back
NMB ad

पर्यटकीय स्वर्गभूमि नेपालमा के छ त्यस्तो विशेषता ? पर्यटनविद् डा. आलोक प्रसाईको लेख

‘नेपाल विश्वका १० वटा सुन्दर देशहरु मध्ये पहिलो स्थानमा’

Kumari bank ad

डा. आलोक प्रसाई (पर्यटनविद्)

हाम्रा प्राचीन धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार “स्र्वगमा देवताको बास हुन्छ” । जहाँ जीवनका लागि आवश्यक पर्ने मनोरञ्जनका अथक अकल्पनीय वस्तुहरु सजिलै प्राप्त गर्न सकिन्छ । जब सोच र सपना देखिन्छ त्यो दृश्यावलोकन गर्न सकिने स्थानलाई नै स्वर्ग भनिएको छ । यसलाई आधार मान्ने हो भने पनि गौतम बुद्धको जन्म भूमि, जानकी र सीताको बासस्थान, पशुपतिनाथ, स्वयंभूनाथ, बौद्धनाथ, विभिन्न ऋषिमुनिको तपोभूमि, चैत्य, गुम्बा, मस्दिज जस्ता अनेकन धार्मिक स्थलहरु हाम्रो देशमा रहेका छन् जसको कारणले पनि नेपाल विश्वमै सुन्दर र शान्त भूमि हो ।
विश्व प्रख्यात World famous national geography adventure magazine मा एउटा कोटेसन लेखिएको छ “Anyhow to visit Nepal before the death” वास्तवमा पर्यटकीय दृष्टिले यो भनाई नै पर्याप्त छ । यस्तै गरेर केही समय अगाडि विद्युतिय सञ्चारमाध्यममा सम्प्रेषण गरिएको थियो ‘नेपाल विश्वका १० वटा सुन्दर देशहरु मध्ये पहिलो स्थानमा’ रहेको उल्लेख गरिएको छ । विश्व समाचार र पत्रपत्रिकामा नेपालको वास्तविकताले केही स्थान पाएको छ तर पनि हामीले यसलाई व्यवस्थापन सहित स्विकार्न सकिरहेको अवस्था छैन ।
नेपाल सगरमाथाको देश मात्र नभएर संसारको उच्च शिर भएको यथार्थता हो । यो मानव जगतकै लागि गौरवको विषय पनि हो । यसका साथसाथै पर्यटकीय सद्भाव, पर्यटकलाई गर्ने शिष्ट व्यवहार ‘अतिथी देवो भवः’ ले पनि प्रष्ट पार्दछ । नेपालमा मानव व्यवहारको अध्ययन तथा मूल्यांकन गर्ने हो भने देश अग्रस्थानमा रहेको छ भन्ने विषय सजिलै स्वीकार्न सकिने आधारहरु धेरै छन् । नेपाल पर्यटकीय आकर्षणका दृष्टिकोेणले विश्वकै उत्कृष्ट स्थानमा रहेको छ । हामीले यस्ता स्रोतहरुकोे अध्ययन तथा अनुसन्धान गरी प्रचार प्रसार गर्न अझ जरुरी रहेको छ । यस्ता आधारहरुको बजारीकरण र व्यवस्थापन गर्न सक्ने हो भने आगामी दिनमा राष्ट्रिय आयमा नै बलियो भुमिका पर्यटनको हुन सक्नेछ । पर्यटकीय दृष्टिकोणले पर्यटकको रमणीय भूमि नेपाल हुन सक्ने बलिया र भरपर्दा उल्लेख्य आधारहरु हामीमाझ प्रशस्तै रहेका छन् ।
धार्मिक आधार :
नेपाल धार्मिक दृष्टिकोणले धर्म निरपेक्ष भैसकेको छ । विगतमा पनि यहाँ धार्मिक सहिष्णता, सामाजिक एकता, सद्भाव भने नभएको होइन । धर्म मानिसको स्वतन्त्रतामा आधारित रहेको हुन्छ र यो कुनै बाध्यात्मक वस्तु पनि होइन । मानिसको आफ्नो रगत र संस्कारमा यो विकास हुँदै गएको हुन्छ । विश्वमा केही यस्ता मानिसहरु हुन्छन जसले जीवनको एक अंश नै धर्मलाई मान्ने गर्दछन् । यसलाई हामीले आधार बनाएर धेरै देशका पर्यटकहरुको आगमन बृद्धि गर्न सकिन्छ । यदि धार्मिक पर्यटकका लागि पशुपतिनाथ, गौतम बुद्ध जन्मस्थान, बुद्धत्व प्राप्त गरेको भूमि, बौद्धनाथ, स्वयम्भूनाथ, ताप्लेजुङको पाथीभरा, खोटाङको हलेसी, मनकामना विभिन्न चैत्य, गुम्बाका साथै मस्जिदहरु सवै धार्मिक उद्देश्यले मनोमोहक रहेका छन् । जुन देशमा मानिसहरु धार्मिक दृष्टिकोणले विश्व भ्रमण गर्न चाहन्छन उनीहरुको इच्छा नेपालको भ्रमण पश्चात्मात्र पूरा हुन सक्दछ भन्ने कुराको प्रचार आवश्यक रहेको छ । विगतका तथ्यांकहरुलाई हेर्ने हो भने पनि धार्मिक दृष्टिकोणले अत्याधिक पर्यटकहरुले नेपाल भ्रमण गरेको आधारहरु प्रशस्तै पाउन सकिन्छ ।
सामाजिक संस्कार :
नेपल परापूर्वकालदेखि नै बहुभाषा, बहुजाती तथा बहु संस्कृति भएर नै चार जात छत्तीस वर्णको फुलबारी भन्ने भनाई प्रचलनमा आएको हो । हामीसँग भएका १२५ जातजाति र १२३ भाषा भाषिको आ–आफ्नै प्रकारको महत्व रहेको छ । यिनीहरुको जातीय परम्परा, सामाजिक संस्कार, रितिरिवाज, चाडपर्व, लवाई–खुवाई, जन्मेदेखि मृत्यु पश्चातसम्मको भिन्न भिन्न परम्परा रहेको छ ।
पर्यटकलाई गर्ने आतिथ्य सत्कार अत्यन्तै आकर्षक र मनामोहक हुनाले पनि अत्याधिक पर्यटकहरुले मन पराउने गर्दछन् । केहि पर्यटकहरुले नेपालको जस्तो संस्कार विश्वमा अन्यत्र पाउन सकिंदैन भनेर समेत भन्ने गरेको पनि हामीहरुले सुन्दै आईरहेका छौं । पूर्वमा राई लिम्बुको धाननाच, गुरुङ मगर जातिको रोधी, राईको उँभौली उधौली, पश्चिमको डेउडा नाच, भक्तपुरको नेवारी रितीरिवाज, सवैको साझा चाडपर्व दशैँ तिहार, छठ, होली, आदि यसका उदाहरणका रुपमा लिन सकिन्छ । यस्ता चाडपर्वमा देखिने दृष्यले पर्यटकको मन सजिलै जित्न सक्दछ । यसै अवसरको महत्वलाई बुझेर कति पाहुनाहरु त्यही समयमा पुनः आउने गरेको पनि धेरै उदाहरणहरु रहेका छन् ।

