back

होमस्टे विकासको दश औजार : पर्यटन विद् डा. आलोक प्रसाईको लेख

Kumari bank ad

डा. आलोक प्रसाई

पृष्ठभुमी

विश्वमा भइरहेको आर्थिक असमानतालाई न्यूनीकरण गर्नुपर्दछ भन्ने विषयमा विभिन्न देशहरुमा फरक फरक प्रकारका छलफल, सेमिनार, अन्तरक्रिया तथा गोष्ठीहरु भइरहने गर्दछन् । आजको अर्थशास्त्रीहरुको ठूलो सम्भाव्यता र चुनौती पनि यसैसँग जोडिएको हुन्छ । यदि आर्थिक विपन्नता वृदि हुँदै गयो भने यसले समाज, राष्ट्र र विश्वमा नै नकारात्मक स्थितिको सृजना हुन्छ भन्ने कुरालाई मध्यनजर गर्दै नयाँ सोचका साथ गरिबी न्यूनीकरण विषयको अनुसन्धान सुरु गरियो । लामो बहस पश्चात ‘Sharing Economy’ वा विश्वमा चलायमान आर्थिक अवसरलाई कसरी बाँडफाँड गर्न सकिन्छ भन्ने कुरा अगाडी ल्याइयो । यहि अवधारणाको माध्यामबाट नयाँ आर्थिक वितरणको सम्भाव्यतालाई आधार मान्दै घरबास ब्यवसायलाई व्यवस्थित गर्दै लगिएको विश्व परिवेशबाट बुझ्न सकिन्छ । घरबासको इतिहासलाई अध्ययन गर्ने हो भने १९७८ मा मलेसिया सरकारले विकासको औजारको रुपमा प्रयोग गरेको देखिन्छ । जुन अत्यन्तै प्रभावकारी भएको विभिन्न अध्ययन तथा अनुसन्धानहरुले देखाएको छ । यसको माध्यमबाट बहुआयामिक क्षेत्रको विकास गर्न सकिन्छ जस्तै स्वास्थ्य, शिक्षा, सामाजिक परिवेश, वातावरण संरक्षण, कला संस्कृतिको विकास आदिमा यसको प्रत्यक्ष सम्बन्ध रहेको हुन्छ ।

पर्यटकीय व्यवसायीहरु सुविधा सम्पन्न स्थान (सहर) मा मात्र ठूलो लगानी गर्ने र त्यसबाट प्राप्त हुने नाफा पनि उनीहरुले मात्र प्राप्त गरिराख्दा पर्यटकीय फाइदाबाट एउटा ग्रामीण क्षेत्र वा दुरदराजमा बस्ने मानिस बञ्चित रहेकाले उनीहरुलाई कसरी यसको फाइदा पुर्याउन सकिन्छ भन्ने सन्र्दभमा “Home stay” ले महत्वपूर्ण भूमीका खेलेको पाइन्छ । यसलाई विकासोन्मुख देशहरुले विकासको औजारको रुपमा नै स्विकार गर्नुपर्ने परिस्थितीको सृजना भएको छ ।
सामान्यतया होमस्टे विश्व पर्यटनको एक महत्वपूर्ण अङ्ग हो । जहाँ पर्यटनको विकास हुन्छ त्यहाँ होमस्टेको पनि पहिचान त्यसै अनुरुप जोडिएको हुन्छ । ग्रामीण क्षेत्रका मानिसहरुलाई सचेत गराउने र सामान्य मानिसहरुको आर्थिक अवस्था परिवर्तन गर्न प्रयोग गरिएको औजारको रुपमा यसलाई लिन सकिन्छ । कुनै समयमा पर्यटन भन्नाले कुनै विशेषताले परिचित विषयवस्तुलाई परिभाषित गरेता पनि आज आएर होमस्टे पर्यटनले पनि आफ्नो पहिचान बनाइसकेको छ ।
नेपालमा होमस्टेको प्रचलन परम्परागत नै भएता पनि पछिल्लो समयमा आएको कार्यविधि २०६७ ले निर्देश गरे अनुरुप नै संचालनमा रहेको पाउन सकिन्छ । होमस्टे संचालनका मूलतः दुईवटा उद्देश्यहरु रहेका थिए । पहिलो पर्यटकहरुलाई ग्रामीण क्षेत्रको वास्तविक अनुभुती गराउने र दोस्रो उद्देश्य पर्यटनको माध्यमबाट दुरदराजका मानिसहरुको आयआर्जन तथा रोजगारीको अवस्थालाई दिगो विकास विकाससंग जोडि पर्यटन मैत्री वातावरण बनाउने ।

