
काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको देवीघाटस्थित सहिद जगत प्रकाश जङ्ग शाह संस्कृत मावि सेफ्टी स्टार रेटिङ शुरु गर्ने नुवाकोटको पहिलो स्कुल भएको छ ।
नासा नेपालको सहयोगमा सुरक्षित विद्यालय, सुरक्षित यात्रा र सुरक्षित विद्यार्थीको लागि सेफ्टी रेटिङ गरिएको हो ।
संसारमा दैनिक ३५ सय नागरिकको अकाल मृत्यु भैरहेको सडक दुर्घटनामा नेपालमा समेत दैनिक ८ जनाले ज्यान गुमाइरहेका छन् । सेफ्टी स्टार रेटिङमा प्रवेश गरे पश्चात विद्यार्थीहरुले सडक दुर्घटना न्यूनीकरण वारेमा आवश्यक ज्ञान प्राप्त गर्न सक्छन् ।
वि.सं. २०५५ सालमा स्थापित सो स्कुलमा छ सय भन्दा बढी विद्यार्थी छन् भने संस्कृत माध्यममा पनि पढाइ हुने गरेको छ । विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान समेत दिदा र उनीहरुको यात्रा सहज हुँदा अभिभावक तथा समाजले समेत ढुक्क हुने अवस्था रहन्छ । बिद्यालय अगाडि जेब्रा क्रसिङ, ३० किमी स्पिड लिमिट र स्कुल एरिया लेखिएको विभिन्न बोर्ड समेत राखिएको छ । विद्यालयमा रोड सेफ्टी क्लब गठन गरिएको छ ।
सबै विद्यार्थीलाई नासा नेपालका निर्देशक गोबिन्द भट्टराईका साथै सञ्जय लुइँटेल र ट्रान्सपोर्ट इन्जिनियरहरुले सुरक्षित यात्राको तालीम समेत प्रदान गरे ।
प्रिन्सिपल मञ्जु चित्रकारको स्कुललाई जिल्लाकै नमुना बनाउने उद्देश्य अनुरुप यस किसिमको अभियान शुरु गरिएको बताइन् ।
अन्तर्राष्ट्रिय रोड एसेस्मेन्ट प्रोग्राम अन्तर्गत अन्तर्राष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) ले विश्वभर स्टार रेटिङ स्कुल बनाउने गर्दछ । नेपालभर हाल १४ वटा स्कुल कलेजमा सो अभियान शुरु गरिएको नासा नेपालले जनाएको छ ।
वि.सं.२०७९ मंसिर ९ शुक्रवार १५:२३ मा प्रकाशित