काठमाडौं। चिलिमे जलविद्युत कम्पनीको नाफा १५ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ७६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
सो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५.३५ प्रतिशत बढेको छ। कम्पनीले विद्युत बिक्री गरेर १ अर्ब १८ करोड रुपैयाँ आर्जन गरेको छ। कम्पनीले मुद्दती निक्षेपको ब्याजबाट १९ करोड ५४ लाख रुपैयाँ कमाएको छ।
सो अवधिमा कुल २ अर्ब २३ करोड रुपैयाँ कम्पनीले मुद्दती निक्षेपमा लगानी गरेको छ। यस्तै, ३८ करोड ७४ लाख रुपैयाँ निर्माणाधीन आयोजनामा लगानी भएको छ। कम्पनीले कुल ५ अर्ब ९५ करोड रुपैयाँ सहायक कम्पनीहरुमा लगानी गरेको देखिन्छ।
आम्दानीसँगै खर्च पनि बढेका छन्। जलविद्युत आयोजना सञ्चालन गरी विद्युत बिक्री व्यापार गरेको चिलिमेले १४ करोड ४२ लाख रुपैयाँ रोयल्टी बुझाएको छ। त्यस्तै, आयोजनाको सञ्चालन खर्च १० करोड ६० लाख रुपैयाँ छ।
खुद नाफा बढेका कारण कम्पनीको प्रति सेयर आम्दानीमा पनि वृद्धि देखिन्छ। पोहोर असारमा १०.५३ रुपैयाँ रहेको इपीएस ११.२६ रुपैयाँ पुगेको छ। सो अवधिमा चुक्ता पुँजी साढे ७ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीको चुक्ता पुँजी ६ अर्ब ७५ करोड रुपैयाँ कायम छ।
कम्पनीको अवितरित नाफा ३ अर्ब ६४ करोड रुपैयाँ छ। अवितरित नाफा झन्डै ५ प्रतिशत घट्यो। कम्पनीको प्रति सेयर नेटवर्थ पनि घटेर सो अवधिमा १५३.९४ रुपैयाँ कायम छ।
वि.सं.२०७९ साउन ३० सोमवार १३:१६ मा प्रकाशित