हाम्रो जस्तो भौगोलिक बनावट भएको देशमा होमस्टे संचालनको ठुलो महत्व रहेको हुन्छ । हिमाल, पहाड र तराई मिलेर बनेको देश नेपाल, यहाँ १२५ जातजाती र १२३ भाषाभाषी रहेका छन् । प्रत्येक जातीको भाषा, कला, संस्कृति, संस्कार, रितिरिवाज, परम्परा, खानपान, संस्कार र सभ्यता आफैमा महत्वपूर्ण रहेका छन् ।

नेपालमा लगभग ६८ वटा जिल्लामा करिव ५०० स्थानिय तहमा होमस्टे संचालनमा रहेका छन । केहि होमस्टेले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत पहिचान बनाइसकेका छन भने केहिले अन्तराष्ट्रिय सम्मान प्राप्त गरेका छन् । आज ग्रामीण क्षेत्रको वातावरण, प्रकृति र संस्कृतिको संरक्षणमा पनि होमस्टेको ठूलो महत्व रहेको छ ।

नेपालको भौगोलिक बनावटको आधारमा पर्यटनलाई विशेष महत्व दिएको पाइन्छ । नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना (सन् २०१६ – २०२५) मा पनि ग्रामीण पर्यटन, पर्यटन र होमस्टेको उल्लेख सहित ब्याख्या गरिएको पाइन्छ । त्यसैगरि समय सान्दर्भिक प्रकाशन गरिएको नेपालमा पर्यटन विकास र समृद्धिको आधार २०७५ भन्ने पर्यटनको महत्वपुर्ण संकलित पुस्तकमा पनि होमस्टे पर्यटनको आवश्यकताका सन्दर्भमा प्राथामिकताका साथ उल्लेख गरिएको छ । पछिल्लो समयमा प्रदेश सरकारले समेत यसमा पूर्ण चासो देखाउँदै आवश्यक कार्यक्रमहरु समेत संचालन गर्दै आइरहेको छ ।

नेपाल सरकारको पर्यटन प्रबद्र्धन नीति तथा कार्यक्रम अनुसार प्रत्येक गाउँपालिका, नगरपालिका तथा महानगरको बजेटमा समेत केहि न केहि रकम होमस्टेको लागि विनियोजन गर्न थालेको देखिन्छ । हाल स्थानीय सरकार संचालन ऐन २०७४ अन्तर्गत विभिन्न ऐन तथा कार्यविधि बनाएर होमस्टेलाई प्राथमिकता दिएको देखिन्छ । आगामी दिनमा होमस्टे संचालन तथा व्यवस्थापनका लागि समय सापेक्ष कार्यक्रम तर्जुमा गर्न सकियो भने यसले दीर्घकालिन विकासको औजारको रुपमा स्थापित हुन सक्ने विभिन्न अभ्यास र अनुभवले देखाएको छ ।

होमस्टेको अवसर

विश्व अर्थतन्त्र र आर्थिक अवसरलाई हेर्ने हो भने फरक फरक प्रकारका विकासका मोडेलहरु देख्न सकिन्छ । जसमा विकसित र विकासोन्मुख देशहरुमा भिन्न प्रकारका देखिन्छन । यसमा पनि भौगोलिक बनावट, प्राकृतिक र सांस्कृतिक संरचना, शिक्षा र समाजको चेतनाको स्तर, भौतिक पूर्वाधार, स्वास्थ्य, सुरक्षा लगायत यसका आधारहरु बन्न सक्छन । पछिल्लो समय विकसित देशमा भन्दा पनि विकासोन्मुख देशमा होमस्टेको प्रभाव वढ्नुका साथै सकरात्मक सन्देश प्रवाह गरेको विभिन्न अध्ययनले देखाएका छन । जहाँ विकास आवश्यक छ, त्यहाँ होमस्टे पुग्नुपर्छ भन्ने जुन विश्वास समाजमा सृजना भएको छ यसवाट नै प्रष्ठ हुन्छ कि होमस्टे विकास र समृद्धिको बलियो आधार हो । होमस्टेले सबै प्रकारका पाहुनाहरूलाई बस्नको लागि वैकल्पिक र किफायती ठाउँ प्रदान गर्दछ । जहाँ प्रकृति र संस्कृतीको आनन्द भरपुर लिन सकिन्छ । पछिल्लो समय नेपालमा तीनै तहका सरकारले होमस्टेलाई महत्वका साथ हेरेको पाइन्छ । भौगोलिक बनावटको आधारमा नेपालमा १७ प्रतिशत हिमाल, ६८ प्रतिशत पहाड र १५ प्रतिशत तराईमा रहेको छ । विकास र प्रवद्र्धनको हिसावले होमस्टेको सम्भावना सबै क्षेत्रमा उत्तिकै रहेको पाइन्छ ।

