back
NMB ad

शिक्षकको निगरानीमा गाउँपालिकाले विद्यार्थीको होमवर्क चेक गर्ने

Kumari bank ad

खोटाङ । शैक्षिक गुणस्तर सुधारका लागि खोटाङको केपिलासगढी गाउँपालिकाले विद्यार्थीको कापी चेक गर्ने भएको छ । विद्यार्थीलाई शैक्षिक क्रियाकलापमा थप क्रियाशील गराउन गाउँपालिकाले निःशुल्क कापी वितरण गर्ने र विद्यार्थीले लेखिसकेका कापी चेक गर्ने तयारी गरेको हो ।

सातवटा वडा रहेको गाउँपालिकाले सुरुमा कक्षा १ देखि ३ सम्मका विद्याथीलाई आफैले तयार पारेको ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गर्ने तथा कक्षा कार्य र गृहकार्य चेक गर्ने भएको हो ।

पृष्ठभूमिमा गाउँपालिकाको कार्यालय र नक्सा राखिएको ‘विद्यार्थी अभ्यास पुस्तिका’ छपाइको काम अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष समिर राईले बताए । यो कदम केही कामचोर शिक्षकमाथिको ‘निगरानी’का लागि ल्याइएको बुझिएको छ । आगामी १ मंसिरदेखि निःशुल्क कापी वितरण गर्ने र चेक गर्ने अभियान लागू गरिने गाउँपालिकाले जनाएको छ ।

मिति, विद्यार्थीको नाम, कक्षा, रोल नम्बर, विषय, विद्यालय, विषय शिक्षकको नाम र सम्पर्क नम्बर, प्रअको दस्तखत, अभिभावकको नाम र सम्पर्क नम्बर उल्लेख हुने ‘अभ्यास पुस्तिका’ वितरणपछि विद्यार्थीले अन्य कापी प्रयोग गर्न पाउने छैनन् । गाउँपालिकाका अनुसार चालू शैक्षिक सत्रका लागि १६ हजार कापी छापिँदैछन् ।

कक्षा कार्य र गृहकार्य गर्नेक्रममा भरिएको कापीलाई सम्वन्धित विद्यालयका प्रधानाध्यापकले गाउँपालिकामा बुझाएर नयाँ कापी लैजाने व्यवस्था गरिएको छ । विद्यार्थीले सबै पानामा लेखिसकेपछि प्रधानाध्यापकले बुझाएको कापीलाई भने जनप्रतिनिधिको उपस्थितिमा शिक्षा शाखाले चेक गर्ने गाउँपालिकाले जनाएको छ ।

कतिपय शिक्षकले नपढाउने, पढाए पनि कक्षा कार्य र गृहकार्य गराउनमा पर्याप्त ध्यान नदिएकाले निःशुल्क कापी उपलव्ध गराउने र चेक गर्ने रणनीति अघि सारिएको गाउँपालिका अध्यक्ष राईले बताए । यस कदमले शिक्षकमाथि विद्यार्थीलाई बढीभन्दा बढी कक्षा र गृहकार्य गराउनमा दबाब सिर्जना हुने दावी गरिएको छ ।

विद्यार्थीको कापी चेक गर्दा विद्यालय र शिक्षकको शैक्षणिक क्रियाकलापबारे गाउँपालिकालाई जानकारी हुने छ । छात्ररछात्रालाई कक्षा कार्य र गृहकार्य गराउने वा नगराउने शिक्षकको पहिचान हुनेछ । नियमित गृहकार्य गर्नेरनगर्ने विद्यार्थीको पनि पत्ता लाग्नेछ । गाउँपालिकाले दिएको कापी लगेर प्रयोग गर्नुपर्दा फर्जी विद्यार्थीको संख्या देखाउने परिपाटीसमेत नियन्त्रण हुने अध्यक्ष राईले बताए ।