जलस्रोतका आकर्षण :
जलस्रोतको आधारमा विश्वमा दोस्रो धनी देश नेपाल हो । यतिमात्र नभएर विश्वको ३ प्रतिशत स्वच्छ पिउने पानी नेपालमा नै रहेको छ । नेपालमा ८३ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने सम्भावना रहेको छ । विश्वमा केही यस्ता पर्यटकहरु छन् जसले आफ्नो जीवनको एक अंगका रुपमा जलस्रोतको प्रयोग र यसबाट प्राप्त हुने आनन्दलाई लिने गर्दछन । नेपालमा रहेका महत्वपूर्ण ६००० वटा सदावहार नदीनाला जुन उत्तरबाट दक्षिणतर्फ बगेका छन् । तर केही यस्ता नदीनाला पनि नेपालमा छन, जुन दक्षिणबाट उत्तरतिर बगेका छन् । यहाँ भएका नदीनाला, झरना, ताल, तलैया, धारा, पँधेरा, कुवा सवै रमणीय स्रोतहरु प्रकृतिका उपहार हुन् । जसबाट पर्यटकहरुले प्रशस्तै आनन्द प्राप्त गर्न सक्दछन् । साहासिक तथा सामान्य पर्यटकका लागि ¥याफ्टिङ, बोटिङ, पौडी, कायाकायलमा रमाउनका लागि प्रशस्तै आधारहरु नेपालमा रहेका छन । यसका लागि फेवाताल, बेगनास ताल, रारा ताल, सेफोकसुण्डो ताल, तिलीचो ताल, कालीगण्डकी, सेती नदी, राप्ती नदी, कावेली नदी, तमोर नदी, दुधकोसी, सप्तकोसी जस्ता ठूला नदीहरु नेपालमा रहेका छन् । त्यस्तै सानातिना सुनधारा, बाइसधारा, ढुंङ्गेधारा आदि ऐतिहासिक महत्वले भरिपूर्ण धारा तथा कुवाहरु पनि नेपालमा रहेका छन् ।