होमस्टे विकासको औजार हुनुको केहि आधारहरु :

१. स्थानीय मानिसहरुसंग सहकार्य गर्न

ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरुको संख्या अत्यन्तै धेरै रहेको छ । सानो अपेक्षा लिने तर धेरै आनन्द महसुस गर्नेको समुह ग्रामीण भेगमा पाइन्छ । जुन ठूला शहरमा बसोबास गर्ने मानिसहरुको सोच र व्यवाहार भन्दा फरक पाइन्छ । कुनै पनि देशका मानिसहरुको यथार्थ अवस्था, आर्थिक, रोजगारी तथा क्षमताको विकास हेर्नलाई स्थानीय मानिससंगको सहकार्य आवश्यक हुन्छ । यस्ता सहकार्यको माध्यमबाट पर्यटकले अनेकन विषयवस्तुको भोगाई, सिकाई आदिको अवसर प्राप्त गर्दछन । यस्ता विषयवस्तुको सिकाईको लागि पनि ग्रामीण पर्यटन वा होमस्टेको बसाई आवश्यक रहेको छ ।

२. आर्थिक अवसर सृजना गर्न

होमस्टेमा आउने पाहुनाहरुले केहि न केहि रकम खर्च गर्दछन । सामान्य आय स्तर भएका मानिसहरुको लागि यो आर्थिक अवसर पनि हो । जब पाहुनाहरु होमस्टेमा आउँछन उनीहरुले देख्ने दृश्य, वातावरण, संस्कृति र मानिसले गर्ने सेवाको समेत प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मूल्य तिरिरहेका हुन्छन । जसले गर्दा पर्यटक आउँदा शहरका ठूला होटल र ठूला पर्यटन व्यवसायीले मात्र लाभ प्राप्त गर्ने होइन कि एउटा सामान्य दुरदराजमा बस्ने मानिसले पनि पर्यटनको महत्व बुझ्दै आर्थिक अवसर प्राप्त गर्दछ । यसबाट सामान्य ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसले समेत पर्यटनको माध्यमबाट केहि न केहि आयआर्जन गर्न सक्दछ । आफ्नै घरमा पाहुनालाई राखेर, आफैसंगै बसाएर आफैले उत्पादन गरेको वस्तुबाट बनाएको खानाको परिकार विक्री गरी स्थानीय मानिसहरुले आय प्राप्त गर्ने यो एक भरपर्दो र सजिलो माध्यम पनि हो ।

३. नयाँ स्थानको अनुभव प्राप्त गर्न

पर्यटक भनेको घुम्ने र नयाँ अनुभव प्राप्त गर्ने व्यक्ति हो । विभिन्न स्थानमा जानु, बस्नु नयाँ अनुभुतिको अनुभव गर्दै आनन्दको महशुस गर्ने उसको लक्ष्य रहेको हुन्छ । सामान्यतया अत्याधिक पर्यटकहरुले धेरै होटल, मोटेल, रिसोर्ट, कटेज, गेष्ठहाउस आदिको अनुभव सजिलै प्राप्त गर्न सक्दछन । यस्ता क्षेत्रबाट पाइने अनुभव र सेवा करिव करिव उस्तै रहेका हुन्छन् । पर्यटकहरुले नयाँ स्थान त्यसमा पनि ग्रामीण परिवेशमा अनुभवको आदान प्रदान गर्न सकिने एउटै मात्र सजिलो माध्यम होमस्टे नै हो । सामान्य गाउँको सिकाई, स्थानीय कठिनाई, शिक्षाको अवस्था, सुरक्षाको स्थिति आदिको प्रत्यक्ष अनुभुति समेत होमस्टेको माध्यमबाट गर्न सकिन्छ । पर्यटकले परिकल्पना गरेको भन्दा पनि भिन्न प्रकारको ज्ञान र अनुभव होमस्टेको माध्यमबाट प्राप्त गर्न सकिन्छ । वास्तवमा नै होमस्टेको बसाईबाट नयाँ र स्मरणयोग्य अनुभुति प्राप्त रहेको हुन्छ ।

