काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य गरेको नेपाल बार एसोसिएसनले निष्कर्ष निकालेको छ ।
गत मंगलबार टंगालस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले विशेष अदालतको न्याय सम्पादनप्रति असन्तुष्ट हुँदै सफाइ पाएका १२४ वटा मुद्दा सर्वाेच्च अदालतमा पुनरावेदन गरेको बताएको थियो । न्याय सम्पादनमा विशेष अदालत संवेदनशील नहुँदा दोषी उम्किनेक्रम बढेको आयोगको आरोप थियो ।
उक्त आरोप लगाएर अदालतलाई आफु अनुकुलको फैसला गर्न आयोगले दबाब दिन खोजेको बारको निष्कर्ष छ । बिहीबार बारको केन्द्रीय समिति र उपत्यका पदाधिकारीको बसेको संयुक्त बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अदालतलाई आफु अनुकुलको फैसला गर्न दबाब दिने उद्देश्यले आफ्नो क्षेत्राधिकारको समेत ख्याल नगरी ’अदालतमा न्यायिक विचलन, कानूनको गलत ब्याख्या तथा असक्षमता भएको’ भन्ने अर्थ र भावमा आरोप लगाई न्यायिक स्वतन्त्रतामा आघात पुर्याउने कार्य गरेको भन्ने नेपाल बार एशोसिएशन केन्द्रीय कार्यसमिति तथा उपत्यका बार एशोसिएशनका पदाधिकारीहरुको मिति २०७९÷७÷२४ गतेको बैठकको निष्कर्ष रहेको छ।’
वि.सं.२०७९ कात्तिक २४ बिहीवार १६:२५ मा प्रकाशित