काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले साढे ५८ करोड बढी नाफा कमाएको छ । कम्पनीको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय तथ्याङ्कले यस्तो देखाएको हो ।
गत आवको असार मसान्तसम्ममा कम्पनीले ५८ करोड ५६ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीको यो नाफा २४.४९ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४७ करोड ४ लाख ९ हजार रुपैयाँ नाफा गरेको थियो ।
गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशतले वृद्धि भई १ अर्ब ४९ करोड ५ लाख २६ हजार रुपैयाँ पुगेको छ । उक्त अवधिमा कम्पनीको संचान मुनाफा पनि ३१.७३ प्रतिशतले बढेर ९२ करोड ९३ लाख ६३ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब ४० करोड ८९ लाख ४ हजार रुपैयाँ राखेको छ ।
कम्पनीको खराब कर्जा भने ०.५० प्रतिशतले वृद्धि भई १.४३ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी भने ६ रुपैयाँ ६२ पैसाले वृद्धि भई ३३ रुपैयाँ ६७ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ रहेको छ ।
वि.सं.२०७९ साउन ११ बुधवार १४:०६ मा प्रकाशित