४. नयाँ खानाको स्वाद

शहर केन्द्रित आवसमा लगभग एकै प्रकृतिको खाना पाइन्छ । जुन स्वादमा मिठो भएता पनि त्यसले स्वास्थ्यमा पार्ने प्रभावको बारेमा कुनै लेखाजोखा गरिएको हुँदैन । तर होमस्टेमा तयार गरिने खानाका परिकारहरु स्थानीय उत्पादनमा आधारित रहेका हुन्छन् । जुन उत्पादन स्थान र जाती विशेषसंग पनि सम्बन्धित रहका हुन्छन । यसमा पनि समय अनुसारको खाना, संस्कार र संस्कृतिमा आधारित खाना, मेलाजात्रामा तयार गरिने खाना फरकफरक प्रकारका हुन्छन जुन सबै स्थानमा एकै प्रकारको हुँदैन । यसबाट होमस्टेमा बस्ने सबै पाहुनाले यस्ता खानाको परिकारको भिन्न स्वाद प्राप्त गर्दछन । जुन ठूला होटलमा पाउन सकिंदैन । स्थानीय उत्पादनको संरक्षण र रैथाने (परम्परागत) खानाको प्रवद्र्धन गर्ने उद्देश्यले होमस्टे संचालन भएका हुन्छन । जहाँ पर्यटकले कहिल्यै नबिर्सने खानाको परिकारहरु खान पाउँछन ।

५. एकल यात्रीहरूको लागि उत्तम

आधुनिक समयमा नयाँ स्थानको भ्रमण गर्ने सबैको इच्छा हुन्छ । समय परिस्थिती र व्यस्तताले गर्दा मानिसहरु एकै परिवारका पनि एकै समयमा घुम्न सक्दैनन् । यसबाट धेरै मानिसहरु एक्लै घुम्ने अवस्थाको सृजना हुन्छ । यसरी घुम्दा उनीहरु ठूलो शहर वा ठुलो होटलमा जाँदा वा बस्दा एक्लो महसुस गर्दछन । पर्यटकहरुलाई एक्लोपनबाट टाढा रहनको लागि होमस्टे अपरिहार्य नै रहेको हुन्छ । एकल पर्यटकहरुको बसाईको लागि भने होमस्टे नै सबैभन्दा उत्तम बसाईको विकल्प हुन सक्दछ । यस्ता बसाईमा आफ्नै घरको अनुभव र सम्झन योग्य अवसरहरु प्राप्त हुन सक्छन् ।

६. स्थानीय भाषाको संरक्षण र सिकाई

होमस्टेको अर्को महत्वपूर्ण पक्ष भनेको स्थानीय भाषाको संरक्षण र सिकाई पनि हो । पर्यटकहरु आउँदा ठूला र सुविधा सम्पन्न होटलमा बस्छन भने उनीहरुको आफ्नै देशको राष्ट्रिय भाषा बाहेक अन्य सिक्न सक्दैनन किनकी त्यहाँ दोभाषेहरु वा पर्यटकले बोल्ने गाइडहरु पाउन सकिन्छ तर होमस्टेको बसाईमा पर्यटकले स्थानीय भाषा सिक्ने, बोल्ने ठूलो अवसर प्राप्त गर्न सक्दछ । अझै विद्यार्थीको रुपमा जाँदा, व्यापार व्यवसायको सन्दर्भमा घुम्दा वा कुटनितिक तरिकाबाट अन्य देशमा जाँदा उक्त देशको भाषा आवश्यक पर्दछ । जुन होमस्टेमा पाउन सकिन्छ जसले गर्दा दोहोरो फाइदा प्राप्त गर्न सकिन्छ । एकातिर पर्यटकले स्थानिय भाषा सिक्ने अवसर प्राप्त गर्दछ भने अर्कोतिर स्थानीयहरुले आफ्नो भाषाको महत्वलाई बुझेर त्यसको संरक्षण समेत गर्दछन ।