जैविक विविधता :
नेपालको पर्यटनलाई अकर्षणको केन्द्र बनाउने केही यस्ता आधारहरु रहेका छन् जुन हामी आफैलाई पनि अनौठो लाग्न सक्दछ । यहाँ पाइने चराचुरुङ्गी ८७६ प्रकारका छन । यो संख्या भनेको विश्वको ९ प्रतिशत हो । यस्तै गरेर विश्वका १३ देशहरुमा मात्र पाइने पाटे बाघ जसको संख्या ९५०० रहेको छ । ति मध्ये नेपालमा ३५५ वटा रहेका छन । त्यसै गरि एकसिंगे गैडाको संख्या नेपालमा ७५२ रहेको छ । रेडपाण्डा, हिम चितुवा, ६०० प्रकारका पुतली, २३२ प्रकारका माछा, १२ प्रकारका विषालु सहित ८० प्रकारका सर्प, ७०० प्रकारका जडीबुट्टी, १०००० प्रकारका वनस्पति, ३४ प्रकारका लालीगुरास जुन विश्वमा ४० प्रकारका मात्र रहेका छन । पछिल्लो समयमा देखिएको यार्सागुम्बा, जटामसी, पाँचऔंले, चिराईतो, पाखनवेद जसलाई अत्यन्तै महँगो औषधिको कच्चा पदार्थको रुपमा नेपालले विदेश पैठारी गर्दै आइरहेको छ । विश्वमा यस्ता वस्तुहरु हेर्ने, अध्ययन तथा अनुसन्धान गर्ने पर्यटकहरुको लागि यो ठूलो अवसर हुन सक्दछ । यतिमात्र नभएर हिमाली र उच्च हिमाली भुभागमा पाइने मौसम अनुसारका फुलहरुले मानिसहरुलाई साँच्चिकै मनोमोहक नै बनाउँछ । जसको अनन्दको अनुभवलाई उल्लेख नै गर्न सकिंदैन । त्यसैगरि पहाडी र हिमाली जंगलमा खान मिल्ने फलफुलहरु बाह्रै महिना देख्दा पनि साँच्चिकै नेपालको विविधता अनौठो र आकर्षकले जालो लगाएको जस्तो अनुभुती जो कोहिलाई पनि हुन्छ ।