‘विद्यार्थीलाई लेख्न नलाएर वा अभ्यास नगराएकै कारण सामुदायिक विद्यालयको गुणस्तर खस्किएको हाम्रो बुझाइ छ । शिक्षकले पढाउने मात्रै अभ्यास नै नगराउने समस्या देखिएको छ,’ अध्यक्ष राईले भने, ‘बेस बनाउन तल्लो कक्षाको कापी चेक गर्ने रणनीति बनाइएको हो । पढ्नुपर्छ-पढाउनुपर्छ भन्ने मानसिकता विकास गरिदिन खोजिएको हो । यसले शिक्षकलाई जिम्मेवार बन्न दबाब पुग्छ । विद्यार्थीलाई अभ्यासमा अग्रसर गराउने अपेक्षा लिएका छौँ । यसबाट आन्तरिक प्रतिष्पर्धा पनि हुन्छ ।’

विद्यार्थीको कापी चेक गर्ने नीतिले गाउँपालिकाभरीका विद्यालयमा कोर्सलाई एकै समयमा पूरा गर्न दबाब पुग्ने दाबी गरिएको छ । कापी अभावमा होमवर्क नगर्ने विद्यार्थीले पनि नियमित होमवर्क गर्ने वातावरण बन्ने गाउँपालिकाले जनाएको छ । पालिकाले चेक गरिसकेको कापी विद्यार्थीले फिर्ता लैजान पाउने छन् ।

अभ्यास पुस्तिकाको पछाडिपट्टिको जिल्दामा विद्यार्थी, शिक्षक र अभिभावकले पालन गर्नुपर्ने नियम उल्लेख गरिएको छ । यस्तै, शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक तथा शिक्षा शाखाले विषय शिक्षकरकक्षा शिक्षकलाई लिखित सुझाव दिने ठाउँ बनाइएको छ । अभ्यास पुस्तिका प्रयोगका क्रममा विद्यार्थीले दिउँसोको कक्षा कार्य र गृहकार्य गरी शिक्षकलाई जाँच गराउनुपर्ने, कक्षा कार्य र गृहकार्यको मिति अनिवार्य लेख्ने र अभ्यास पुस्तिकाको सम्पूर्ण पाना लेखिसकेपछि विद्यालयमा बुझाउनुपर्ने छ ।

शिक्षकले प्रत्येक दिन कक्षा कार्य र गृहकार्य दिने र रातो मसी प्रयोग गरी जाँच गर्नुपर्ने, विद्यार्थीले सम्पूर्ण पेज लेखिसकेपछि प्रधानाध्यापकबाट प्रमाणित गराएर विद्यालयमार्फत शिक्षा शाखामा पठाउनुपर्ने छ । यस्तै, अभिभावकले प्रत्येक दिन शिक्षकले गृहकार्य दिएरनदिएको जाँच गर्नुपर्ने, आफ्नो छोराछोरीलाई दिइएको गृहकार्य अनिवार्य रूपमा गर्न लगाउनुपर्ने नियम राखिएको छ ।

आगामी शैक्षिकसत्रदेखि कक्षा ४ र कक्षा ५ मा पनि ‘विद्यार्थी अभ्यास पुस्तिका’ निःशुल्क वितरण गर्दै चेक गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइने छ । कार्यक्रम प्रभावकारी देखिए कक्षा ६ र कक्षा ७ को विज्ञान, गणित र अंग्रेजीको कापी चेक गर्ने अवधारणा बनाइएको गाउँपालिका अध्यक्ष राईले बताए । केपिलासगढीका ३७ विद्यालयमा कक्षा ११ बाहेक ३ हजार ३२४ जना विधार्थी अध्ययनरत छन् । त्यसमध्ये कक्षा १ देखि कक्षा ३ सम्म एक हजार १४ जना विधार्थी अध्ययनरत छन् ।

वि.सं.२०७९ कात्तिक २० आइतवार १३:२० मा प्रकाशित

You can share this post!

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ड्रिम इन्टरनेशनल होटलले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:०५

काठमाडौं । ड्रिम इन्टरनेशनल आईपीओ निष्काशन गर्ने भएको छ ।...

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:५४

फुङ्लिङ (ताप्लेजुङ), ७ वैशाखः ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा...

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

सुनको भाउमा रेकर्ड ब्रेक, हालसम्मकै उच्च विन्दुमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:४८

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ...

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वाणिज्य बैंकहरुको नाफा १३ प्रतिशतले घट्यो, ७ वटाको बढ्दा अन्यको अवस्था कस्तो ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:३७

काठमाडौं । वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १०:१६

चौतारा (सिन्धुपाल्चोक), ७ वैशाखः जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस...

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...