back
NMB ad

उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडक बालाजु–त्रिशूली सडकको ठेक्का तोडियो

Kumari bank ad

काठमाडौं । काठमाडौँ उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रुपमा रहेको बालाजु–त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षमा निर्माण अलपत्र बनेको छ । पटक–पटक अवधि थप्दासमेत सम्पन्न नभएपछि अहिले सडक विभागले ठेक्का तोडेको छ ।

सडक अवस्था खराब हुँदा एम्बुलेन्सलगायत अरु अत्यावश्यक सेवा प्रवाहमासमेत कठीनाइ भइरहेको स्थानीयवासी र जनप्रतिनिधिले गुनासो गर्दै आएका छन् । दुई ठेक्कामा निर्माण अघि बढाइएकोमा एउटा ठेक्कामा ठेक्का तोडइसकिएको र अर्कोमा ठेक्का तोड्दा निर्माण व्यवसायी अदालती प्रक्रियामा गएकाले निर्माण अवरुद्ध बनेको हो ।

बालाजु–रानीपौवा सडक खण्ड निर्माणको जिम्मेवारी सन् २०१४ जुन ५ मा सैलुङ (नेपाली कम्पनी) र एआईपीएल (भारतीय कम्पनी) लाई दिइएकोमा गत असार ५ गते तोडिएको थियो । कूल १७ दशमलव एक किलोमिटर लम्बाइको सो सडक निर्माणका लागि सात पटकसम्म अवधि थप गरिएको थियो ।

पछिल्लो पटक चैतमा अवधि सकिएको सडक विभागका महानिर्देशक अर्जुनजङग थापाले बताउनुभयो । सो ठेक्कामा भौतिक प्रगति ५४ प्रतिशत र वित्तीय प्रगति ४९ दशमलव ३२ प्रतिशत रहेको थियो ।

सडकको अवधि थप गरिरहँदा त्यो अवधिभित्रै सम्पन्न गर्न पटक–पटक निर्माण कम्पनीलाई सचेत गरिएको विभागका महानिर्देशक थापाले बताउनुभयो । उहाँका अनुसार सडकको नियमित मर्मत सम्भारमा ध्यान नदिएकाले वर्षाको समयमा यातायात सञ्चालनमा कठीनाइ भएर स्थानीयवासीले सास्ती भोगेका थिए ।

आठ वर्ष वितिसक्दा निर्माणस्थलमा कुनै पनि सामग्री नरहेको, कामदार नभएको र निर्माणको गतिविधि ठप्प रहेको पाइएको थियो । उहाँले भन्नुभयो, “यसअघि निर्माण भइसकेका संरचना र अरु काम पनि स्वीकार गर्न नसकिने अवस्थामा पाइएको थियो ।”

निर्माणका क्रममा समस्या देखिएपछि परामर्शदाताले पटक–पटक लिखित रुपमा पत्राचार गरेर त्रुटि सच्याउन भनिएको भए पनि बेवास्ता भएको महानिर्देशक थापाले बताउनुभयो । दातृ निकाय, योजना कार्यालयसँगको बैठकमा पटक–पटक अवधिभित्रै सकाउछु भने पनि निर्माण व्यवस्थापनमा कति पनि चासो नदेखाएको उहाँले बताउनुभयो ।

सो ठेक्का तोडेसँगै योजना कार्यालयले सार्वजनिक खरिद ऐन, २०६४ र सम्झौताका आधारमा निर्माण कम्पनीलाई कालो सूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिएको छ । निर्माण कम्पनीको नाममा रहेको रु एक करोड ५५ लाख २४ हजार जमानत जफत गरी सडक विभागको खातामा जम्मा गरिएको छ । जिल्ला अदालत पाटनबाट गत असार ८ मा जारी भएको ठेक्का अन्त्य निर्णयसम्बन्धीको अन्तिम आदेश जारी भएको छ ।

