्माण गरेको थियो । समितिले नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेको थियो ।
निर्देशनालयले सुन्दरीजलको प्रशोधन केन्द्रबाट पानी उपभोक्ताको घरघरसम्म पुगाउन आवश्यक संरचना निर्माण गरिसकेको छ । सतहत्तर किमी लम्बाइको बल्लब डिस्ट्रिब्युसन सिस्टममार्फत पानी १० ठाउँका ट्याङ्कीमा पुग्छ । ती ट्याङ्कीमार्फत नै पानी घरघरमा पुग्नेगरी संरचना निर्माण गरिएको छ ।
काठमाडौं उपत्यकामा खानेपानीको समस्या दशकौं पहिले सुरु भएको थियो । क्रमिकरुपमा जनसङ्ख्या बढ्दै जाँदा खानेपानीको माग बढे पनि यहाँको स्रोतले धान्न सकेन । केही दशकयता मुख्य शहरमा ट्याङ्करमार्फत नै पानीको अभाव पूर्ति हुँदै आएको थियो । निर्देशनालयले निर्माण गरेका ट्याङ्की काठमाडौँमा लाजिम्पाट, बाँसबारी, पानीपोखरी, बालाजु, महाँकाल, ललितपुरको खुमलटार र भक्तपुरको कटुञ्जेलगायतका स्थान रहेका छन् ।
समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७÷१७ करोड गरी दैनिक जम्मा ५१ करोड लिटर उपत्यकामा ल्याउन सकिन्छ । पहिलो चरणमा आउने दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जनाएको छ । यो पानी चक्रपथभित्र सबै ठाउँमा वितरण हुन्छ । पहिलो चरणमा नै पानी मध्यपुर, कीर्तिपुरमा समेत वितरण हुने बताइएको छ । कपनमा पनि पानी वितरणका लागि पाइप निर्माण अघि बढाइएको भए पनि पूरा सकेको छैन ।
सरकारले दुई दशक पहिले सुरु गरेको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुन बाँकी भए पनि गत वर्ष नै काठमाडौँ उपत्यकामा पानी ल्याइएको थियो । फागुनबाट पानी ल्याउन सुरु गरिएकामा असारमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो ।
अहिले पुनः पानी काठमाडौं ल्याउन पथान्तरण गरिएको छ ।
वि.सं.२०७९ वैशाख ११ आइतवार ११:२९ मा प्रकाशित