हिमालय श्रृङ्खला :
विश्वमा अग्लो शिखर सगरमाथाले नेपालको मात्र नभई विश्व मानव जगतकै शिर उच्च राखेको छ । यसका साथै विश्वका अग्ला १४ वटा हिम शिखरहरु मध्ये ८ वटा (सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धौलागिरि, मनास्लु, अन्नपूर्ण) नेपालमा अवस्थित रहेकोले देशको गरिमा र पहिचान बलियो अवस्थामा रहेको छ । नेपालमा रहेका १७९२ वटा हिमालहरुले विश्वलाई नै आकर्षित गरेको छ । यसमा पनि नेपाल सरकारले सबैमा यात्रा गर्ने अनुमती दिइसकेको अवस्था भने छैन । यसका साथसाथै ७००० मिटरभन्दा माथिका ९० वटा र ६००० भन्दा माथिका हिमाल १३१० वटा नेपालमा हुनु विश्वका हिमाल प्रेमी र हिमालय टे«किङको लागि ठूलो चुनौती र अवसरका रुपमा लिन सकिन्छ । यी मध्ये पनि ४१४ वटा हिमालमा मात्र आरोहण गर्ने अनुमती नेपाल सरकारले प्रदान गरेको छ । चाँदीले शिरमा गुथेको पगरी जस्तो देखिने हिउँ देख्दा धेरैलाई स्वर्गको अनुभूत भएको हुन्छ । नेपालमा सन १९५२ देखि हालसम्म हजारौँ पर्यटकहरुले सफलतापूर्वक धेरै हिमालहरु आरोहरण गरिसकेका छन् । यसबाट केही स्वरोजगारीको सिर्जना भएता पनि सन्तोषजनक अवस्था भने छैन । हामीसंग भएको हिमालय दृष्यलार्ई भरपुर प्रयोग गर्नका लागि आवश्यकीय अवसरको खोजी गर्नु आजको हाम्रो आवश्यकता हो ।

भौगोलिक बनावट :
नेपाल क्षेत्रफलको हिसावले १,४७,१८१ वर्ग कि.मि. मात्र भएता पनि यस भित्रको भौगोलिक विविधता असाध्यै आनन्ददायी रहेको छ । बनावटको आधारमा हिमाल (१७%), पहाड (६८%) र तराई (१५%) रहनुले पनि सवै प्रकारको हावापानी, वन्यजन्तु, कलासंस्कृति, उत्पादन, लगायत हरियाली जङ्गल, पहरा, नदीनालाहरु प्रशस्तै पाउन सकिन्छ । करिव ३ घण्टाको यात्रा पश्चात् मौसम परिवर्तनको आनन्द लिन सकिन्छ । यहाँ अत्यधिक तापक्रम लगभग ४०डिग्री सम्म र न्युनतम ०डिग्री भन्दा कम रहेको छ । यसले पर्यटकलाई सुहाउँदो र उनीहरुको स्वास्थ्य अनुकूल भ्रमण गराउन सकिन्छ ।

उत्पादन :
भौगोलिक बनावट, जातिय/धार्मिक/सांस्कृतिक भिन्नताका आधारमा अनेक वस्तुहरु उत्पादन गर्ने गरिन्छ । यस्ता प्रकृतिक वस्तुहरुले नेपालको वास्तविकता, रितीरिवाज, परम्परा धर्मसंस्कार जस्ता अनेकन विषयको परिचय दिएको हुन्छ । प्राय यस्ता वस्तुहरु हस्तकलामा आधारित हुने गर्दछन जसलाई माटो, ढुंङ्गा, छाला, काठ आदि प्रयोग गरेर बनाइएको हुन्छ । विश्व बजारमा लोप हुँदै गैइरहेका वस्तुहरुको अनौठो र ऐतिहासिक दृष्यलाई पर्यटकहरुले मन पराउने र आफ्नो देशमा समेत उपहारको रुपमा लैजाने परम्परालाई निरन्तरता दिनुका साथै यसप्रकारका व्यवसाय विस्तार गर्न आवश्यक रहेको छ ।