चौतिस दशमलव ०९ किमी लम्बाइको रानीपवौवा–त्रिशूली सडकमा ठेक्का तोडिसक्दासम्म सो ठेक्कामा भौतिक प्रगति ४६ प्रतिशत र वित्तीय प्रगति ४१ दशमलव १३ प्रतिशत रहेको थियो । सो सडकको निर्माणको जिम्मेवारी भारतीय कम्पनी डिआरएआइपीएल, नागार्जुन, कोसी एण्ड न्यौपाने जेभीलाई दिइएको थियो ।

सन् २०१५ मा तीन वर्षमा सम्पन्न गर्ने गरी ठेक्का भएको भए पनि पटक–पटक थप हुँदासमेत आधा काम पनि सकिएको थिएन । अवधि सकिँदासम्म भौतिक प्रगति ४६ प्रतिशत र वित्तीय प्रगति ४१ दशमलव १३ प्रतिशत रहेको थियो ।

निर्माण व्यवसायीले सुरुदेखि नै लक्ष्यअनुसारको काम गर्न नसकेर परामर्शदाता कम्पनीबाट समय समयमा लिखित तथा मौखिक रुपमा सचेत गराएको विभागका महानिर्देशक थापाले बताउनुभयो ।

सुरुका दिनमा नेपाली कम्पनीले मुख्य व्यवस्थापनको काम भइरहेकामा सन् २०१८ सेप्टेम्बरबाट भारतीय कम्पनीबाट भएको थियो । दुबैले व्यवस्थापन गर्दा निर्माणमा प्रगति नभएको उहाँले बताउनुभयो ।

सार्वजनिक खरिद नियमावली, २०६४ को नवौँ संशोधनअनुसार एक वर्ष अवधि थपेर सन् २०२० को डिसेम्बरसम्म अवधि रहेको थियो । बन्दाबन्दीको समयमा पास उपलब्ध गराइएको भए पनि काम नगरेको उहाँले बताउनुभयो ।

सार्वजनिक खरिद ऐन, २०६४ को व्यवस्था र सम्झौताअनुसार नै विभागले विसं २०७७ मा ठेक्का अन्त्य गरेको थियो । निर्माण कम्पनी तत्काल कानुनी प्रक्रियामा जाँदा पाटन उच्च अदालतले असार १६ गते निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने र कार्य सम्पादन जमानत जफत गर्नेजस्ता कारबाही अघि नबढाउनु भनी अन्तरिम आदेश दिएको थियो ।

विसं २०७८ चैत १६ गते अदालतको निर्णय अनुसार व्यवसायीको फिराद पत्र खारेज भएको थियो भने सार्वजिक खरिद अनुगमन कार्यालयले कम्पनीलाई कालोसूचीमा राखेको थियो । सो सडक स्तरोन्नतिका लागि अहिले पहिले ठेक्का गरिएको समयभन्दा १२१ प्रतिशत बढी रकम लाग्ने देखिएको विभागका महानिर्देशक थापाले बताउनुभयो ।

मूल्याङ्कनअनुसार निर्माण कम्पनीबाट असूल गर्नुपर्ने रकम रु ७४ करोड ७७ लाख २० हजार २११ रहेकोमा कृषि विकास बैंकबाट रु दुई करोड २२ लाख जफत गरिएको छ । यात्रुलाई आवतजावतमा कठीनाइ भएकाले सामान्यमर्मत गरिएको विभागले जनाएको छ ।

बालाजु–रानीपौवा सडकको अदालतको निर्णय नआउँदासम्म केही गर्न नसकिने र रानीपौवा–त्रिशूली सडक ठेक्का तोडिएकाले नयाँ ठेक्काबाट जानुपर्ने सडक सुधार तथा विकास आयोजना निर्देशनालयले जनाएको छ । रानीपौवा–त्रिशूली सडक यही आवमा काम हुने निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताउनुभयो ।

काठमाडौँबाट नुवाकोट जानका लागि टोखा–छहरे र गल्छी–त्रिशूली सडक विकल्प भए पनि यो सडक बनिनसकेकाले रानीपौवा जान समस्या भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सकेसम्म मर्मत गरेर सडक हिँड्न हुने बनाइरहेका छौँ ।”

वि.सं.२०७९ साउन १७ मंगलवार १३:०० मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...