७. स्थानीय पदमार्गको अनुभव

पर्यटकहरुको मूल उद्देश्य भनेको यात्राबाट केहि न केहि नयाँ अनुभव प्राप्त गर्नु हो । नयाँ अनुभव पाउन नयाँ गन्तव्यको भ्रमण गर्न आवश्यक हुन्छ । यसका लागि सबै देशमा आ–आफ्ना पहिचानका वस्तुहरु रहेका हुन्छन । तर होमस्टेबाट नयाँ अनुभव प्राप्त गर्न कुनै नयाँ देशमा जानैपर्छ भन्ने हुँदैन । देश भित्रै संचालनमा रहेका सयौं होमस्टेमा हजारौं नयाँ अनुभव प्राप्त गर्न सकिन्छ । त्यतिमात्र होइन स्थानीय पदमार्ग, त्यसले जोडेका पर्यटकीय गन्तव्य जुन सबैले देख्ने अवसर प्राप्त गरेका हुँदैनन तर होमस्टेमा आउने पर्यटकले यस्ता वस्तुहरुको अनुभव प्राप्त गर्न सक्दछन् । साथै उक्त स्थानमा रहेका मार्गको पहिचान, अवस्था, र आवश्यकताको बारेमा समेत स्थानियले बताउन सक्दछन । जसबाट पर्यटकले त्यसको ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक लगायतका महत्वको बारेमा बुझ्न सक्दछन । उक्त पदमार्गमा देखिने दृश्य, जंगल, जगंली जनावर, फुल लगायतको नयाँ अनुभुति पर्यटकले गर्न सक्दछन् ।

८. स्थानीय संस्कृति चिनाउन र बचाउन

होमस्टे बसाईको सुरुवात तथा स्वागत नै स्थानीय संस्कृतीमा आधारित रहेको हुन्छ । जहाँ होमस्टे हुन्छन् त्यहाँ स्थानीय पहिचान सहितको संस्कृती पाउन सकिन्छ । अबको समयमा संस्कृतिलाई बचाउन सजिलो छैन । संसार साँघुरो घेरामा रहेको छ । तर होमस्टे प्रवद्र्धन र संचालनबाट पर्यटकिय सम्पती संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्न सकिन्छ । आज मानिसहरुले आफुलाई मात्र भुल्ने होइन आफ्ना संस्कार, संस्कृति, पहिचान समेत गुम्दै गएको अवस्थामा होमस्टेले मात्र यसलाई बचाउन सक्दछ । यस्ता होमस्टेमा आउने सबै पाहुनाहरुले संस्कृतीको पहिचान देख्न पाउँछन । नेपालमा रहेका अधिकांश होमस्टेमा स्थानीय संस्कृती पाहुनालाई देखाउने र देखाएबापत केहि रकम लिने गर्दछन । संस्कृतीलाई होमस्टेको गहनाको रुपमा नै विकास गरिंदै लगिएको छ । जब संस्कृतीलाई आयआर्जनसंग जोडिन्छ त्यसले दीर्घकालिन विकासको योजनालाई मद्धत गर्दछ ।

९. एक वास्तविक ‘घरबाट अर्को घर’

होमस्टेको बसाई आफ्नो घरभन्दा भिन्न हुँदैन । पाहुनाहरु परिवारको सदस्य जस्तै भएर बस्ने, गफ गर्ने, अनुभव साटासाट गर्ने, स्थानीय परिवारसंगै बसेर घरको काम गर्ने गर्दछन । जसबाट उनीहरु टाडा वा भिन्नै ठाउँमा गएको महशुस गर्दैनन् । जुन होमस्टेमा बस्छन त्यहाँ परिवारिक मायाको अनुभुति गर्दछन् । पर्यटन क्षेत्रमा होमस्टे यस्तो सुखद व्यावसाय हो जसमा सबै रमाउन सक्दछन । पर्यटक गएर बस्दा पनि उसले आफ्नै तर अर्को घरमा बसेको अनुभुती गर्दछन । यस्ता बसाईबाट संधै एकले अर्कोलाई सम्झने र आरामदायी बसाईको अनुभव साट्ने अवसर प्राप्त गर्दछन जुन अन्य कुनै बसाईमा पनि प्राप्त गर्न सकिंदैन । यसले एक आपसमा ब्यक्तिगत मात्र होइन देश देशका बीचमा कुटनीतिक सम्बन्ध समेत विस्तार हुने गर्दछ । पाहुनाले कहिल्यै पनि टाढाको बसाईको महशुस नगर्ने भनेकै होमस्टे हो ।