शान्ति सुरक्षा :
नेपालमा पर्यटकलाई देवता समान व्यवहार गरिन्छ । यहाँ स्वतन्त्र रुपमा हिँडडुल गर्ने आफ्ना इच्छाअनुसार रमाउने अधिकार प्रत्येक पर्यटकले प्राप्त गरेका छन् । कुनै विषयमा पनि अनावश्यक प्रतिबन्ध लगाइएको छैन । यतिमात्र नभई सवै सुरक्षित भएको महसुस गर्ने आधारहरु विगतका यात्राहरुले पनि प्रष्ट पारिसकेको छ । वि.सं. २०५२ सालबाट सुरुभएको १० वर्षे जनयुद्धमा करिव १७ हजार मानिसले ज्यान गुमाए, कयौं अङ्गभङ्ग भए, कयौँ पलायन र विस्थापित भए, केही बेपत्ताको सङ्ख्यामा परे ता पनि कुनै पर्यटकले अप्रिय घटना सहन गर्नु परेन । यसबाट पनि प्रष्ट हुन्छ कि नेपालमा पर्यटकहरु कहिल्यै असुरक्षित छैनन् । पर्यटकहरुका लागि नेपाल शान्तभूमि हो भन्नेमा कुनै द्विविधा छैन ।

निष्कर्ष :
नेपालमा पर्यटनको यति धेरै स्रोत र साधन हुँदाहुँदै पनि हामीले यो अवसरलाई चुम्न सकेका छैनौं । पर्यटनको महत्वलाई बुझ्न नसक्नु, खोज्न नसक्नु, बजारीकरणको समस्या हुनु, विषय विज्ञको पहिचान नुहुनु, राजनीतिक अस्थिरता हुनु, भौगोलिक सुविधाको कठिनाई जस्ता समस्याहरुको उचित व्यवस्थापनमा सुधार गर्नुपर्ने आजको पर्यटन प्रबद्र्धनको आवश्यकता हो । सम्वन्धित निकायहरुले पर्यटकीय कार्यक्रम, छलफल, गोष्ठी, भ्रमण, अध्ययन तथा अनुसन्धान गर्दा योजनामा मात्र सीमित नरही उपलब्धिमूलक बनाउन जरुरी रहेको छ । कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन गरी उपलब्धिहीन कार्यक्रम बर्जित गरिनुपर्दछ । नेपालजस्तो विकासोन्मुख देशको वैकल्पिक आयस्रोतका लागि पर्यटन प्रवद्र्धन आवश्यक रहेको कुरालाई शिरोधार्य गर्दै पर्यटकीय साधन र स्रोतहरुकोे उचित व्यवस्थापन गर्दै लैजाने हो भने मानवजातिको लागि आवश्यक पर्ने आकर्षणका भण्डारण खोज्न अन्यत्र जानुपर्ने अवस्था छैन । पर्यटकका असिमित इच्छा, उद्देश्य, चाहना, पूरा गर्ने प्रबल सम्भाव्यता यहाँ भएकाले नै नेपाल विश्वकै एक मात्र पर्यटकीय स्वर्गभूमी हो ।

(लेखक नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका अनुसन्धान विज्ञ एवं नेपाल विद्यावरिधी संघ महासचिव हुनुहुन्छ ।)

वि.सं.२०७९ भदौ १४ मंगलवार १६:१९ मा प्रकाशित

You can share this post!

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृतमा मन्जिला डंगोल नियुक्त

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४६

काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा...

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

सिईडिबी हाईड्रोपावरद्वारा लाभांश घोषणा, साधारण सभा र बुकक्लोज मिति पनि तय

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:४०

काठमाडौं। सिईडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

औषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:३१

मलेखु (धादिङ), ११ वैशाखः रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल...