back
NMB ad

दूधमा आत्मनिर्भर बनाउन ‘दुग्ध मिसन कार्यक्रम’: किसानलाई १३ ओटा भैँसी वितरण

Kumari bank ad

भोजपुर । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘दुग्ध मिसन कार्यक्रम’ ल्याएको छ । स्थानीय पशुपालक किसानलाई आर्थिकरुपमा सक्षम बनाउँदै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको हो । सोही कार्यक्रमअन्तर्गत गाउँपालिकाले किसानलाई १३ वटा उन्नत जातका राँगो वितरण गरेको छ । गाउँपालिकाले पौवादुङमा दुई, तिवारीभञ्याङस्थित प्रगतिशील सहकारीमार्फत रु १६ लाखको लागतमा नौ लैनो भैंसी र एउटा राँगो, चारओटा च्यापकटर र पिठो चोकर किसानलाई वितरण गरेको हो ।

त्यस्तै वडा नं ५ स्थित सानो दुम्ममा रहेको खड्का कृषि तथा पशुपालन फार्मलाई रु तीन लाख ९४ हजार बराबरको तीन भैँसी, एउटा राँगो र च्यापकटर तथा उन्नत जातको घाँसको बीउसमेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्ष्यले ‘दुग्ध मिसन कार्यक्रम’नै सञ्चालन गरेर किसानलाई प्रोत्साहन गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो ।

त्यस्तै बालबच्चा तथा वृद्धवृद्धालाई पोषणसँग जोड्दै पाउडर दूधको प्रयोग घटाउन पनि यसले टेवा पुग्ने उहाँको भनाइ थियो । अध्यक्ष राईले भन्नुभयो,‘‘गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने लक्षले काम गरिरहेका छौँ । त्योसँगै स्थानीय नागरिकले पोषणयुक्त दूध उपभोग गर्न पाउन भन्ने पनि हो । दूध उत्पादन वृद्धि गरेर यहाँका किसानको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि किसानको माग बमोजिम भैँसी वितरण गरेका हौँ ।

यो कार्यक्रमलाई आगमी दिनमा पनि विस्तार गर्दै लैजान्छौँ । दूध उत्पादनको आधारमा बजारीकरणमा पनि सहजीकरण गरिने जानकारी दिँदै उहाँले गाउँपालिकाले सामूहिक खेती तथा बाँझो जमिनको सदुयोग गर्ने किसानलाई प्रोत्साहन गर्ने नीति लिएको पनि बताउनुभयो । भौतिक पूर्वाधारसँगै कृषिको क्षेत्रमा योजनाबद्ध विकास भइरहेको अध्यक्ष राईको भनाइ थियो ।

‘‘हाम्रो गाउँपालिकामा धेरै कृषियोग्य तथा पशुपालनको लागि उपयुक्त भू बनोट छन् । रोजगारीका लागि युवा शक्ति विदेश जाँदा कतिपय खेतीयोग्य भूमि बाँझो बन्दै गएका छन्, उहाँले भन्नुभयो,‘‘ युवाशक्तिलाई यहाँ नै कसरी उद्यममा जोड्न सकिन्छ भनेर नै युवा लक्षित कार्यक्रम सञ्चालन गरिरहेका छौँ । खास गरेर बाँझो जमिन सदुपयोग गर्ने र सामूहिक खेतीमा लाग्नेलाई पनि हामीले प्रोत्साहनस्वरुप विभिन्न खाले सहयोग गरिरहेका छौँ । यस्ता खालका बालीबाट नतिजा आउन अलि समय लाग्छ’’, अध्यक्ष राईले भन्नुभयो । गाउँपालिकाले कृषिमा बहुवर्षीय बालीमा (एभोकाडो, किबी, चिउरी) मा पनि प्राथमिकताका साथ काम गरिरहेको छ ।

त्यस्तै तरकारीको खेतीमा पनि किसानलाई सहयोग गरिरहेकाले गाउँपालिका तरकारीमा आत्मनिर्भर बनिसकेको छ । यहाँको उत्पादन अहिले अन्य ठाउँमासमेत जान थालेको छ । अब भने हामीले तरकारीसँगसँगै पछिल्लो वर्षमा आएर किसानलाई बहुवर्षीय बाली लगाउन केन्द्रित गरिरहेका छौँ । यस्ता बालीबाट उनीहरुले धेरै वर्षसम्म आम्दानी लिन सक्ने उहाँले जानकारी गराउनुभयो ।

गाउँपालिकाको ७५ प्रतिशत अनुदान र किसानको २५ प्रतिशत साझेदारीमा भैँसी पाल्न दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘‘हामीले किसानलाई दुग्ध उत्पादनमा जोड्नका लागि ७५ प्रतिशत अनुदानमा भैँसी दिएका छौँ । खास गरेर बजारमा भैँसीको दूधको माग र मूल्य पनि बढी हुन्छ । त्योसँगै उनीहरुले पाडापाडी बेचेर पनि थप आम्दानी लिन सक्छन् । किसानले दूध बिक्रीबाट पनि राम्रो आम्दानी लिन सकुन भन्ने हाम्रो लक्ष्य हो ।’’

गाउँपालिकाले उन्नत जातको भैँसी दिएपछि किसान उत्साहित भएका छन् । कृषि तथा पशुपालनको क्षेत्रमा गाउँपालिकाले सञ्चालन गरेका योजना प्रभावकारी रहेको स्थानीय भैँसीपालक किसान नवीन खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘‘गाउँपालिकाले हामीजस्ता किसानलाई लक्ष गरेर कार्यक्रम ल्याएको देख्दा खुुसी लागेको छ । गरिब तथा विपन्न परिवारले त अहिले भैँसी किनेर पाल्न सक्ने अवस्था नै छैन । हामी आफैले तराईका भैँसी फार्ममा गएर छानेर ल्याएका छौँ । त्यस्ता किसानको पीडालाई बुझेर गाउँपालिकाले गरिरहेको काम प्रशंसायोग्य छ । अन्य स्थानीय तहमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।’’

लैनो भैँसी पाएकाले आफ्नो जीविकोपार्जनमा प्रत्यक्ष लाभ पुगेको अर्का किसान सुुवास अधिकारीले बताउनुभयो । तराईबाट ल्याइएको उन्नत जातको भैँसी भए पनि यहाँको हावापानीमा सहजरुपमा नै घुलमिल भएको उहाँको भनाइ थियो । भैँसीबाट उत्पादन भएको दूध बजारमा बेच्न थालिएको छ ।

किसान अधिकारीले भन्नुभयो,‘‘ गाउँपालिकाले हामीजस्ता किसानको उद्धार गरेको छ । गाउँपालिकाले सञ्चालनमा ल्याएको किसानलाई प्रोत्साहन गर्ने खालको यो कार्यक्रमले हामीलाई प्रत्यक्ष लाभ पुगेको छ । सहकारीमार्फत भएको काम भए पनि हामी आफै भैँसी छान्नको लागि गयौँ । आफैले भैँसी छानेर किन्न पाउदा खुसी लाग्यो । दूध बेचेर आफ्नो आर्थिक उपार्जनमा सहयोग पुगेको छ । अहिले आठ कुरुवा दूध दैनिक उत्पादन भइरहेको छ ।’’

उत्पादन भएको दूध स्थानीय बजारमा तथा तिवारीभञ्याङमा रहेको डेरीमा प्रतिलिटर रु ५५ मा बिक्री गरिरहेको किसान अधिकारीले बताउनुभयो । आफ्नो ठाउँका किसानबाट सङ्कलन भएको दूध भोजपुर सदरमुकाममा जाने गरेको उहाँको भनाइ थियो । किसान अधिकारीले भन्नुभयो,‘‘हामीले स्थानीय डेरीमा बिक्री गरिरहेका छौँ । यहाँ प्रतिलिटर रु। ५५ पाउछौँ । यसले दैनिक जीवन गुजारा गर्न सहज भएको छ । यहाँ खपत हुन नसकेको दूध सदरमुकाम जान्छ ।’’

त्यस्तै गाउँपालिकाले बाख्रापालनका लागि पनि उन्नत जातको बोका वितरण गरिरहेको जनाएको छ । खास गरेर गाउँपालिकाले वडानं ४को बस्तीम, ५ सानोदुम्मा र ६ को ठुलोदुम्मालाई बाख्रापालनका लागि उपयुक्त क्षेत्रको रुपमा छुट्याइएको छ । तातो तथा प्रशस्त चरण क्षेत्र भएकाले यो क्षेत्रमा व्यवसायिक रुपमा बाख्रापालनमा लागेका किसानलाई पनि आवश्यकताको आधारमा प्रोत्साहनमूलक कार्यक्रम गरिरहेको गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,‘‘अन्य क्षेत्रजस्तै हामीले पशुपालनको लागि क्षेत्र निर्धारण गरेका छौँ । खास गरेर व्यावसायिक बाख्रापालनका लागि गर्मी स्थान अलि उपयुक्त हुने भएकाले तल्लो क्षेत्रमा हामीले बाख्रापालनका लागि प्रोत्साहन गर्दै आएका छौँ ।’’रासस

वि.सं.२०७९ असार २१ मंगलवार १३:४६ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...