१०. सम्झन योग्य यात्रा

प्रत्येक यात्राका आफ्ना आफ्नै सोच र अनुभव रहेका हुन्छन् । कसैले ठूला हिमालको दृश्य समझन्छन, कसैले पदमार्गको, कसैले जंगली जनावरहरुको दृश्य आदि । केहि समयको अन्तरमा यस्ता प्रकारका अनुभवहरु बिर्संदै जान्छन् । जुन मानवीय स्वभाव पनि हो । तर होमस्टेमा बस्ने पाहुनाले बसाईको अनुभव त्यस दिनसम्म सम्झन्छ जुन दिनसम्म ऊ आफ्नो जीवनका यात्राहरु स्मरण गर्न सक्दछ । पाहुनाले अनुभुती गर्न सक्ने केहि यस्ता वस्तुहरु छन जुन होमस्टेमा स्थानीय कच्चा वस्तुबाट निर्माण गरिएको आवास, सुत्नको लागि बनाएको खाट, प्रत्यक्ष देखिने कुटानी, पिसानी तथा पेलानी आदिको दृश्य आवलोकन कहिल्यै भुल्न सकिंदैन । त्यतिमात्र होइन अगेनो र चुलोमा पकाएको खाना, मानिसको स्वार्थ रहित व्यवाहार आदि पर्यटकको मानसपटलमा संधै घुम्ने विषयहरु बन्न सक्दछन । दुरदराजका ग्रामीण क्षेत्रमा रहेको अतिथी देवो भवःको वास्तविकता पनि पर्यटकले भुल्न गाह्रो हुन्छ ।

निश्कर्ष

अन्तमा अहिलेको विकासको लहरलाई हेर्दा, भौगोलिक अवस्था र मानिसको चेतनाको स्तरलाई हेर्दा, शिक्षा र संस्कृतिको बेथितिलाई हेर्दा, भौतिक पूर्वाधारको अवस्था, तीन तहका सरकारको चासो र सकृयतालाई हेर्दा पनि आज होमस्टेलाई प्राथामिकतामा राखेको पाइन्छ । नेपालको पर्यटनको सम्भाव्यता र आकर्षण भनेको प्रकृति र संस्कृति नै प्रमुख हुन् । यसलाई बचाउने र संरक्षण गर्ने कार्य होमस्टेबाट मात्र सम्भव हुन्छ भन्ने विश्वास सबैमा वढ्दै गएको छ । होमस्टेमा देखिएका कमी कमजोरीलाई पनि सुधार गर्दै लग्ने र बलियो अनुगमन गर्ने हो भने अवको समृद्धि होमस्टेबाट सम्भव छ । यसलाई वहुआयमीमक विकासको औजारको रुपमा प्रयोग गर्न सकिन्छ ।

  •  पर्यटन तथा होमस्टे विद्, अनुसन्धान विज्ञः नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, महासचिवः नेपाल विद्यावारिधी संघ, सल्लाहकार :होमस्टे महासंघ

वि.सं.२०७९ भदौ ३१ शुक्रवार १९:३१ मा प्रकाशित

You can share this post!

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८० फागुन २१ सोमवार १६:१८

काठमाडौँ, २१ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले...

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

दूध बिक्री नभएपछि दैनिक ४२ लाख घाटा बेहोर्दै किसान   

वि.सं.२०८० फागुन २१ सोमवार १५:५०

चितवन, २१ फागुनः दूध बिक्री घटेपछि जिल्लाका दुग्ध उत्पादक किसानहरुले...

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

प्रहरीमा उजुरी र गुनासो गर्न क्युआर कोड प्रयोगमा   

वि.सं.२०८० फागुन २१ सोमवार १५:०४

गोरखा, २१ फागुन : जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न...

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

विद्यालयलाई प्रविधिमैत्री बनाउन वडा कार्यालयबाट ल्यापटप हस्तान्तरण  

वि.सं.२०८० फागुन २१ सोमवार १४:५८

बलेवा (बागलुङ), २१ फागुन : बागलुङको जैमिनी नगरपालिका–१ को वडा...

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

अमेरिका–बेलायत पुग्छ धराने खुकुरी   

वि.सं.२०८० फागुन २१ सोमवार १४:५३

सङ्गीता राई धरान (सुनसरी), २१ फागुन : एउटा उखान छ,...

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

मेरिना इम्पेक्सले पायो ‘बेष्ट टेलरिङ अवार्ड, २०८०’

वि.सं.२०८० फागुन २१ सोमवार १४:१४

काठमाडौ । मेरिना इम्पेक्सले यस बर्षको बेष्ट टेलरिङ अवार्ड पाएको...